आज बालाचतुर्दशी, शतबीज छर्नेले भरिए शिवालय

आज बालाचतुर्दशी, शतबीज छर्नेले भरिए शिवालय

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ९, २०७६

काठमाडौं । आज बालाचतुर्दशीका दिन पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ ।

मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज शिवालय वरिपरि छर्ने चलन छ। यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नास हुने जनविश्वास छ । शतबीजको एक गेडा अन्न छर्नाले सुन दान गरे बराबरको फलसमेत प्राप्त हुने धार्मिक मान्यता छ । मंसिर कृष्ण त्रयोदशीका दिन शतबीज छर्ने बेलासम्म आफ्ना पितृहरूका नाममा बत्ती बाल्ने गरिन्छ ।

यसै क्रममा दिव‌ंगत पितृहरूका नाममा दीपदान गर्न लाखौँ भक्तजन आइतबार पशुपति क्षेत्रमा जम्मा भएका छन् । दीपदान गरी आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ। अघिल्लो दिन दियो, कलश, गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ ।

राजधानीको पशुपतिनाथको मन्दिर क्षेत्रमा रहेका ११८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति मृगस्थलीलगायतका ठाउँमा श्रद्धालु भक्तजनको अघिल्लो दिन साँझदेखि नै भीड लाग्ने गर्छ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको छ । चर्तुदशीका दिन बिहान स्नान गरी बत्ती खोलामा विसर्जन गरी शतबीज छरेर पूर्णपात्रो गर्ने चलन छ ।