षडानन्दका कुशल अभ्यासः जनसहभागितासहितको व्यवस्थापनको अनुपम उदाहरण

षडानन्दका कुशल अभ्यासः जनसहभागितासहितको व्यवस्थापनको अनुपम उदाहरण

यादव चापागाईं  |  दृष्टिकोण  |  मंसिर १०, २०७६

जनसहयोग र सहभागिता हासिल गर्नका लागि षडानन्दले अवलम्बन गरेका उपायहरू ज्यादै सरल र सहज देखिन्छन् । मोटामोटी रूपमा आँकलन गर्दा जनजीवन र जनमन छुने योजना निर्माण गर्ने, आह्वान गर्ने, सहयोगी दातालाई सम्मान गर्ने, भनेकै कुरा गर्ने र हिसाब किताब पारदर्शी गर्ने देखिन्छन् । यी कुनै पनि बिछट्ट नवीन उपाय होइनन् तर परिणाम भने बिछट्ट राम्रो हासिल भएको छ, जसका पछाडि उहाँका व्यवस्थापकीय कुशल अभ्यासहरू रहेका छन् ।

ती कुशल अभ्यासहरूमा मूलतः उहाँको सोच र परिकल्पनाको व्यावहारिकता, भनाइ र गराइकाबीचको तालमेल अनि पारदर्शी कार्यशैली रहेका छन् । व्यवस्थापकीय कुशलताको अलावा उहाँको ज्ञान, सिद्धि, प्रसिद्धि, पहुँच र सत्यनिष्ठा अनि व्यक्तिगत प्रभावले त्यो कामलाई अझ बढावा दिएको छ । व्यवस्थापकीय अभ्यास र व्यक्तिगत विशेषता र कार्यशैलीले उहाँप्रति जनविश्वास बढ्यो र अन्ततः सहभागिता र सहयोग पनि बढ्यो । निम्न हरफहरूमा उहाँका ती केही विशिष्ट कुशलताहरूका बारेमा विश्लेषण गरिएको छ ।

सोच र परिकल्पना

जनसहभागिता र सहयोगका लागि दीर्घकालीन सोच र गन्तव्यमा स्पष्ट हुनु अनिवार्य हुन्छ । कार्यदिशा र गतिविधिहरूमा स्पष्टता हुनुपर्छ अनि ती कुराहरू व्यावहारिक र हासिल गर्न सकिने हुनुपर्छ । यी कुराहरू उहाँका कार्यहरूमा पाइन्छन् । दिङ्ला बजार नजिकैको सीताराम मन्दिर परिसर कस्तो थियो भन्ने बारेमा षडानन्द प्रतिष्ठानले प्रकाशन गरेको एक लेखमा उल्लेख भएको विवरणबाट यो कुरा स्पष्ट देख्न सकिन्छ । जसमा भनिएको छ :

‘बालागुरुबाट संरचनाको अभिन्यास (ले–आउट) मिहीन रूपमा सोची विचारी बनाइएको देख्न सकिन्छ । षडानन्द प्रतिष्ठानले दिङ्लामा रहेको मन्दिर, विद्यालय, छात्रावास, मण्डप आदि संरचनाको ले–आउट तयार पारी राम्रोसँग वर्णन गरेको छ । त्यहाँ कसरी त्यो समथर जमिनको उपयोग विद्यालय, मन्दिरका र सामाजिक कार्यका लागि भएको छ भनेर भनिएको छ, जसअनुसार परिसरलाई तीनवटा चोकमा विभाजन गरिएको थियो । पहिलो चोकमा मन्दिर थिए । छात्रावास थियो । वेदाध्यायीहरूका लागि खुला कक्ष थियो । भण्डार थियो । अर्को चोकमा पुराणशाला थियो । विद्यालयका कक्षा थिए । यहाँ पनि अर्को मन्दिर र शिवलिङ्ग थिए । त्यसैगरी धर्मशाला बनेको थियो । केही खुला जमिन थियो– स्थानीयहरूको माङ्गलिक कार्यका लागि ।’

