दियालोको 'काव्य-अर्चना' सम्पन्न

दियालोको 'काव्य-अर्चना' सम्पन्न

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर ८, २०७६

दियालो साहित्य सरगम र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा आयोजित कविता वाचनको विशेष कार्यक्रम 'काव्य-अर्चना' सम्पन्न भएको छ ।

तीन जना छन्दकवि र तीन जना गद्यकविको विशेष वाचन रहेको उक्त कार्यक्रममा कवि प्रभा भट्टराई तथा कवि एवं गजलकार बाबु त्रिपाठीसमेत अतिथि कविका रूपमा प्रस्तुत हुनुभएको थियो । कविहरूका कविता प्रस्तुत हुँदा अधिकांश कवितामा पूरै हल शान्त मुद्रमा लठ्ठिएको देखिन्थ्यो भने कुनै कुनै कवितामा तालीको गडगडाहट गुञ्जिएको थियो ।

दर्शक एवं श्रोताले खचाखच भरिएको हलमा छन्द कवितातर्फ ललितपुरका कवि रत्न विरही घिमिरे, सोलुखुम्बूका कवि गणेशप्रसाद खतिवडा तथा दाङकी कवि ऋतु खनालले आफ्ना विभिन्न छन्दका तीन/तीनवटा कविता सुनाउनुभएको थियो भने गद्य कवितातर्फ नुवाकोटकी कवि लक्ष्मी रुम्बा, मकवानपुरकी कवि सानु खतिवडा तथा सुनसरीकी कवि लता कार्कीले पनि तीन/तीनवटा कविता सुनाउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. हेमनाथ पौडेलले कार्यक्रमलाई नेपालकै उच्च स्तरको कार्यक्रम भएको भन्दै कार्यक्रमले नेपाल प्रज्ञाप्रतिष्ठानलाई समेत चुनौती दिएको उल्लेख गर्नुभएको थियो । स्रष्टालाई प्रशंसापत्र तथा पारिश्रमिक समेत दिएर उल्लेखनीय कार्य एवं सम्मान प्रदान गरेको उल्लेख गर्दै उहाँले यस्तो उत्कृष्ट कार्यक्रम प्रस्तुत गर्ने संस्था दियालो साहित्य सरगमलाई नेपाल प्रज्ञाप्रतिष्ठानसँग मिलेर कार्य गर्न आह्वनसमेत गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व गर्नुभएकी दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माले काव्यिक रूपमा आकर्षक मन्तव्य दिँदै मोफसलमा रहेका साहित्यकारलाई केन्द्रमा जोड्ने तथा राजधानीमा रहेका साहित्यकारलाई देशका कुनाकुनासम्म पुर्‍याउने उद्देश्यका साथ आफ्नो संस्थाले कार्य गरिरहेको उल्लेख गर्नुभएको थियो ।