औषधि अभावका कारण बिरामीको उपचारमा समस्या

औषधि अभावका कारण बिरामीको उपचारमा समस्या

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर १०, २०७६

सिरहा । सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ स्थित सीतापुर स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । समयमै औषधि खरीद गरी गाउँपालिकाले आपूर्ति नगर्दा अभाव भएको हो ।

मौसममा आएको परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला स्वास्थ्य संस्थामा अत्यावश्क औषधिको अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य छन् । विगत छ महिनादेखि गाउँपालिकाले औषधि खरीद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा औषधिको आभाव भएको हो । 

सातादेखि ज्वरोले थलिएका सीतापुरका सहदेव साह उपचारका लागि स्वास्थ्यचौकी धाउँदै आए पनि औषध नरहेको भन्दै स्वास्थ्यकर्मीले रित्तै फर्काएको गुनासो गर्नुभयो । 

अहिले शरीरमा चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पुछ्ने कपास र ब्यान्डेजसम्म नरहेको स्वास्थ्यचौकी सीतापुरका प्रमुख झौली साहको भनाइ छ । उहाँका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला तथा निमोनियाका बिरामीलाई चाहिने पारासिटामोल, जीवनजलदेखि अधिकांश एन्टिबायोटिक्स स्वास्थ्यचौकीमा अहिले छैन । 

अहिले दैनिक २०–२५ बिरामी उपचारका लागि आउने गरे पनि औषधि अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।