लोक उपचार विधि: नाडी समाउनेदेखि बलि दिनेसम्म

लोक उपचार विधि: नाडी समाउनेदेखि बलि दिनेसम्म

डा. कृष्णप्रसाद न्यौपाने  |  दृष्टिकोण  |  मंसिर ८, २०७६

नाडी समाउने

बिरामीको नाडी समाएर नाडीको चालअनुसार उसको अवस्था बताउने गरिन्छ । यो आधुनिक यन्त्रज्ञानभन्दा निकै परको कुरा हो । यो परापूर्वकालदेखि एक प्रकारको ज्ञान संस्कारगत रूपमै दिने, लिने गरिएको उपचार पद्धति हो ।

नाडी समाउनेले आफ्नो अनुभवद्वारा खारिएको ज्ञानमार्फत् रोग खुट्याउन सक्ने बताएर मदौरो र उसका आफन्त वा सहयोगीलाई सहज बनाएको हुन्छ । उसले नेपाली लोकसमाजमा तन्त्र, मन्त्र एवम् जडिबुटीको सहयोगबाट रोगको निवारण गर्दै आफ्नो परिचय बनाएको र विश्वास दिलाएको बुझिन्छ ।

आखत छुने वा छुवाउने

बिरामी (मदौरु)लाई एकमुठी (कमवेसी पनि हुनसक्छ) सग्ला चामल कचौरा, थाल, दुना, टपरी, रुमाल अगाडि जे छ वा सहज जुन छ, त्यसमा राखेर हातले समाउँदै छोड्दै गर्छन् । यस प्रक्रियालाई आखत छुने भनिन्छ । बिरामीले आखत छुँदा अभिभावक वा सहयोगीले ‘कुन देवता, नाग, बोक्सी, पिचास, सिमेभुमे आदि के हौ ? यसमा आएर बस । आखतबाट देखियौ र के कारणले लागेको हौ ? के असन्तुष्टि हो ? हामीले नजानेर वा अन्य कुनै कारणले बिराएको वा बिराएको भए भाउ (भाग) दिनेछौँ, हामीलाई दुःख नदेऊ’

आखत हेर्ने

लोकसमाजमा आखत हेर्ने मानिसहरू छन् । यिनीहरू लामा, धाँमी, झाँक्री वा अन्य सादगी जीवन बाँचेका झारफुके आदि हुन्छन् । अनुभवले खारिएका यिनीहरू लोकसमाजका डाक्टर हुन् । उनीहरूले बिरामी अगाडि नै भएको अवस्थामा आफैँ आखत छुवाउने गर्छन् । अर्काले छुवाएको आखत पनि हेर्ने र जे देखियो त्यो भन्ने र निर्देशन दिने पनि गर्छन् ।

यस प्रकारका आखत हेर्ने मानिसहरू प्रायः प्रत्येक गाउँमा रहेका छन् । आफ्नो गाउँमा नभएको अवस्थामा पनि वल्लोपल्लो गाउँमा आखत लगेर देखाउने गरिन्छ । आखत हेर्दा पहिलो चरणमै खुटिन सक्छ । नखुटिएको अवस्थामा मदौरु वा उसको आफन्तलाई हुप राख्न भनिन्छ । हुपलाई समातेर शंका गरिएका देवदेवीहरू, दोखहरू वा अन्य कुनै रोगलाई सम्बोधन गरी यसैमा आएर बस भनी ढोगेर छोइएको आखतमा राखिन्छ । संभावित र शंकास्पदको नाम लिएर छुट्टाछुट्टै हुप राखिन्छ । हुपमा मकैको गेडा, सानो ढुंगा या अन्य कुनै जुन प्रष्ट देखिन्छ, त्यो वस्तु राखिन्छ ।

