‘जहाज देखेरै ठीक हुनुभयो नवाज सरिफ’

मुस्लिम लिगले भन्यो : ‘मानसिक रोगी बन्नुभएको छ इमरान खान’

‘जहाज देखेरै ठीक हुनुभयो नवाज सरिफ’

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ९, २०७६

यस साता पाकिस्तानमा छापिएका उर्दू अखबारहरूमा पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि लण्डन जाने खबर बढी छापिए । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिगका नेता नवाज सरिफ उपचारका लागि लण्डन जानुभएको छ तर उहाँको लण्डनयात्राबारे पाकिस्तानमा भने ठूलै राजनीति भइरहेको छ ।

सरिफ भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर हुनुभएको छ तर अहिले उहाँ जमानतमा हुनुहुन्छ । यसबीच उहाँको स्वास्थ्य अवस्था पनि खराब छ, जसका कारण केही समयदेखि सरिफ अस्पतालमा हुनुहुन्थ्यो ।

उहाँको पार्टीले भनेको थियो कि उहाँलाई उपचारका लागि देशबाहिर जानु जरुरी छ । इमरान खानको सरकारले उहाँलाई बाहिर जान अनुमति त दियो तर साथसाथ यो शर्त पनि राख्यो कि उनले सात अर्ब पाकिस्तानी रुपैयाँको कागज गर्नुपर्नेछ ।

सरिफले सरकारको उक्त शर्त इन्कार गर्नुभयो र यसका विरुद्ध उच्चअदालत जानुभयो । अदालतले उहाँको पक्षमा फैसला दियो र उहाँ उक्त कागज नगरी विदेश जान पाउनुभयो ।

‘जहाज देखेरै ठीक हुनुभयो सरिफ’

पकिस्तानी अखबार ‘दुनियाँ’का अनुसार इमरान खानले सरिफको बिमार र चिकित्सकीय रिपोर्टमाथि नै प्रश्न उठाउनुभएको छ । अखबारको शीर्षक छ, ‘नवाज सरिफ ठीक कसरी, जाँचको आवश्यकता छ : इमरान खान ।’

अखबार अगाडि लेख्छ, ‘इमरान खानले भनेका छन् कि नवाज सरिफलाई जहाजको सिँढी चढ्दै गर्दा डाक्टरको रिपोर्ट अगाडि राखियो, लेखिएको थियो– बिमारी कुनै पनि बेला मर्न सक्छ ।’

अखबार ‘जंग’ले लेखेको छ, ‘इमरान खान सोधिरहनुभएको छ कि सरिफले भन्नुभएको थियो कि उहाँको उपचार पाकिस्तानमा संभव छैन, फेरि कसरी उक्त बिमारी जहाजलाई देखेर ठीक हुन्छ लण्डनको हावा लाग्नेवित्तिकै ?, यसको जाँच हुनुपर्छ ।’

इमरान खानको यस भनाइलाई मुस्लिम लिगले दह्रो जवाफ दिएको छ ।

‘मानसिक रोगी बन्नुभएको छ इमरान खान’

अखबार ‘एक्सप्रेस’का अनुसार मुस्लिम लिगले भनेको छ, ‘राजनीतिक बदला लिने चक्करमा प्रधानमन्त्री (इमरान खान) मानसिक रोगी बन्नुभएको छ । घृणा फैलाउनेखालका भाषणमा मुद्दा चल्नुपर्छ ।’

मुस्लिम लिगका प्रवक्ता मरियम औरंगजेबले भन्नुभएको छ, ‘पुष्टि भएको छ कि प्रधानमन्त्रीको मानसिक सन्तुलन बिग्रिएको छ । उहाँको स्वास्थ्य जाँच हुनुपर्छ किनकि प्रधानमन्त्री जब केही बोल्नुहुन्छ, विश्वले उहाँलाई सुनिरहेको हुन्छ ।’

लिगका वरिष्ठ नेता तथा पार्टी महासचिव अहसन इकबालले इमरान खानमाथि खुलेरै कडा जवाफ पेस गर्नुभयो । उहाँको भनाइ थियो, ‘इमरान खान नवाज सरिफ फोबियाबाट बाहिर आउनुहोस् । २२ करोड जनतामाथि जिम्मेवार बन्नुहोस्, जो तपाईंका झूठ र अनुभवहीनताको सकस भोगिरहेका छन् ।’