यस विवरणमा भनिएअनुसार त्यहाँ शिक्षक, विद्यार्थी, भक्तजनहरूका नियमित आवश्यकता मात्र सोचिएको थिएन, स्थानीय जनसमुदायका माङ्गलिक कार्यका लागि खुला ठाउँको बन्दोबस्तसमेतको विचार पुर्‍याइएको छ । त्यसबेलामा माङ्गलिक कामका लागि ठूलो र साझा ठाउँ चाहिन्छ भन्ने अवधारणा पनि आफैँमा नयाँ सोच हो । यति मात्र नभएर तीे विकास निर्माण काममा सर्वसाधारणको प्रत्यक्ष हितको कुरा पनि हुने देखायो, जसले गर्दा मानिसहरू सहभागी हुन उत्साहित भए ।

त्यसैगरी मन्दिर र विद्यालय उहाँको मूल लगानीबाट बनेका छन् भने छात्रावास, शिवलिङ्गहरू जस्ता वरिपरिका संरचनाहरू बनाउनलाई दाताहरू संलग्न हुनलाई उपयुक्त ठाउँ पनि देखाइएको छ । त्यसैले त आफ्नो परिस्थिति र हैसियतअनुसार कसैले केही रकम दिए भने अरू कसैले छात्रावास जस्ता संरचना नै बनाइदिए ।

उहाँका सोच र परिकल्पना अनि कार्यहरू तात्कालिक दैनिक जनजीवनलाई छुने र दीर्घकालिक, भविष्यमुखी, दुवै प्रकृतिको मिश्रण भएका रहेछन् । मानिसको दैनिकीसँग मात्र सम्बन्धित कार्यहरूले जीवन सहज बनाउँछन्, मानिसहरूको सहयोग लिन सजिलो पार्छ तर यस्ताले मात्र समाजलाई ठूलो र दीर्घकालीन परिवर्तनतर्फ लैजान सक्दैन ।

त्यस्तै, सुदूर भविष्यमुखी कार्यक्रमहरू जति राम्रा भए पनि तत्काल जनजीवनसँग तादात्म्य राख्न सक्दैनन् भने सहभागिता जुट्दैन । समाजलाई लामो अग्रगमनको बाटोमा डोहोर्‍याउनु छ भने तत्कालीन र दीर्घकालीन दुवै खाले कार्यहरूको उचित सम्मिश्रण चाहिन्छ । यस्तो सम्मिश्रण दिङ्लाको त्यो अभियानमा देखिन्छ ।

एउटै अभियानमा कम्तीमा दुई पुस्ताका मानिसहरू संलग्न भई जिम्मेवारीका साथ काम भएको छ भने बुझ्नुपर्छ कि त्यो सामुदायिक नेतृत्व विकास भएर नै संभव भएको हो । त्यहाँ मानिसहरूलाई संलग्न गराउनका लागि विभिन्न प्रकारका कार्य र कार्यक्रम सिर्जना भएका थिए । ती विभिन्न प्रकारका कार्यहरूमा विभिन्न तहमा काम गर्न कार्यकर्ताहरू संलग्न हुन्थे । उनीहरूलाई अवसर, प्रेरणा, प्रोत्साहन र मार्गदर्शन हुन्थ्यो ।

त्यहाँ हाट, मेला, पर्व, जात्रा, धारा, पानी, बाटो, गौचरन र आचार व्यवहार तात्कालीन परिवर्तनका कार्यक्रमहरू रहे भने विद्यालय, संस्था, संस्कार, रीतिथिति जस्ता कार्यक्रमहरू दीर्घकालीन प्रकृतिका रहे । यसले त्यो अभियान कति व्यावहारिक र यथार्थपरक रहेछ भन्ने थाहा दिन्छ । जनसमर्थन र सहभागिताका लागि पनि यो सहायक तत्त्व रहेको देखिन्छ ।