हुपको संख्या आवश्यकताअनुसार कमवेसी हुन सक्छन् । आखत हेर्नेले कुन हुपमा कुन देवदेवी, नाग, दोख वा अन्यलाई सम्बोधन गरी राखेको हो । त्यो सम्झना भनेका हुन्छन् । आखत हेर्नेले तिनै हुपलाई आखतले पूजा गर्दै आफ्नो मौलिक विधिअनुसार यो लागेको हो भनेका हुन्छन् । कहिलेकाहीँ एकै हेराइमा नखुट्टिने वा नछुट्टिने हुँदा बढी शंकास्पद रोगका कारणलाई सम्बोधन गरी पुनः हुप राख्न भनिन्छ ।

यस प्रक्रियालाई स्वाभाविक चलन मानिन्छ । यो भन्नाले त्यो हुप राख्दा कसलाई र केलाई सम्बोधन गरी राखिएको थियो, सोही लागेको बताइन्छ र त्यसबाट मुक्ति पाउन अपनाउने विधिका बारेमा पनि बताउने गरिन्छ ।

लामा–धामी

आफ्ना कुलदेवता वा सन्धिसर्पन परेका देवदेवी, झाँक्री आदि आफूलाई मनपरेका व्यक्तिका आँगनमा खेलेका हुन्छन् । देवता चढिसकेपछि व्यक्तिलाई हल्लाउने गर्छ । हल्लिने, काँप्ने व्यक्तिलाई लामा–धामी भनिन्छ ।

लामाले चोखी निष्ठाका साथ जीवनयापन गर्दै आएका हुन्छन् । उनले हल्लिँदा कतिपय अवस्थामा सन्दर्भपरक कुरा गर्छन् भने कतिपयले ल्याएको आखत हेरेर मदौरो हुनाको कारण र त्यसलाई बिसेक गराउने उपायका बारेमा बताउने गर्छन् । उनले भनेको कुरालाई विश्वास गरेर संस्कारबाट निर्देशित जुन उपचार पद्धति रहेको छ, त्यसलाई पालना गरेको पाइन्छ । उनले भनेअनुसार गर्दा बिसेक भएको कुरा सम्बन्धितले बताउने गर्छन् ।

चोखा राख्ने

प्रायः सबै नेपाली कृषककहाँ दुहुनो भैँसी हुन्छ । नागपूजा गर्नु अघिल्लो दिन बिहान र बेलुकाको दूध दुहेर सफा कुँडेमा तताई सफा ठेकामा खन्याइन्छ । भैँसी दुहुने मानिस पनि सफा र पवित्र हुनु पर्छ । घर लिपेको हुनुपर्छ । मोही पार्ने, नौनी झिक्ने, घ्यू तताउने गरी सफा भाँडोमा राखी पूजा गर्ने स्थानमा पुजेराले लान्छन् । यी सम्पूर्ण प्रक्रियालाई नै चोखा राख्ने भनिन्छ ।

चोखा राखेको घ्यू कुनै एक ठाउँमा मात्रै प्रयोग गर्ने हो भने थानमै लगेर तताउने गरिन्छ । दूधधार होस् कि बलिपूजा, चोखा राख्ने र पूजा गर्ने मौलिकता नै बनिसकेको छ । चोखा राखी तयार पारिएको घ्यू नैवेद्य बनाउन, बत्ती बाल्न, धूप गर्न प्रयोग गरिन्छ । यी गरेर बचेको घ्यू पुजेरा र उनका सहयोगीले पूजा थलोमै खाने गर्छन् । यी कुरा महिलाका लागि भने वर्जित बताइन्छ ।

सार्कीहरूमा चोखा राख्ने चलन रहेको पाइएन तैपनि उनीहरूले श्रद्धासाथ साजी घ्यूको खोजी गरेको भने बुझियो ।

थान

देवता वा दोखको वासस्थानलाई थान भनिन्छ । यहाँ मूर्ति वा निशानीको रूपमा ढुंगा राखेर पूजा गरिन्छ । बाहुनहरूले पूजा गर्दा नाग वा देवताको थानमा रहेका घाँसपात सफा गरी गाईको गोबरले लिपपोत गरिन्छ । पाएसम्म पाती, नपाएमा बाँसको भए पनि चार कुनामा लिंगा गाडिन्छ । नाग–नगेनी भएको ठाउँमा एक लिंगो हुन्छ भने नाग, जुलझँक्री, सिरऊँ र भँएर भएको ठाउँमा चारवटा लिंगा चाहिन्छ । यसमा नागअनुसारका धजा वा धागा बाँधिन्छ । यसरी देवताको थान सिँगारिन्छ ।

