दुई वर्ष ‘सरौंतो’ को लागि खर्चिए :  सुमी

दुई वर्ष ‘सरौंतो’ को लागि खर्चिए :  सुमी

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर ११, २०७६

काठमाडाैं । यही मंसिर १३ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौतो’ मा अभिनेत्री सुमी मोक्तान प्रमुख भूमिकामा छिन् । सन् २०१२ की ‘मिस तामाङ’ समेत रहेकी उनले यसअघि ‘झ्यानाकुटी’, ‘दुई रुपैयाँ’ लगायतका केही फिल्ममा केमियो भूमिकामा काम गरे पनि लिड रोलमा खेलेको यो पहिलो फिल्म हो । 
 
अमेरिकामा मनोविज्ञान विषय पढेर नेपाल फर्किएकी सुमी हरि हुमागाईं निर्देशित फिल्म ‘सरौतो’ मा फरक क्षमता भएको महिलाको भूमिका निभाएकी छन् । फिल्ममा उनले बोलेको संवाद सुन्न पाइने छैन । उनले सांकेतिक भाषाको माध्यमबाट संवाद बोलेकी छन् । यसकारण पनि यो फिल्ममा निर्वाहा गरेको भूमिका उनका लागि चुनौतीपूर्ण थियो । 

फिल्मले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउनेमा विश्वस्त छन् । ‘सरौतो’ मा एक्सन अवतारमा प्रस्तुत भएकी उनले यसका लागि आफूले निकै मेहेनत गरेको बताउँछिन् । उनी भन्छिन्, ‘मैले दुई वर्ष यही फिल्मका लागि खर्चिएकी छु । एक्सनमा आफूलाई तयार पार्न डेढ वर्ष मार्सल आर्टको तालिम लिएँ । सात महिनासम्म सांकेतिक भाषा पनि सिकेको थिएँ ।’
 
यस फिल्मका लागि दुई वर्ष खर्चिँदा आफूले थुप्रै प्रोजेक्ट गुमाउनु परेको उनी सुनाउँछिन् । थोरै फिल्म गर्ने तर फिल्म क्षेत्रमा एक प्रकारको छाप छाड्ने दृढ संकल्प बोकेकी सुमी ‘सरौतो’ मा आफ्नो अभिनय र भूमिकालाई दर्शकले रुचाउनेमा विश्वस्त छिन् । फिल्ममा उनले अभिनेता सन्नी सिंहसँग रोमान्स गरेकी छन् ।  
 
लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाहलगायतका कलाकारहरुको पनि अभिनय रहेको यो फिल्ममा सुमीको पिताको भूमिकामा कलाकार विजय लामा छन् । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको ‘सरौंतो’ बदलाको कथामा आधारित फिल्थामको कथा राघव कृष्ण गौतमले लेखेका हुन् । उत्तम हुमागाईंले फिल्म खिचेका हुन ।