मोबाइल फोनः कुराकानी मात्र होइन, अब उच्च रक्तचाप नियन्त्रणको भरपर्दाे माध्यम पनि !

मोबाइल फोनः कुराकानी मात्र होइन, अब उच्च रक्तचाप नियन्त्रणको  भरपर्दाे  माध्यम पनि !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर ९, २०७६

काठमाडौँ । विकसित देशहरूमा सफल अभ्यासमा रहेको बिरामीहरूलाई मोबाइल सन्देश (एसएमएस) मार्फत उच्च रक्तचाप नियन्त्रण गर्ने उपाएको बारेमा जानकारीसहित उपचारमा सहयोग गर्ने  विधिलाई नेपालमा पनि परीक्षणका रूपमा तुलनात्मक अनुसन्धान प्रारम्भ गरिएको छ । 

नेपालको करिब एक चौथाइ जनसंख्या उच्च रक्तचापको समस्या भोगी रहेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान जनस्वास्थ्य विभागकी उप प्राध्यापक बुना भण्डारी जो हाल अस्ट्रेलियाको सिड्नी स्थित दि युनिभर्सिटी अफ न्यूू साउथ वेल्स विश्वविद्यालयमा अष्ट्रेलिय अवाड्रस स्कलरसिप प्राप्त गरी पिएचडीको अध्ययन गरिरहनुभएको छ । उहाँको अनुसन्धान टोलीले उक्त अनुसन्धान सुरु गरेको हो । अस्ट्रेलियाको उक्त विश्वविद्यालयका प्रा.डा रोहण जयश्रुया, डा.पद्मनेसन नरसिंम्हन र काठमाडौँ मेडिकल कलेज, नेपालका प्रा.डा.अभिनभ वैद्यको प्रत्यक्ष पर्यवेक्षणमा उक्त अनुसन्धान भइरहेको जानकारी गराइएको छ ।  

काठमाडौँ मेडिकल कलेजकाे कार्डियोलोजी विभागमा अनुसन्धानकाे बारेमा छलफल गर्दै प्रा.डा.डिबी कार्की, प्रा.डा.अभिनभ वैद्य र उप प्राध्यापक बुना भण्डारी

काठमाडौँको सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा उपचारमा आएका उच्च रक्तचापका  बिरामीलाई यो अध्ययनमन समावेश गरिएको छ । उप प्राध्यापक भण्डारीका अनुसार चिकित्सकले उच्च रक्तचापको पहिचान गरी औषधी सेवनको लागि सिफारिस गरिएका करिब एकसय बिरामीलाई मोबाइल एसएमएस मार्फत उच्च रक्तचाप नियन्त्रणका उपायको सन्देश पठाइ र करिब एकसय बिरामीलाई  सन्देश नपठाई तीन महिनासम्म तुलनात्मक अनुसन्धान गरिनेछ ।    

एक अध्ययन अनुसार सबैभन्दा पहिला रोग नै समयमा पहिचान नहुने प्रवृत्ति रहेको छ भने अर्कोतिर अन्तिम समयमा मात्र चिकित्सककोमा जाने प्रवृत्ति रहेको छ । उच्च रक्तचापले मानिसहरूको मृत्यु र अशक्त वा अङ्गभङ्ग हुने कारणहरूमा चिकित्सकले सिफारिस गरिएको औषधी नखाई घरेलु औषधी प्रयोग गरी उच्च रक्तचाप नियन्त्रण हुन्छ भन्ने विश्वास, समयमा औषधी नखाने वा औषधी नै नखाने, धूम्रपान र मदिरा पान वा खानपिन र अस्तव्यस्त जीवन शैली मानिएको छ ।  

पहिलो चरणमा नेपालमा रहेका रक्तचाप नियन्त्रणका अवरोधहरूको बारेमा लामो अध्ययन गरी मुद्दाहरूको पहिचान गरी मोबाइल फोन सन्देशहरू विकास गरिएको अध्ययन टोलीकी संयोजक भण्डारीले जानकारी दिनुभएको छ । बिरामीले मोबाइल एसएमएसमार्फत पठाइएको सन्देशमा उच्च रक्तचापको बारेमा जानकारी, समयमा उच्च रक्तचाप नियन्त्रण नहुँदाका खतराहरू, औषधी खाने समयकाे बारेमा निरन्तर जानकारी दिने र औषधी समयमा नखाँदा हुन सक्ने असर, उच्च रक्तचाप हुनेहरूले गर्नुपर्ने शारीरिक अभ्यास र खानपिनसम्मका सन्देशहरू समावेश गरिएको उप प्राध्यापक भण्डारीको दाबी रहेको छ । खासगरी नेपाली ग्रामीण समुदायमा मात्र होइन सहरी र शिक्षित समुदायमा पनि औषधी नियमित नखाने तथा हेल्चक्राइका कारणले उच्च रक्तचापका करिब दुई तिहाइ बिरामीहरूमा रोग नियन्त्रण चुनौतीमा रूपमा खडा भएको समयमा यो उपचारमा सहयोग गर्ने विधि प्रभावकारी हुने विश्वास गरिएको छ । 

मोबाइल सन्देश (एसएमएस)काे बारेमा सहभागीलाई जनाकारी दि‌दै उप प्राध्यापक बुना भण्डारी

एक अध्ययन अनुसार नेपालमा मोबाइल फोन प्रयोगकर्ताको दर सत प्रतिशत भन्दा बढी रहेको सन्दर्भमा मोबाइल फोन कुराकानीको माध्यम मात्र होइन मानिसहरूको स्वास्थ्य सुधार गर्न प्रयोग गर्न सकिने विश्वासका साथ नेपाल सरकारको नेपाल स्वास्थ्य अनुसन्धान परिषदकोे अनुमतिमा यो अनुसन्धान थालिएको बताइएको छ । विकसित देशहरूमा मात्र होइन नेपालजस्ता अल्पविकसित देशहरूमा पनि उच्च रक्तचापका बिरामीहरू दिन प्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा यो अध्ययनलाई महत्त्वका साथ हेरिएको छ ।