विद्युत् लाइन विस्तारले ताङतिङगाउँवासीमा ल्याएकाे खुशीयाली

विद्युत् लाइन विस्तारले  ताङतिङगाउँवासीमा ल्याएकाे  खुशीयाली

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ८, २०७६

कास्की । पर्यटकीय क्षेत्र ताङतिङगाउँमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्‍याइएपछि कास्कीको मादी गाउँपालिका–२ का स्थानीयबासीमा खुशीयाली छाएको छ ।
 
विसं २०५४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा गाउँ नजिकको खोलाबाट २७ किलोवाट क्षमताको लघुजलविद्युतमार्फत बत्ती बाल्दै आएका स्थानीयवासी चाहेजती बिजुली बाल्न पाएका थिएनन् ।
 
ठूला विद्युतीय सामग्री सञ्चालन गर्दा पावर नधान्ने तथा पटक–पटक बत्ती गइरहने समस्या भोग्दै आएका त्यहाँका स्थानीयवासी प्राधिकरण लाइन विस्तारसँगै खुशी भएको वडाध्यक्ष एकजङ्ग गुरुङले बताउनुभयको छ ।
 
वडाका १८३ घरधुरीमा नै बत्ती पुर्‍याउने योजनाअनुसार अधिकांशमा लाइन जोडिसकिएको छ । गाउँलेमा अहिले खुशीको सीमा छैन, बिजुलीको समस्याबाट निकै सास्ती पाएका उनीहरुले लामो प्रयासछि बत्ती बाल्न पाएका छन् ।

गत र्आिर्थक वर्ष २०७५/७६ मा घ्याब्राङ, सेतीखोला रोँहीगाउँसम्म प्रसारण लाइन पुगेकामा चालू आवको चार महिनामा पाँच किमी लाइन विस्तार गरेर माथि ताङतिङसम्म प्रसारण लाइन पुर्‍याइएको हो । गाउँका धेरै घरमा अहिले होमस्टे शुरु भएको छ । गाउँमा पाहुना बढ्दै जाने तर बत्ती नभएर अँध्यारोमा राख्नुपर्ने समस्या हटेकाले पर्यटकलाई समेत सहज हुने विश्वास स्थानीयवासी गुमान गुरुङले व्यक्त गर्नुभयो । 

प्राधिकरण लेखनाथ शाखा प्रमुख पवन पौडेलले ताङतिङ नजिकको मादी वडा नं १ का सोधा, खिलाङ, पार्चे र सिक्लेसमा समेत केही महिनाभित्रमा केन्द्रीय प्रसारण लाइन पुर्‍याइने जानकारी दिनुभयो ।