‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’को तयारी अन्तिम चरणमा

‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’को तयारी अन्तिम चरणमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर ८, २०७६

काठमाडाैं । ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’को तयारी अन्तिम चरणमा पुगेको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुन गईरहेको उक्त अवार्ड आउँदो नोभेम्बेर ३० तारिखका दिन बर्कली शहरमा अवस्थित युसी थिएटरमा अवार्ड आयोजना गरिंदै छ। 

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा नेपालबाट चर्चित कलाकारहरूको उपस्थिती रहने बताइएको छ। आयोजकका अनुसार अवार्ड समारोहमा राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, नीर शाह, शम्भुजित बाँस्कोटा, अनमोल केसी, नम्रता श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, अञ्जु पन्त, केकी अधिकारी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, शैलेन्द्र शिंखडा, बर्षा राउत, रीमा विश्वकर्मा, सन्ध्या केसीलगायतको उपस्थिती रहनेछ। कार्यक्रममा नेपालबाट आउने चर्चित कलाकारहरू र अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले अवार्डको गरिमा बढाउन आ–आफ्नो कला समेत प्रस्तुत गर्ने बताईएको छ। 

अमेरिकामा नेपाली फिल्मको बजार प्रबर्द्धन, फिल्मकर्मीहरुलाई सम्मानसँगै ‘पर्यटन बर्ष २०२०’ लाई लक्षित गरी अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको आयोजकको भनाई छ। नोभेम्बेर ३० तारिखका दिन अवार्ड समारोह, डिसेम्बर १ तारिखका दिन बिहान ‘नेपाल डे परेड’ र सोही दिन बेलुका क्रुज पार्टीको पनि आयोजना गरिने छ। आयोजकका अनुसार ‘नेपाल डे परेड’मा नेपालबाट अवार्ड समारोहमा सहभागी हुन आएका कलाकारको पनि उपस्थिती रहनेछ। 

कार्यक्रममा सहभागी हुन चाहने दर्शकले अवार्डको दिन भन्दा अगाडीनै टिकट खरिद गरिसकेको हुनुपर्ने छ। अवार्ड समारोहका दिन टिकट बिक्री नगरिने आयोजक कमिटीले जानकारी दिएको छ । अवार्ड समारोहको लागि भिआइपीको ६० र साधारण ३० डलर टिकट मूल्य तोकिएको छ भने क्रुज पार्टीको लागी १५० डलर तिर्नुपर्नेछ। भिआइपी टिकट खरिद गर्नेका लागि क्रुज पार्टीको टिकटमा छुटको व्यवस्था गरिएको छ।
 
अवार्ड कार्यक्रमबाट हुने मुनाफा बे एरियामा निर्माणको क्रममा रहेको नेपाली सामुदायिक भवन केन्द्रलाई सहयोग गरिने आयोजक संस्था गोल्डेन स्टेट मुभी मेकर एलएलसीका यज्ञलाल अध्यक्ष श्रेष्ठले बताए।