चमकधमकको भुमरीमा विवाह ! पुरोहितले गराउने कि क्यामरामेनले !!

चमकधमकको भुमरीमा विवाह ! पुरोहितले गराउने कि क्यामरामेनले !!

रूपक अलङ्कार  |  दृष्टिकोण  |  मंसिर ११, २०७६

मंसिर महिना घरबार गर्ने महिना हो । असार लागेपछि खेत रोप्नतिर लाग्नुपर्छ भनेजस्तै मंसिर लागेपछि विवाह गर्नतिर लाग्नुपर्छ भन्ने नै बुझिन्छ । हुनत विवाहका लागि अरू महिना पनि छन् तर मंसिरमा विवाहको समय अन्तर्भूत भएको छ हाम्रा सन्दर्भमा । खासमा दक्षिणायन (साउनदेखि माघसम्म)मा विवाहादि विशेष कार्यहरू गर्नुहुन्न भन्ने मान्यता पनि छ । तर, विवाहपञ्चमी नै मंसिरमा पर्ने हुनाले कुरो अर्काे भयो । 

नेपाली समाजले करिव करिव सबै महिनामा हुने विवाहलाई पचाउन थालिसकेको छ । संंस्कार र संस्कृतिलाई पैसाले जितेपछि यस्तो हुनु अस्वाभाविक हो जस्तो लाग्दैन । विवाहले सांस्कारिक महत्त्वलाई बिर्सिदै सामाजिक बाध्यतालाई स्वीकार्न थालेको देखिन्छ । भन्न खोजेको के हो भने विवाह हिन्दु संस्कृति वा धर्ममा एउटा संस्कार हो । जन्मात् मृत्युपर्यन्तका विभिन्न संस्कारमध्ये एकदम महत्त्वपूर्ण संस्कारका रूपमा विवाहलाई लिइन्थ्यो । 

विवाहका लागि जातपात मात्र नभएर  गोत्र, प्रवर, जन्मकुण्डली आदिको मिलान गरी सबैतिरबाट उचित ठहर भएपछि मात्र शुभमुहूर्त विचार गरी विवाह गर्ने परंपरा हाम्रो समाजको विशिष्टता हो । हुनत यसो गर्दैमा वैवाहिक जीवन रसमय हुन्छ भन्ने पुष्टि हुँदैन, नत्र भने 'ज्योतिषका घरमा राँड' वैद्यका घरमा गलगाँड' भन्ने उखान बन्दैन थियो होला । जे होस्, विवाहलाई विशेष महत्त्व दिने गरिन्छ हरेक समाजमा । 

तर, विवाहले धार्मिक परिवन्दलाई भन्दा  सामाजिक विवशतालाई बढी महत्त्व दिनुपरेको परिस्थिति अहिलेको यथार्थ हो । एक जना हितैषीले छोराको विवाहको निम्ता दिए, म अचम्ममा परेँ । उनले नातिको फोटो फेसबुकमा राख्न थालेकै दुई वर्ष भएको थियो । फेरि यो के हो ? उनको एउटा छोरो मात्र भएको कुरा त जगजाहेर नै छ । 

परिवर्तनको सबैभन्दा बढी लेप विवाहमा लागेको पाइन्छ । विवाह कसरी गर्ने भनेर नयाँ पद्धति लेख्नुपर्ने भइसकेको छ । पहिले त विवाह पुरोहितले गराउने कि क्यामरामेनले गराउने भन्ने समस्याको निर्क्योल हुनु जरुरी छ । 

पछि उनले नै कुरा बुझाए, छोराले अमेरिका गएर उहीँ विवाह गरेछ । दुई-तीन वर्ष अमेरिका नै बस्दा नाति त भइहाल्यो । अब अहिले बिदा मिलाएर स्वदेश आउँदै छ । यही मौकामा आफ्नो रीतिरिवाजअनुसार विवाह त गरिदिनै पर्‍यो नि ! अब यस्ता विवाहलाई के विवाह भन्ने ?

