पेसमेकरः आविष्कारदेखि नेपालमा सहज प्रत्यारोपणसम्म
मंसिर १०, २०७६

स्वस्थ व्यक्तिको मुटु एक मिनेटमा ६०–१०० पटकसम्म चल्छ । यसरी मुटुको गति नियमित संचालन हुँदा मात्र शरीरका सबै अंगहरूमा रक्त संचार हुन्छ । मुटु कसरी धड्किन्छ भन्ने विषय बुझ्न त्यति सजिलो भने छैन । 

हृदयगतिको उद्गमस्थल पत्ता लागेको ११० वर्षभन्दा बढी भइसकेको छ । राइट एट्रियमको माथिल्लो भागमा विशेष प्रकारका कोषहरूको समूह भएको ठाउँलाई साइनो आट्रियल नोड (Sino Atrial node) भनिन्छ ।

यिनै कोषहरूको समूह भएको ठाउँबाट हृदयगति निश्चित गरिन्छ । हृदयचाल उत्पन्न गराउने एसए नोड (SA node) बाट बिजुली शक्ति एट्रिओ–भर्टिकुलर नोड (Atrio-vertricular node) मा पुग्छ । एभी नोड (AV node) बाट बन्डल अफ हिस (Bundle of His) दायाँ र बायाँ बन्डल ब्रान्च (Bundle Branch) हुँदै मुटुलाई चलाउने शक्ति पर्किन्ज फाइबर्स (Purkinje fibers) मा पुग्छ । त्यसै कारणले मुटुको एपेक्स (Apex)  सबभन्दा पहिले उत्तेजित हुने गर्छ ।  माथि उल्लेख गरिएका मुटुका भागहरू र मुटुको मांसपेसी रोगग्रस्त हुँदा मुटुको चाल प्रभावित हुन्छ । 

साइनस नोड सिकिस्त बिरामी हुँदा मुटुको चाल एकदम कम हुन्छ । मुटुको चाल कम हुने अर्को रोग हृदयघात हो । यसरी मुटुको गति कम हुने रोगलाई औषधिहरूले मात्र काम नगर्ने हुँदा पेसमेकर प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।पेसमेकर प्रत्यारोपण गर्नुपर्ने अन्य धेरै रोगहरू हुन्छन् । यस विषयमा मुटु रोग विशेषज्ञहरूसँग परामर्श लिनु राम्रो हुन्छ । 

एसए नोड  (SA node)  लाई दायाँ करोनरी र बायाँ सर्कम्ल्पेक्स आर्टरीहरूले रगत संचार गरेका हुन्छन् । सिम्प्याथेटिक र पारासिम्प्याथेटिक स्नायुहरूले पनि एसए नो (SA node)  लाई प्रभावित पारिरहेका हुन्छन् । 

लण्डन अस्पतालमा कार्यरत एनाटमीका डेमोन्ट्रेटर आर्थर किथ (Arther Keath) ले केन्टमा (Mann’s Place) मेडिसिनका विद्यार्थी  मार्टिन फ्ल्याक (Martin  Flack) सँग मिलेर सन् १९०६ मा एसए नोड (SA node) पत्ता लगाएका हुन् ।


      सर आर्थर किथ (१८६६–१९५५)       र      मार्टिन फ्ल्याक (१८८२–१९३१)

स्कटिस व्रिटिस मनोवैज्ञानिकहरू 

एभी नोड (AV node) लाई पनि दायाँ करोनरी आर्टरीको एट्रिओ– भेन्ट्रिकुलर नोडल ब्रान्च (Atrio-ventricular nodal branch)  र सर्कमफ्लेक्स आर्टरीद्वारा रक्त संचार हुन्छ । सन् १९०६ मा सुनाओ तावारा (Sunao Tawara) ले एभी नोड (AV node) पत्ता लगाएका हुन् ।

सुनाओ तावारा (१८७३–१९५२)

सन् १८३९ मा चेकोस्लोभेकियाका फिजियोलोजिष्ट जाँ इभान्जेलिस्टा पर्किन्ज (Jan Evangelista Purkinje) ले पर्किन्ज फाइबर्स (Purkinje Fibres) पत्ता लगाएका हुन् ।

जाँ इभान्जेलिस्टा पर्किन्ज (१७८७–१८६९)

