भ्रमण वर्ष वर्ष २०२० को सदस्य सचिवमा बच्चुनारायण

भ्रमण वर्ष वर्ष २०२० को  सदस्य सचिवमा बच्चुनारायण

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर १०, २०७६

नेपाल सरकारले भ्रमण वर्ष २०२० को सचिवालयमा रिक्त रहेको सदस्य सचिवको रुपमा पर्यटन व्यवसायी तथा विज्ञ बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको हो ।

सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका वार्ड नम्बर ६ का श्रेष्ठ विगत दुई दशकभन्दा बढीसमयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँ यसअघि टेकिङ्ग एजेन्सी एसोशिएसन अफ नेपाल ९टान० मा द्धितिय र प्रथम उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसक्नुभएको छ । यसैगरी पासाङ्गल्हामू पर्वतारोहण प्रतिष्ठानको महासचिवका रुपमा पनि अनुभव संगाल्नुभएको छ ।

यसअघि नेपाल सरकारले २५६०औं बुद्ध जयन्तीको अवसर पारी घोषणा गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल आयोजक समितिको सदस्य सचिवका रुपमासमेत काम गरिसक्नुभएको छ ।

शुक्रबार पदभार ग्रहण गरिसकेपछि सचिवालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै सदस्य सचिव श्रेष्ठले भ्रमण वर्षको सफलताका लागि पर्यटनका सबै क्षेत्रसंग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले नेपालको आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको पर्यटन उद्योगको विकास, प्रवद्र्धन र विस्तारले उद्योगका अन्य क्षेत्रलाईसमेत समेट्ने भएकोले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सबै नेपालीहरुको महाअभियान भएको बताउनुभयो । यसको सफलताका लागि सबैले लागि पर्नका लागिसमेत अनुरोध गर्नुभयो । श्रेष्ठ जिम्मेवार पर्यटन नीति तथा अभ्यास विषयमा विद्यावारिधीको शोधार्थी हुनुहुन्छ ।