सामाजिक भन्ने कि धार्मिक ? पहिला सन्तान जन्माएर अनि विवाह संस्कार गर्ने चलन त हाम्रो हैन । न त्यस्तो विवाहको कुनै विधि नै छ । यस किसिमको विवाह गरेर उनले दिन खोजेको सन्देश के हो ? 'मेरो छोरो अमेरिका निवासी हो । नाति त झन् उहीँ जन्मेको । ल हेर मेरो भाग्य !' भन्न खोजेको हो कि ? विवाह संस्कार नगर्दा जातिच्यूत भइन्छ भनेर हो कि ? धर्म, संस्कृति जोगाउन खोजेको हो कि ? 

मलाई लाग्छ, अहिलेको परिवेशले मानिसलाई यस्तो वैमुढ्यको अवस्थामा पुर्‍याएको छ कि यही  गर्नुपर्छ भन्नुभन्दा अर्काले जे भन्छ, त्यही गर्नुपर्छ भन्ने अवस्थामा हामी बाँचिरहेका छौँ । उपर्युक्त किसिमको विवाहको  औचित्य सामाजिक शानको खेतीभन्दा बढी के होला र ?

आफ्नो दुनो सोझ्याउन गरिने विवाहको बिगबिगी पनि छ हाम्रो देशमा । विदेश जानेहरूले यस्तो विवाहको खेती चलाएका छन् । अमेरिका, क्यानडा, अस्ट्रेलिया नै जान पाउने भएपछि जस्तोसुकै नैष्ठिकहरू पनि यस्ता वैवाहिक सम्बन्धप्रति नतमस्तक हुँदारहेछन् । कात्तिक होस् वा चैत, विवाहको लगन निकालिहाल्छन् । माला भिराएर विदेश पठाइहाल्छन् । यसलाई नि क्रिस्चियनको षडयन्त्र भन्नु अब ? आफ्नो दरिद्र मानसिकतालाई गाली गर्नेचाहिँ कहिले ? 

विवाह नै गर्ने हो भने विवाहको मान्यता र विधिलाई पनि ख्याल गर्नुपर्ला नि त ! कि विवाहलाई फेसन बनाउने मात्र हो ?

हुनत हाम्रा सबै संस्कारहरूमा विकृति आएका छन् ।  यसलाई भलादमीहरू परिवर्तन भन्ने गर्छन् । समाजशास्त्रीहरू समाज विकासको विशेषता मान्छन् होला । प्राचीन स्वरूपलाई यथावत् राख्न पनि सकिँदैन । परिवर्तन स्वाभाविक प्रक्रिया हो पनि तर जतिसुकै परिवर्तन भए तापनि चिनी परिवर्तन भएर नुनिलो त बन्दैन  होला । 

परिवर्तनको सबैभन्दा बढी लेप विवाहमा लागेको पाइन्छ । विवाह कसरी गर्ने भनेर नयाँ पद्धति लेख्नुपर्ने भइसकेको छ । पहिले त विवाह पुरोहितले गराउने कि क्यामरामेनले गराउने भन्ने समस्याको निर्क्योल हुनु जरुरी छ । 

विवाहको उत्तराधुनिक चमकधमकको भुमरीमा विवाह विधिको यसरी घाँटी थिचिएको छ कि संस्कारको सास जान मात्र बाँकी छ । अझ विवाह गराउने पुरोहितको हालत टीठलाग्दो नै हुन्छ । उसका मन्त्रहरू जग्यको धुँवासँगै उड्छन् । के गर्ने ? के गराउने ? कसलाई मतलब । जसोजसो बाहुन बाजे, उसोउसो स्वाहा । बिचरा बेहुला बेहुलीले पनि गरून् के ? पुरेतका कुरा सुनून् कि क्यामेरामेनलाई हेरेर मुस्कुराउन् ? आखिर विवाहको अनिवार्यता के हो ?