पेसमेकरले विद्युतीय शक्तिद्वारा मानिसको मुटुलाई चलाउन सक्छ । मुटुलाई एक मिनेटमा जति पटक चलाउनुपर्ने हो,  पेसमेकरले त्यति नै पटक चलाइदिन सक्छ । विद्युतीय शक्तिद्वारा मुटुको चाललाई नियन्त्रण गर्न सकिने कुरालाई सन् १८८९ मा जोहन अलेक्जेण्डर म्याकविलियम (John Alexander MacWilliam) ले ब्रिटिस ‘हार्ट जर्नल’मा रिपोर्ट प्रकाशन गरेका थिए । 

भेन्ट्रिकुलर फिब्रिलेसन ज्यानलाई खतरा पुर्‍याउने खालको हृदयगतिको रोगलाई विद्युतीय शक्तिको प्रयोगद्वारा उपचार गर्न सकिने कुरा पनि म्याकविलियमले राम्रो बुझेका थिए । उनी एवर्डिन युनिभर्सिटीका प्राध्यापक हुनुका साथै फिजियोलोजीका ज्ञाता पनि थिए । यिनैको अनुसन्धानद्वारा प्रेरित भएर वैज्ञानिकहरूले पछि पेसमेकर मेसिन बनाएको इतिहास छ । 

जोहन अलेक्जेण्डर म्याकविलियम (१८५७–१९३७)

सन् १९२६ मा सिड्नीको रोयाल प्रिन्स अल्फ्रेड अस्पतालमा कार्यरत डा. मार्क कोली लिडविल (Dr.Mark Cowley Lidwill) ले मुटुलाई चलाउने मेसिन बनाएर नवजात शिशुको मुटुलाई चलाएका थिए । यो पनि एक प्रकारको पेसमेकर नै थियो । 

डा. मार्क कोली लिडविल (१८७८–१९६९)

जोन होप्सले विलफ्रेड गोर्डन, विगलो (Bigelow) र जोहन कलेगन (John Callaghan) सँग टोरन्टो युनिभर्सिटीमा काम गर्दा सन् १९५१ मा एक्सटर्नल आर्टिफिसियल पेसमेकर बनाएका हुन् । यस्तो पेसमेकरले छालाबाहिरबाट प्रयोग गरिएको विद्युतीय शक्तिले मुटुलाई चलाउँछ । 

                       जोहन होप्स (१९१९–१९९८)

परमानेन्ट पेसमेकर प्रत्यारोपणमा पेसमेकर तारलाई (लिड) शिराद्वारा मुटुको दायाँ भेन्ट्रकिलमा राखिन्छ । पेसमेकर मेसिनलाई छातीको छालाभित्र राखेर मुटुलाई चलाइन्छ । हिजोआज टेम्पोररी पेसमेकरमा पनि पेसमेकर लिडलाई शिराद्वारा मुटुभित्र पुर्‍याइन्छ । तर, पेसमेकर मेसिन भने बाहिर नै राखिन्छ । यो किसिमको पेसमेकर केही दिन चलाएर निकालिन्छ । 

सन् १९५८ मा स्विडेनका जोहन इल्मिक्विस्ट -John Elmqvist) ले सर्जन एक सेनिङ (Ake senning) को सहयोग लिएर आर्न लार्सन (Arne Larsson) मा सर्वप्रथम परमानेन्ट पेसमेकर प्रत्यारोपण गरेको इतिहास छ ।

सुरुमा पेसमेकर विद्युतीय शक्तिद्वारा चलाइन्थ्यो, पछि पेसमेकरको ब्याट्रीलाई चार्ज गर्न थालियो । पछि मर्करी ब्याट्री प्रयोगमा ल्याइयो भने सन् १९६९ देखि लिथियमको ब्याट्री प्रयोग गर्न थालिएको हो ।

पहिलो पल्ट पेसमेकर राखिएको बिरामीले २६ वटा पेसमेकर फेर्नुपरेको थियो । उक्त बिरामी ८८ वर्षको उमेरसम्म बाँचेका थिए । 

परमानेन्ट पेसमेकरको प्रत्यारोपण हुन थालिसकेपछि मुटुको चाल प्रभावित हुने रोगहरूबाट मानिसलाई बचाउन संभव भएको थियो । 