सार्की जातिले पनि गाईको गोबरले नागको थानमा लिपपोत गर्छन् । चामलको पिठोको रेखी हाल्छन् । पिठोकै पर्सादी (प्रसाद) बनाउँछन् । साजी घीउ पर्सादी बनाउन र धूप गर्न प्रयोग गरिन्छ । भए पाती नभए बाँसको भए पनि लिंगा गाडी धूप हालिन्छ ।

पूजा विधि

ब्राह्मणले गर्ने कर्ममा पुजारी ब्राह्मण हुनुपर्छ । उसको कर्म चलेको वा व्यवहारले परिपक्व भएको हुनुपर्छ । ऊ बिहान उठी नहाइधुवाइ गरी चोखा कपडा लगाएको एकदमै मन, वचन र कर्मले चोखी निष्ठा भएको हुुनुपर्छ । उसको उमेर यति नै हुन्छ भन्ने कुनै त्यस्तो मान्यता पाइएन तैपनि परिपक्व हुनु राम्रो ठानिन्छ ।

पिठो वा गाईका गोबरको कुण्ड बनाएर गाईको दूधले भरिन्छ । पिठोकै नाग–नगेनी बनाइन्छ र नागको शिर भएतिर फर्काएर राखिन्छ । दिशाको जानकारी पात्रोबाट लिइन्छ । नागको पूजाको क्रममा सबैभन्दा पहिला सिरौँको पूजा गरिन्छ । यिनको पूजामा मगरहरूले कुखुराको नै टीका–चन्दन लगाई छाडिदिन्छन् । कसैकसैले कुखुराको प्रतीक कपासको बनाई उडाउने चलन पनि रहेको छ ।

नाग पूजाको क्रममा जलझाँक्री र भँएरको क्रमशः दोस्रो र तेस्रोमा धूपबत्ती, नैवेद्य चढाएर पूजा विधि सम्पन्न गरिन्छ । यसरी जलझाँक्री (गुरु), सिरउँ (नागको पछुवा), भँएर र नागको पूजा  गरिन्छ । नागलाई बली दिँदा अन्यलाई भुवा चढाउने र दूधधार दिने गरिन्छ भने नागबाहेक अन्यमा रगत नपरोस् भन्ने कुरामा निकै सचेत भइन्छ ।

कालीगण्डकी गाउँपालिका– ५ मा रहेको जैपतेदेखि ठूलो बगरसम्मको खोलामा क्रमशः काली, सेती धुले, राते र ओघे नाग ठूला मानिन्छ । अन्यत्रका वासुकी, शेष, तच्छेक नाग प्रमुख हुन् । एउटै नाग पनि फरक फरक ठाउँमा हुन्छन् । यस्तो अवस्थामा कुनै एक स्थानमा नागको पूजा गरेपछि अर्को ठाउँमा बलि दिनु वा पूजा गर्नु नपर्ने कुरा बताए तापनि पूजा गरेको पाइयो । पूजाका लागि देवताको थानमा जान नसकिएको अवस्थामा तत् स्थानमा आह्वान गरी पूजा गर्ने प्रचलन पनि रहेको छ ।

नाग–नगेनी

पूजाका लागि भनी तोकिएको बोका कुनै प्रकारको खोटी हुनुहुँदैन । बोका अपांग र बिरङको पनि हुनुहुँदैन । कथित पानी नचल्ने जातिले पालेको हो भने उसै दिन ल्याएर पूजा गर्नुहुँदैन । आफ्नो घरमा ल्याएर रात बिताएपछि मात्र पूजायोग्य हुन्छ ।