वैधता र दस्तावेज

षडानन्दका कामहरू वैधता र दस्तावेजको दृष्टिमा अब्बल छन् । यो कुरा पहिलेका अध्ययनहरूले पनि औँल्याएका छन् । उदाहरणका लागि : उहाँले जग्गासम्बन्धी काम कारोबारहरूका औपचारिक लिखत गर्दा बढीभन्दा बढीको रोहवरमा गर्ने गर्नुहुन्थ्यो । जग्गा सट्टापट्टा, तिरो वा आम्दानी हेरफेर, ब्याजी धानको दर फेरबदल जस्ता देख्दा साधारण लाग्ने कारोबारहरूलाई कागजातहरूबाटै वैधता दिइएका छन् ।

त्यसैगरी मन्दिर स्थापना होस् वा विद्यालय संचालन गर्दा होस्, उहाँले सरकारलाई जानकारी दिएर स्वीकृति लिएर गर्नुभएको छ । पछि गुठी स्थापना गर्दा त झन् धर्मपत्रिकामा सरकारबाट बेलाबेलामा निरीक्षण र जाँच गराउने जस्ता व्यवस्था गरेर जानुभयो । वैधता र दस्तावेजहरूको अनुपालनाले उहाँप्रति जनविश्वास बढ्यो, जसको फलस्वरूप जनसहभागिता पनि बढ्यो । अन्यथा त्यति ठूलो अभियान र संरचनाहरूको निर्माण जनस्तरबाट त्यो हदसम्मको सफलतापूर्वक सम्पन्न हुन सक्ने थिएन ।

व्यवस्थापनको दृष्टिबाट हेर्दा उहाँको काम गर्ने तरिकाले बहुआयामिक फाइदा देखाउँछ । उहाँले पाठशाला र गुठीका कामदारहरूको नियुक्तिपत्र, कार्यविवरण, बिदाको स्वीकृति जस्ता दस्तावेज पनि राख्ने गरेको पाइन्छ । यसो गर्दा कारोबारको पारदर्शिता बढ्छ, जनभरोसा बढ्छ । थाहै नपाई सहयोगीहरूले काम गर्ने तरिका पनि जान्दछन्, सहयोगीहरूको व्यवस्थापन क्षमता पनि अभिवृद्धि हुन्छ ।

अन्ततः सङ्घसंस्थाको प्रभावकारिता बढ्छ, दिगोपना सुदृढ हुन्छ, सेवाको सुनिश्चितता बढ्छ । उहाँले बुन्नुभएका यस्ता तानावाना जनसहभागिता र प्रभावकारी व्यवस्थापनका लागि ज्यादै उपयोगी रहे । त्यसैले त उहाँले छाड्नुभएका यी संरचना र संस्थाहरू आजसम्म पनि समाजमा समय सापेक्ष भएर रहेका छन् ।

सामुदायिक नेतृत्व विकास

षडानन्दको एकल नेतृत्वमा दिङ्लामा सबै कामहरू भएका थिए । उहाँको त्यो नेतृत्वले वि.सं. १९२८ देखि १९६९ सम्म अर्थात् झन्डै ४० वर्ष त्यहाँ निर्माण कार्यहरू र अभियान हाँक्यो । यति लामो समयसम्म एक जना मानिसको मात्र नेतृत्वमा चलेको समाज व्यवस्था उहाँले छाडेर जाँदा सामान्यतया नेतृत्व खाडल ठूलै हुने र अन्योल हुने डर रहन्छ तर त्यहाँ त्यस्तो देखिएन ।

त्यहाँ उहाँले नेतृत्व गर्दागर्दै भावी नेतृत्वको विकास पनि सँगसँगै भएको देखियो । षडानन्द आफैँले वि.सं. १९६६ मा शिलालेख र धर्मपत्रिका गरेर छाडेको तीन वर्षपछि १९६९ सालमा दिङ्ला फर्केर आप्mनो सिर्जना र अभियानहरूको लेखाजोखा गरेको र कामहरू राम्रोसँग भइरहेको पाएपछि सन्तुष्ट भएर फेरि काठमाडौं फर्केको प्रसङ्गले त्यो कुरा पुष्टि हुन्छ । यस प्रसङ्गले उहाँपछिको नेतृत्व त्यहाँ सक्षम भएको देखाउँछ । यो उहाँको नेतृत्व र कार्यशैलीको उल्लेख्य पक्ष रहेको छ ।

