भाषाविद् रेग्मीको ‘सखारै सखारै’ विमोचन

भाषाविद् रेग्मीको ‘सखारै सखारै’ विमोचन

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर ८, २०७६

झापा ।नेपाली साहित्यका झर्रोवादी अभियानकर्मी तथा भाषाविद् साहित्यकार चूडामणि रेग्मीको २८औँ कृति ‘सखारै सखारै’ निबन्ध सङ्ग्रह विमोचन गरिएको छ ।शनिबार झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईँलगायतले कृतिको संयुक्त विमोचन गर्नुभएको हो ।

८३ वर्षीय रेग्मी विसं २०१२ देखि निरन्तर साहित्यिक यात्रामा लाग्नुभएको हो । नयाँ स्रस्टा उत्पादन गरी तिनीहरूलाई गोडमेल गरेर हुर्काउने रेग्मीले कविता र काव्य दुई, कथा सङ्ग्रह तीन, निवन्ध सङ्ग्रह आठ, हास्यव्यङ्ग्य दुई, समालोचना छ, चार भाषा व्याकरणलगायत अढाइ दर्जन कृति प्रकाशन गरिसक्नुभएको छ ।

झर्रोवादी नेपाली भाषाको अभियन्ताका रूपमा समेत चिनिने रेग्मी बयोवृद्ध अवस्थामा पनि साहित्य साधनामा निरन्तर लागिरहनुभएको छ । रेग्मीले आफूले देखेभोगेका कुरालाई समेटेर ‘सखारै सखारै’ निवन्ध सङ्ग्रह निकालेको डा ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।

कार्यक्रममा साहित्यकार कोमलप्रसाद रेग्मी, केशव आचार्य, पत्रकार चन्द्र भण्डारीले रेग्मी साहित्यकारलाई हौसाउने र साहित्यमा निरन्तर लाग्न प्रेरणा भर्ने झर्रोवादी नेपाली अभियानका सफल र सक्रिय अभियन्ताको रूपमा दर्ज हुनुभएको बताउनुभयो । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले प्रकाशन गरेको कृतिको विमोचनमा झापा, इलाम र मोरङका साहित्यकारको सहभागिता रहेको थियो ।