जवा नदीबाट बिजुली उत्पादन शुरु

जवा नदीबाट बिजुली उत्पादन शुरु

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १०, २०७६

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँको स्थानिय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि गाउँमा बिजुली बल्न थालेको छ । बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ । यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो  । ‘एउटै नहरबाट बिजुली पनि बलेको छ, सिँचाइ पनि हुन्छ’, अध्यक्ष बुढाले भन्नुभयो ।

आयोजना आर्थिक वर्ष २०७१–७२ देखि निर्माण शुरु भएको थियो । साढे दुई वर्षमा सक्ने लक्ष्य राखिए पनि बजेट अभावले ढिलाइ भएको अध्यक्ष बुढाले बताउनुभयो । आयोजना कात्तिकमा निर्माण सम्पन्न भएको हो ।  आयोजनामा रु तीन करोड लाग्ने अनुमान गरिएको थियो । उपभोक्ता समितिले बजेट जुटाउनु परेकाले ढिलाइ भएको जनाएको छ । ‘उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको छ’, अध्यक्ष बुढाले भन्नुभयो ।

 तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत २० लाख रुपयाँमा काम शुरु गरिएको थियो । त्यसपछि सांसद विकास कोषको ३० लाख रुपयाँ, सूर्य सामाजिक सेवा सङ्घको २० लाख रुपयाँ र  पातारासी गाउँपालिकाको  ७५ लाख रुपयाँ लागेको छ । सो आयोजनाबाट तिर्खु, लाम्री, डिल्लीचौर र जम्नगाउँमा बिजुली आपूर्ति हुनेछ । चारै गाउँका करीब ५०० परिवार लाभान्वित हुने बताइएकाे छ ।