षडानन्दले त्यो समयका सबैबाट सहयोग लिनुभएको छ । उहाँलाई सहयोग गर्नेमा सबै जात, लिंग  र वर्गका व्यक्तिहरू छन् । एकल महिलाले आफूसँग भएको सानो सम्पत्ति पनि दिएका छन् । धेरै सम्पति हुनेले पनि दिएका छन् । सानो वा ठूलो भनिएका सबै खाले जात र समूहका मानिसले दान गरेका छन् ।

मोहीले मोलतोल गरेका छन् । लिखतहरू गरेका कागजातहरूमा ठाउँठाउँमा भद्र भलाद्मीहरूको सल्लाहमा त्यो काम भएको भन्ने वाक्यांश देखिन्छ । गुठीसम्बन्धी कागजपत्रहरूमा कानुनतः आवश्यकताभन्दा बढी मानिसहरूको उपस्थिति देखिन्छ । कागजपत्र लेख्ने मानिसहरू र साक्षीहरूको नाम हेर्दा प्रस्टसँग देखिन्छ कि उहाँलाई सघाउने मानिसहरू कम्तीमा दुई पुस्ताका थिए । उहाँका समवयीहरूका साथ काम सुरु भएको थियो भने पछिल्लो पटक उहाँले दिङ्ला छाड्दा उहाँभन्दा पछिल्लो पुस्ताका मानिसहरू केन्द्रमा रहेका छन् । सबै तप्का, उमेर समूह, वर्ग र लिंगका मानिसहरूसँग उहाँले सहकार्य गर्नुभएको देखिन्छ ।

एउटै अभियानमा कम्तीमा दुई पुस्ताका मानिसहरू संलग्न भई जिम्मेवारीका साथ काम भएको छ भने बुझ्नुपर्छ कि त्यो सामुदायिक नेतृत्व विकास भएर नै संभव भएको हो । त्यहाँ मानिसहरूलाई संलग्न गराउनका लागि विभिन्न प्रकारका कार्य र कार्यक्रम सिर्जना भएका थिए । ती विभिन्न प्रकारका कार्यहरूमा विभिन्न तहमा काम गर्न कार्यकर्ताहरू संलग्न हुन्थे । उनीहरूलाई अवसर, प्रेरणा, प्रोत्साहन र मार्गदर्शन हुन्थ्यो ।

काम सफल हुँदै जाँदा आत्मगौरव, आत्मसन्तुष्टि र आत्मबल विकास हुन्थ्यो अनि मानिस सामाजिक कार्यमा रमाउँथे र थप नयाँ जिम्मेवारीहरू लिन उत्सुक हुन्थे । नयाँ पुस्तामा नेतृत्व सीप र कौशल पनि यसरी नै हस्तान्तरण हुन्छ । नयाँ पुस्ता समयअनुसारको चुनौती सामना गर्दै अघि बढ्न पनि यसरी नै सक्षम हुन्छ ।

त्यहाँ यस्तै प्रकारले सामाजिक नेतृत्वको विकास भएको हो । सामान्यतया सामाजिक नेतृत्व विकास संसारमा जहाँ पनि यसरी नै भएको हुन्छ । दिङ्लाको हकमा यसरी हुन गएको नेतृत्व विकासमा षडानन्दको विशेष योगदान छ ।

क्रमशः

यो पनि
सामाजिक अभियन्ता षडानन्दः सामाजिक परिचालनदेखि सांस्कृतिक सुधारकसम्म

(चापागाईंले २०७६ मंसिर १ गते प्रज्ञाप्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा प्रस्तुत गर्नुभएको गोष्ठीपत्रबाट यो आलेख लिएको हो – सम्पादक ।)