प्रदेश १ का एक सय सामुदायिक क्याम्पसहरूलाई गाभिने !

प्रदेश १ का एक सय सामुदायिक क्याम्पसहरूलाई गाभिने !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर १०, २०७६

झापा । कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पसलाई एक आपसमा (मर्ज)गाभिने भएको छ ।  ‘मर्ज’ भएका क्याम्पसको सञ्चालनमा प्रदेश सरकारले सघाउने जनाइएको छ । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पससभामा आज बिहान उच्च शिक्षामा सरकारले लगानी बढाउने बताउनुभयो ।

प्रदेशका १०० जति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरुलाई बन्द हुन नदिन प्रदेश सरकारले ‘मर्ज’को नीति लिएको बताउनुभएको हो ।

प्रदेश सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन २०० विद्यालयमा डिजिटल प्रविधिमार्फत पठनपाठन शुरु गरेको, मनमोहन विश्वविद्यालय स्थापना गरेको, डिजिटल साक्षरता कक्षा सञ्चालन गर्न लागेको र सक्षम क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्नातक तहसम्म पठनपाठन भइरहेको काँकडभिट्टा बहुमुखी क्याम्पसमा भवन र कलेजबसलगायतका भौतिक साधनको अभाव भएको क्याम्पसका अध्यक्ष कमल थापाले बताउनुभएको थियो । मन्त्री घिमिरेले क्याम्पसलाई प्रदेश सरकारका तर्फबाट तत्काल ३० लाख रूपयाँ सहयोग प्रदान गरिने घोषणा सोही कार्यक्रममा गर्नुभयो ।