पानी पारेर अर्थात् टाउकामा पानी हालेपछि बोकाले टाउको हल्लाउँछ । त्यसलाई नाग वा देवताले मानेको बुझी बलि दिने चलन छ । यस क्रममा प्रयोग गरिने पानी शुद्ध हुनुपर्छ । नागको थानमा खडंग रुद्री गर्ने चलन पनि छ । यस कार्यले नाग ज्यादै खुसी हुने कुरा बताइन्छ । शिवजीको शिरमा नाग, गंगा र चन्द्रमा रहन्छन् ।

नाग, झाँक्री, देवीलाई बोका पूजा गर्ने चलन छ । जस्तो नाम गरेको नाग हो, त्यस्तै वर्णको बोका बलि दिइन्छ । काली नागलाई कालो, सेती नागलाई सेतो र राती नागलाई रातो बोका बलि दिइन्छ । झाँक्रीलाई जस्तो वर्णको बोका भए पनि हुन्छ । देवीलाई बोका, परेवा वा पाठी पनि बलि दिइन्छ ।

सेती नाग

यो नाग भैँसी र मानिसलाई लाग्छ । नाग लाग्दा हात, खुट्टा कक्र्याउने र चल्न चलबलाउन निकै कठिन हुने गर्छ । सेती नागको पूजामा जातअनुसार सेतो पाठो र सेतो भाले प्रायः मंसिर महिनामा बलि दिने गरिन्छ । वैशाख महिना पारेर दूधधार दिने चलन छ । सेती नागका दुई मूर्ति बनाइन्छ । यी नागलाई पूजा गर्दा थानमा पाँच लिंगा गाडिन्छ । दक्षिणपट्टि बाँसका दुई लिंगा गाडिन्छ । पूजा गरिएका सबै चिज घरमा ल्याउने र बनाएर परिवारका सबै सदस्यले ग्रहण गर्छन् ।

काली नाग

पानीको कुवा भएको स्थानमा काली नागको थान छ । कुवाको एक किनारमा काली नागलाई कालो पाठो बलि दिइन्छ भने यसै कुवाको अर्को किनारामा चोँचेको बलि दिइन्छ । ज्योतिलाल न्यौपानेका अनुसार काली नागसँग जलझाँक्री, भँएर, सिरउँ सँगै रहेका छन् ।

पाठाको पूजामा बाहुन र मगर संयुक्त सहभागी हुन्छन् भने चोँचेको बलि दिँदा मगरहरू मात्रै सहभागी हुन्छन् । बलि दिइएको चोँचेको मासु खान भने कामी र सार्की जातिका पुरुषहरूलाई पनि मगरहरूले बोलाउने गर्छन् ।

यहाँ पनि जलझाँक्री, भँएर र सिरउँलाई दूधधार दिइन्छ । सँगै रहेका काली नागको पूजाको क्रममा दिइएको बलिको रगत यी देवगणलाई पार्नुहुँदैन । त्यसैले पूजा निकै सतर्कताका साथ गरिन्छ । दूधधारका लागि विशेष रूपमा वैशाख र मंसिर महिनालाई उत्तम मानिन्छ । काली नागलाई भैँसी चोखिँदा पनि दूध चढाउने चलन छ ।

काली र सेती नाग

रानीखर्कका मोतीलालका अनुसार रानीखर्कका व्यक्तिहरूले पानी पिउने कुवामा नाग रहेका छन्, यी नाग देवता लागे भने कक्र्याउने, मुटु दुखाउने, हात, खुट्टा छाडिने र दुख्ने साथै गाईवस्तुले दुहुन नदिने, पल्टने, काम्ने गर्छन् भन्ने विश्वास गर्छन् ।

यी नाग गाई, भैँसी वा मानिसलाई लाग्छन् भने सपनामा पानी देखिनु यसको संकेत बुझिन्छ । उनले अन्यत्रका नागभन्दा यस ठाउँका नागको छुट्टै विशेषता रहेको बताए । कुवाको पानी पिउनेहरूले काली नाग भनी दूधधार दिएर पूजा गर्ने गर्छन् । यसै पँधेराको सेरोफेरोमा जग्गा भएका यस कुवाको पानी पिउने र नपिउनेहरूले समेत त्यसै थानमा सेती नाग भनी वा मानी पूजा गर्छन् । सेती नाग मान्नेहरूले सेतो पाठो बलि दिने गर्छन् । यी दुवै नागको पूजाको थान एक ठाउँमा भएको कारणले पूजा फरक फरक समयमा गरिन्छ ।