अमेरिकाका इलेक्ट्रिकल इन्जिनियर विल्सन ग्रेट ब्याच (Wilson Great Batch) ले पनि पेसमेकर बनाएर सन् १९६० मा मानिसमा प्रत्यारोपण गरेका थिए । अमेरिकी फिजियोलोजिस्ट अल्बर्ट हाइमेनले सन् १९३२ मा पेसमेकर बनाएका थिए तर उनले यसको प्रचार भने गरेनन् । 

जोहन इल्मिक्विस्ट (१९०६–१९९६)

सन् १९७० को सुरुमा बेलायतको डार्लिङ्टन मेमोरियल अस्पतालमा हाउस फिजिसियनको काम गर्दा हृदयघात भएका एक जना बिरामीलाई कम्प्लिट हार्टब्लक भएको थियो । उक्त बिरामीलाई न्युक्यासलबाट कार्डियोलोजीका रजिष्ट्रार आएर टेम्पोररी पेसमेकर राखेका थिए । मैले उनलाई सहयोग गरेको थिएँ । मैले सबैभन्दा पहिले पेसमेकर राखेको देखेको पनि यही नै थियो । 

सन् १९७१ मा म एसेक्सको रचफर्ड अस्पतालमा सिनियर मेडिकल अफिसरको काम गर्थें । उक्त अस्पतालमा काम गर्दा पनि एक जना कम्प्लिट हार्टब्लक भएको बिरामीको करोनरी केयर युनिटमा भर्ना गरिएको थियो । मेरो कन्सल्टेन्टको अनुमति लिएर मैले टेम्पोररी पेसमेकर राखिदिएको थिएँ । यसभन्दा पहिले टेम्पोररी पेसमेकर राख्न बिरामीहरूलाई लन्डनको गाइज अस्पतालमा पठाइने गरिन्थ्यो । 

म सन् १९८६ मा वीर अस्पतालमा कार्यरत हुँदा कार्डियोलोजीमा  तालिम लिन दिल्लीकोे राम मनोहर लोहिया अस्पतालमा गएको थिएँ । त्यतिबेला पनि मलाई टेम्पोरी पेसमेकर राख्ने अनुभव बटुल्ने मौका मिलेको थियो । त्यतिबेला वीर अस्पतालमा डाक्टर मोतीराजा बज्राचार्यले टेम्पोररी पेसमेकर राख्ने गर्नुहुन्थ्यो । दिल्लीमा तालिम लिएर फर्किएपछि वीर अस्पतालमा डा. सुन्दरमणि दीक्षितका बिरामीलाई मैले टेम्पोररी पेसमेकर राखेको थिएँ ।  

नेपालमा परमानेन्ट पेसमेकर अस्ट्रेलियाबाट आएका कार्डियोलोजिष्टले सबैभन्दा पहिले वीर अस्पतालमा प्रत्यारोपण गरेका हुन् । पछि वीर अस्पतालमा नियमित परमानेन्ट पेसमेकर प्रत्यारोपण हुन थाल्यो । डा. सुन्दरमणि दीक्षितले रानी जगदम्बाका नाममा चारवटा पेसमेकर वीर अस्पतालमा उपलब्ध गराउने व्यवस्था मिलाउनुभएको थियो । त्यतिबेला परेको मूल्यमा बिरामीहरूलाई पेसमेकर उपलब्ध गराइन्थ्यो । 

पेसमेकर व्यवस्थापन गर्ने एउटा कमिटी पनि गठन गरिएको थियो । म उक्त कमिटीको सचिव पनि थिएँ । हिजोआज परमानेन्ट पेसमेकर नेपालका धेरै स्वास्थ्य केन्द्रमा सहज रूपमा प्रत्यारोपण गरिन्छ ।

पेसमेकर प्रत्यारोपणले हृदयगतिलाई नियन्त्रण गरेर धेरै बिरामीहरूलाई अचानक हुने मृत्युबाट बचाइरहेको छ । पेसमेकरको प्रयोग बीसौँ शताब्दीको ठूलो उपलब्धि मान्नुपर्छ । आजको सन्दर्भमा पेसमेकर बनाउने व्यक्तिहरूलाई सम्झनु नै उहाँहरूप्रति श्रद्धान्जलि अर्पण गर्नु हो जस्तो लाग्छ ।

परमानेन्ट पेसमेकर यस्तो हुन्छ ।