खुसी : आवश्यकता पूर्ति वा दिमागी धारणाको उपज !

खुसी : आवश्यकता पूर्ति वा दिमागी धारणाको उपज !

निर्जला कक्षपति  |  दृष्टिकोण  |  मंसिर १०, २०७६

कहिलेकाहीँ मानिस भीडभाडमा हुन्छ तर उसले नितान्त एक्लो महसुस गरेको हुन्छ । कहिलेकाहीँ मानिस रमाउन भनेर ठूलो सांगीतिक भीडमा सामेल हुन्छ तर पनि मानिस रमाउन सकिरहेको हुँदैन । मानिस आफूलाई शान्ति प्राप्त होस् भनेर घरको माहोलबाट उम्केर प्रवचन सुन्न पुग्छ तर पनि मानिसको मन कहिलेकाहीँ रम्न सक्दैन ।

सुख प्राप्तिका लागि गर्नसम्म दुःख र मिहिनेत गर्न पछि हट्दैन मान्छे । तर पनि मानिसले आफूलाई सबथोक पुग्दा पनि अब त म सुखी र खुसी छु भनेर विरलैले मात्र भन्ने गर्छन् । यस्तो किन हुने होला ? जबसम्म मानिसको मन खुसी हुँदैन तबसम्म यस्ता खाले भावनाहरू हाम्रो मनमा आई नै रहन्छन् ।

मानिसले खुसीलाई आफ्ना आवश्यकतासँग जोड्ने गर्छन् । यो विल्कुल गलत धारणा हो । खुसी र आवश्यकताको कुनै सम्बन्ध हुँदैन र हुन हुन्न पनि । धेरैको मुखबाट सुन्ने गरिन्छ, ‘मलाई यस्तो दुःख छ, कसरी खुसी रहने ?’ त्यसो हो भने दुःख भएका मानिसहरू खुसी नै नहुने त ? जीवनयापनका लागि आफ्ना आवश्यकताहरू पूरा गर्न सकिएनन् भनेर त्यसलाई दुःख छ भन्नु कतिको जायज हुन्छ ?

यसैगरी अरूसँग तुलना गरेर ‘फलानोको योयो कुरा छ, मसँग छैन’ भनेर आफू दुखी हुनु कतिको जायज हुन्छ ? यो हामी सबैले अनुभव गर्न सक्छौँ ।

जीवनमा केही प्राप्त गर्नु मात्र सफलता होइन । परीक्षामा पास गर्नु मात्र पनि सफलता होइन । परीक्षामा प्राप्त गरेको सफलताले विद्यार्थीलाई थप अध्ययनमा सहयोग पुर्‍याउँछ तर सफलता भएन भने खुसी हुन सकिँदैन भन्ने कुरा भने होइन ।

मानिसले हरेक काम गर्दा एउटा कर्तव्य गरेको छु भनेर सम्झिनुपर्छ । आफूले गरेको कर्तव्य धेरै मानिसले मनपराउन पनि सक्छन्, मन नपराउन पनि सक्छन् । त्यसैले मानिसले आफ्नो कर्तव्य पूरा गर्दा जहिले पनि सत्कर्म गर्न चुक्नुहुँदैन । सत्कर्मअनुसारको प्रतिफल जीवनमा अवश्य पाइन्छ । 

हाम्रो मन कहाँ हुन्छ ? भनेर कसैलाई सोध्यौँ भने धेरैले मुटु भएको ठाउँतिर देखाउने गर्छन् । हामीले सोच्ने कुरा नै मनले भन्ने हुन् । दिमागले बनाएको धारणा नै मनले भनेका कुरा हुन् । मानिस जहिल्यै सकारात्मक सोचको हुनुपर्छ, सकारात्मक कुरा सोच्नुपर्छ भनेर यसै भनिएको होइन । राम्रो कुरा सोच्दा सबैलाई प्रायः राम्रो नै देखिन्छ । राम्रो कुरा र सकारात्मक हुँदा नराम्रा भावनाहरू यसै हटेर जान्छन् ।

कोहीकोही मानिस एक्लै बस्दा रमाउँछन् र भन्ने पनि गर्छन्, ‘एक्लै बस्दा मलाई बढी आनन्द लाग्ने गर्छ ।’ कसैलाई भने भीडभाडमा बस्न मनपर्ने हुन्छ । घरमा एक्लै बस्न नसक्ने, बाहिर हिँड्दा पनि दुई–चार मान्छे साथमा लिएर हिँड्ने खालको हुन्छ कसैको स्वभाव । यी सब मानवीय स्वभाव हुन् । जसलाई जे गरेर खुसी प्राप्त हुन्छ, त्यही गर्नुपर्छ ।

