कथाकारहरू उषा शेरचन, भागिरथी श्रेष्ठ तथा नारायण ढकाललाई ‘कविडाँडा विशिष्ट सम्मान’

कथाकारहरू उषा शेरचन, भागिरथी श्रेष्ठ तथा नारायण ढकाललाई ‘कविडाँडा विशिष्ट सम्मान’

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर १२, २०७६

 चितवन । नेपाल प्रज्ञा–प्रतिष्ठान, आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले कथा लेख्नका लागि यसको सैद्धान्तिक जानकारी राख्नु वा धेरै अध्ययन गर्नु आवश्यक नरहेको बताउनुभएको छ ।

आफ्नै कथाकारितालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै उहाँले आफूले देखेभोगेका अनुभव र अनुभूतिहरूको कलात्मक प्रस्तुति मात्रैले पनि राम्रो कथा सिर्जना गर्न सकिने अभिमत व्यक्त गर्नुभएको हो ।

कविडाँडा साहित्य समाज, चितवनको १७ औँ वार्षिकोत्सवका अवसरमा सौराहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्राज्ञ ठकुरीले उक्त कुरा बताउनुभएको हो ।

 समाजका अध्यक्ष एलबी क्षेत्रीको सभापतित्वमा सम्पन्न समारोहमा प्राज्ञ ठकुरीले कथाकारहरू उषा शेरचन, भागिरथी श्रेष्ठ तथा नारायण ढकाललाई ‘कविडाँडा विशिष्ट सम्मान’बाट सम्मानित गर्नुभएको थियो । उक्त अवसरमा कथाकार महेश थापालाई उहाँको कथाकृति ‘मरीचिका’का लागि ‘उत्कृष्ट आख्यान पुरस्कार २०७५’ बाट पुरस्कृत गरिएको थियो ।

यसै गरी ‘अविनाशी उत्कृष्ट पुस्तक पुरस्कार’बाट आख्यानकार भूपिनलाई सम्मानित गरियो भने स्थानीय साहित्यकार इन्द्र रेग्मीलाई ‘देवखिना स्मृति पुरस्कार’ प्रदान गरियो । समाजले आयोजना गरेको ‘कविडाँडा राष्ट्रिय कथा प्रतियोगिता २०७६’मा  पुण्य खरेल प्रथम, मुना चौधरी दोस्रो तथा कथाकारहरू मन्दिरा मधुश्री र इन्द्रबहादुर भण्डारी तेस्रो हुनुभएको थियो ।