नायब सुब्बा गुप्तासँग स्रोत नखुलेकाे १५ करोड सम्पत्ति !

नायब सुब्बा गुप्तासँग स्रोत नखुलेकाे १५ करोड सम्पत्ति !

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर १०, २०७६

काठमाडौँ । सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो ।

नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ । यस्तै भएको छ मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तालाई । 

  राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने लोभ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेलामा परेका छन् गुप्ता । मालपोत कार्यालयको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएका गुप्ताले २०४७  असार २७ गतेदेखि २०६४ सालसम्म वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 गुप्ताको वैध आय  चार करोड ५४ लाख ७२ हजार २४६ देखिएको छ । तर आयोगले गरेको अनुसन्धानमा गुप्ताको स्रोत नखुलेको सम्पत्ति र १४ करोड ८१ लाख ८९ हजार २३ रहेको पाइएको छ । आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति  १९ करोड ३६ लाख ६१ हजार १६९ रहेको छ ।

 आयोगले गुप्ताकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रक्की गुप्ता, अवैध सम्पत्ति लुकाउन सहयोग पुर्‍याउने निरजकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादव विरुद्धसमेत मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरेर गुप्ताले पेट्रोल पम्प, पसललगायतमा लगानी गरेको पाइएको छ ।