राम्रा कुरा अर्थात् सकारात्मक कुराले हाम्रो मन पनि खुसी र दंग परिरहेको हुन्छ । खुसी र दंग परेर काम गर्दा ९९ प्रतिशत हामी राम्रो गर्छौं । राम्रो काम गर्दा मानिसहरूले तारिफ गर्न सुरु गर्छन् । मानिसबाट पाएको तारिफ र वाहवाहीले हामीलाई १०० प्रतिशत सन्तुष्टि मिल्छ र हामी खुसी र सुख प्राप्त गर्छौं ।

खुसी र सुख भनेको मानिसमा भरपर्ने कुरा हो । भारी बोक्ने मानिस सुखी र खुसी हुन सक्छ । महलमा बस्ने मानिस दःुखी हुन सक्छ । यी सब मानिसको सोचाइमा भर पर्ने कुरा हुन् । भारी बोक्ने मानिसले भारी बोक्ने कामलाई उसको प्रमुख काम ठान्छ । बाहिरी हर्ने मानिसले उसको दुःख हेरेर उसलाई कति दुःख छ भनेर अड्कल काट्नु भ्रम मात्र हुन सक्छ ।

मानिसहरू आफूले सोचेको कुरा नहुँदा निकै नै दुखी हुने गर्छन् । प्रयास गरेको हो, भएन भनेर चित्त बुझाउनेको संख्या निकै कम हुन्छ । मानिस जन्मेपछि अजम्बरी बाँच्छु भनेर सोच्नु नै गलत हो । मर्छु भन्ने कुरा बिर्सेर नै मानिस दुई दिनको जिन्दगानीलाई ‘इन्जोय’ गर्न सकिरहेका छैनन् । संसारमा सत्य भनेकै एउटा कुरा हो, त्यो हो मृत्यु । तर, पनि बाँचुन्जेल मानिसले आफ्नो शरीरलाई दुःख दिइरहेका हुन्छन्, दुखी भइरहेका हुन्छन् अनि केही प्राप्तिलाई सफलता ठान्छन् र सफलताले नै खुसी ल्याउँछ भन्ने ठान्छन् ।

मनोविश्लेकका अनुसार यसरी प्राप्त हुने खुसी क्षणिक हुन्छन् । यदि जीवनलाई बुझ्ने हो भने, प्राप्ति र सफलता जस्ता कुराहरूले खुसीको मापन गरिनुहुँदैन ।

कोहीकोही मानिस एक्लै बस्दा रमाउँछन् र भन्ने पनि गर्छन्, ‘एक्लै बस्दा मलाई बढी आनन्द लाग्ने गर्छ ।’ कसैलाई भने भीडभाडमा बस्न मनपर्ने हुन्छ । घरमा एक्लै बस्न नसक्ने, बाहिर हिँड्दा पनि दुई–चार मान्छे साथमा लिएर हिँड्ने खालको हुन्छ कसैको स्वभाव । यी सब मानवीय स्वभाव हुन् । जसलाई जे गरेर खुसी प्राप्त हुन्छ, त्यही गर्नुपर्छ ।

कोहीकोही महिला निकै सुन्दर भएर हिँड्छन् । कसैले बिहान उठ्नेवित्तिकै मेकअप गर्ने गर्छन् । कसैले झपक्क गरगहना लगाउँछन् । एक जना चिनेजानेकी दिदीले जहिल्यै बिहान उठ्नेवित्तिकै एक सेट हीराको गरगहना लगाइहाल्नुहुन्थ्यो ।

मैले एक दिन दिदीलाई सोधेँ, ‘दिदी, तपाईं प्रायः गरगहना नछुटाई लगाउनुहुन्छ किन ?’ उहाँले भन्नुभयो, ‘यसरी गरगहना लगाउँदा मेरो मन फुरुङ्ग हुन्छ । म राम्री देखिएकी छु भन्ने हुन्छ । आफूलाई पनि मनमा सन्तोष पैदा हुन्छ । खुसी ल्याउने भएकाले म गरगहना लगाउँछु ।’

दिदीको कुरा मनासिव नै लाग्यो । हुन पनि आफूलाई जे गर्दा खुसी लाग्छ, त्यही नै गर्ने हो भन्ने सोच्न थालेँ ।

कसैलाई पढेर ज्ञान प्राप्त गर्दा खुसी प्राप्त होला, कसैलाई घुमेर, कसैलाई, बोलेर, कसैलाई मीठो खाएर मन दंग पर्ला । आफूलाई जे गर्दा आफ्नो मन दंग हुन्छ, मानिसले त्यही नै गर्ने हो । क्षणिक समयका लागि हामी यस पृथ्वीमा आएको भन्ने थाहा पाउँदा पाउँदै खुसी र सुखी भएर मर्ने कि दुखी भएर मर्ने ? यो सब हाम्रै हातमा छ ।

जीवन एक रंगमंच हो । हामी यस रंगमंचमा कलाकार भएर आफ्नो भूमिका निर्वाह गर्दै छौँ भन्ने कुरालाई कहिल्यै नबिर्सौं ।