डोटीमा पनि अनलाइन सेवाबाट जग्गाधनी प्रमाणपत्र वितरण

डोटीमा पनि अनलाइन सेवाबाट जग्गाधनी प्रमाणपत्र वितरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ११, २०७६

डोटी । जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । 

सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो ।

उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलोपटक अनलाइनमार्फत सेवा शुरु गर्‍यौँ र पहिलो सेवाग्राही शाही हुनुभएको छ ।’ पहिलो सेवाग्राही हुनुभएकी शाहीसहित जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको मालपोत कार्यालयले जनाएको छ ।

अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ सरकारी कार्यालय हो । सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवाबाट शुरु गरिएको र यसलाई जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनलाइन प्रणालीमा लालपुर्जा राखिएपछि न हराउने डर, न चोरी हुने डर, कसैले झुक्याएर पनि कारोवार गर्न सक्दैन ।’ यतिमात्र नभई अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजश्वबारे हिसाब गर्न सक्ने र कारोवार भएमा यसको जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको छ ।