यीसँगै जलझाँक्री र सिरउँ पनि रहेका छन् भनिन्छ । सिरउँलाई ओघे पनि भनिन्छ । पहिले पहिले ओघेलाई चोँचेको बलि दिने चलन थियो । वर्षमा एक पटक मंसिर वा वैशाख महिना यसका लागि उपयुक्त मानिएको छ । पुजेरा बाहुन भए तापनि सहभागी वा अक्षता मिसाउनेहरूमा मगर जातिका मानिसहरू पनि रहन्छन् ।

पूजा समय

पूजाको समय वा सन्दर्भका बारेमा संस्कार वा परंपराले निर्धारण गरेअनुसार हुन्छ । समयअनुसार भाकल गरी पूजा गन्छि । आइतवारबाहेक अरू बार राम्रो मानिन्छ । बलि पूजाका लागि बुधवार र शनिवारलाई उत्तम मानिन्छ तर एकादशी, औँशी, सूर्यग्रहण, चन्द्रग्रहण, मलमास, सूतक, मृत्यु, घुम्टो, बर्ती आदि समयमा बार्ने चलन छ । बाह्र महिनामध्ये मंसिर र वैशाख महिनालाई उत्तम मान्छि ।

दूधधार

अन्य पूजाआजका साथ दूध चढाउने कार्यलाई दुद्धार (दूधधार) भनिन्छ । नाग, झाँक्री र देवीलाई शाकाहारी परिवारले दूधधार दिने चलन छ । मांसाहारी परिवारले पनि सबै अवस्थामा बलि दिँदैनन् । कतिपय नागलाई दूधधार मात्रै पनि दिइन्छ । यी काली, राती, सेती जुन नाग पनि हुन सक्छन् ।

दूधधारमा लावा, चामलको रोटी, गाईको दूध, गाईको गोबरको कुण्डमा नाग–नगेनी बनाई चढाइन्छ । पातीको लिंगामा धजा बाँधेर जौ, तिल, अघ्र्य, फूलपाती, अक्षता, चन्दन आदिले पूजा गर्ने गरिन्छ ।

बोका वा बलि पूजा

नाग, झाँक्री, देवीलाई बोका पूजा गर्ने चलन छ । जस्तो नाम गरेको नाग हो, त्यस्तै वर्णको बोका बलि दिइन्छ । काली नागलाई कालो, सेती नागलाई सेतो र राती नागलाई रातो बोका बलि दिइन्छ । झाँक्रीलाई जस्तो वर्णको बोका भए पनि हुन्छ । देवीलाई बोका, परेवा वा पाठी पनि बलि दिइन्छ ।

बलि दिनुपूर्व बोकालाई पानी पारिन्छ । पानी पार्ने भन्नाले शुद्ध पानी बलिका लागि तयार पारिएको बोकाको आङमा छर्कने भन्ने बुझिन्छ । बलि दिइएको टाउको पूजा स्थानमा नै फर्काएर खाने गरिन्छ । पुजेरा, घरका पुरुष साथै अन्य आमन्त्रित पुरुषहरूले भात र मासु पकाएर खाने गर्छन् ।

ओघेसितका नागलाई खतरा रोग लगाउन सक्ने मान्छि । यसका पुजेरा मगर हुन्छन् । नागको पूजामा नागको थानमा सुँगुरको पाठो र कुखुरा काट्ने वा छाड्ने गरिन्छ । बाहुन पुजेरो हुने ठाउँमा भने चामलको पिठोको सुँगुर बनाएर पूजा गर्ने चलन छ ।

याे पनि 

लोक उपचार विधि : उपचारमा तन्त्रमन्त्रको प्रयोग र तरिका