जवाफको खोजीमा

जवाफको खोजीमा

प्रशान्त उप्रेती  |  साहित्य  |  मंसिर १४, २०७६

खै कहाँबाट सुरु गरूँ ?  

दिन पनि ४८  घण्टाको भइदिए होस् जस्तो लाग्न थालेको छ अचेल ।

दिनहुँ हुने दौडधुप, कार्य व्यस्तता,  भेटघाट, पारिवारिक समस्या, पेसागत समस्या इष्टमित्र , मान्यजन, साथी भाइ भाइका गुनासो , सामाजिक सञ्जालका बहस,  नेपाली राजनीति,
सबैलाई  सुन्दासुन्दै , झेल्दा झेल्दै  दिनले सुइकुच्या ठोकेको पत्तो हुदैन्  ।

अचम्म लाग्दो कुरो चाही दिनभर सँगै छलफल मा दिन काटेको मित्र सँगको भलो कुशारी ले एउटा  राम्रो निर्णय लियो भनेर दङ्ग परेर घर फर्कियो।
बहूमुखी उद्देश्यका लागि हुने भेटघाटमा निष्कर्ष भने कडा नै निस्केको थियो लाग्छ सबै नेपाली हामी बुद्ध भएछौँ ।

गर्व छ नेपाली हुनुमा।

उसको विचार त यस्तो थिएन कसरी यस्तो विचार राख्यो त आज रु

अर्को साथीले म त सुध्रिए यार सङ्गतले पनि फरक पार्दो रहेछ 

अब म त पार्टी राजनीति सब गोली मारी दिए ।

आफ्नो नगरी खान पाइन्न क्या रे ?

सिर्फ समाज सेवा गर्ने हो ।
हैट के हो कडा पो दियो त साथीले ।

भन्न त मेरा परम मित्र सुदर्शनले भाषा सिक्न विश्वभाषाको प्राङ्गणमा भौतारिदा  भनेको कुरा अझै मेरो मस्तिष्कमा  छाप बनेर बसेको छ बाच्नु पर्छ अनि यी २ आँखा सद्धे हुनुपर्छ सर के-के पो देख्न पाइन्छ त्यही सत्य भएर आए जस्तो पो लग्यो मलाई ।

फेरि मन ले अनेक प्रश्न तेर्स्यायो ।

के नमिले के नमिलेजस्तो लाग्यो।

फेरि  एक मनले भन्यो- 'बबुरो ! चुप लाग तँ, जेमा पनि शंका केका लागि ?
मनले जित्यो यस पटक ।

कुटी छिर्दा नछिर्दै मापसे चेकपछि श्रीमती भन्छिन्- 'अचम्म पो भो आज त ! किन केही नपिई आ'को ?'

गज्जब छ यार ! खाए पनि सुख छैन, नखाए पनि !

मनभित्र दह्रो ज्वालामुखी विस्फोट भए पनि हँसिलो मुहार बनाएर 'म जँड्याहा हो र सधैँ पिउन ?' भनेपछि घरमा अनि श्रीमतीज्यूको मुहारमा पुरै दीपावली हुन्छ ।

प्रसन्न मुद्रामा 'लु हजुर थाकेर आउनु भा'को छ, भोजन तयार छ, आई हाल्नुस् नत्र सेलाउँछ । भोलि बिहान छोरो स्कुल तपाईंले पुर्‍याउने रे ! छोरोले अघि सबैको बाबाले स्कुल छोड्न अनि लिन आउँछन् भन्यो । यस्तै ताल हो भने छोरोले बाउ नचिन्ला रे !'

खोइ के बुझूँ मैलेर ? राम्ररी सुसु आयो त भन्न नजान्ने छोरोले येत्तिको कुरो गर्‍यो होला र ? तैपनि मेरा जिम्मेवारी पनि त केही होलान् नि बाउ हुनुमा ।

भकुन्डे भुँडीलाई पूजा गर्न सगरमाथा नै छेक्ने गरी श्रीमतीज्यूले प्रेमले पस्केको भुजा ज्यूनार नगरे कुटीमा अँध्यारो छाउला भन्ने पीर ।

सकी नसकी कति पटक निलेको छ सगरमाथा यो ज्यानले भन्दा पत्याउने कमै छन् ।

पत्याउन् पनि कसरी ? जो ज्यान छ ५२ किलोको । 'सुकेको ज्यानमा लुकेको बल हुन्छ' भन्दै म पनि केटाकेटी तर्साउँदै  हिँड्छु।

मनलाई शान्ति दिने बाटो । पेट पूजापछि बिस्तरा पुग्दाको दृश्य भने अचम्मको हुन्छ । एकछिन् त रिसले चुर हुन्छु । मान्छे न हुँ, दिनभर कामको थकान, अनेक बाधा विघ्नले चुटिएको  शरीर । छोराले बिस्तरालाई पूरै दशरथ रंगशाला नै बनाएर छोड्छ ।

पानीजहाज, रेल, बाघ, भालु, बाँदर, पुस्तक, रङ रोगनका समान, त्यतिले नपुगेर उसका नयाँ जुत्ता अनि २-४ गाडी पनि विश्राम लिइरहेका हुन्छन् ।

नखाऊँ दिनभरिको सिकार, खाऊँ कान्छा बाको अनुहार भनेजस्तै हुन्छ ।

भोलि त यसलाई मज्जाले सम्झाउँछु भनेर दह्रो संकल्प गर्छु ।

हाँडीको पिँध जस्तो कालो अनुहार लगाएर हतारहतार पन्छाउँछु बिस्तराबाट ।

दिनभरको भेटघाट, काम अनि इष्ट मित्रसँगको छलफलको निचोड देखेर दङ्ग पर्छु । आज त ठूलै उपलब्धि पो भो भनेर के टाउको राख्छु सिरानीमा, २ सेकेन्डमा ज्यान चिरनिद्रामा ।

भोलि बिहानै ७ बजे नै छोरोको दादागिरि सुरु हुन्छ- पापा, पापा,पापा !

लाग्छ, उसले पहिलो पटक प्रत्यक्ष देख्दै छ उसको पिता अनि बोलाउँदै छ । नभनोस् पनि कसरी ? आइतबार झुलुक्क देख्छ होइन भने  एउटै छानामुनि बसेको भन्नु मात्र हो ।

सुनेको नसुन्यै गरी के बस्यो २-४ मिनेट छोरोको साहित्य सुरु हुन्छ ।

झ्याल देखाउँदै 'मज्जाले घाम आयो हेर्नू त ।'

उठ्नै पर्‍यो । रातीको अस्तव्यस्त बिस्तराको रिस पनि झार्छु भनेर के उठ्यो, फिसिक्क हाँस्छ मलाई हेर्दै
अनि भन्छ, 'चिया खाने पापा ?'

सबै बिर्सिएर 'हस्' पो भनेछु ।

रिस त कता पो कुदेछ मिलिक्कै ! सेकेन्डमै ।

सन्तान को प्रेम जो छ । खैर !

चिया टिप्न पाउन नपाउँदै फेरि त्यही दिनचर्या, दौडधुप, कुदाकुद ।

आधा बाटो पुगेपछि जाडोले करङलाई नमीठो दनक दिएपछि पो थाहा भो कि आङ त आधा ढाक्न बिर्सेछु । दिउँसो साथीलाई दिनुपर्ने नासो छुटेछ- सिगरेट  ।

चुरोट छुट्नुअघि अघिल्लो दिन श्रीमतीले भेटेँ भने पारपाचुके गर्छु भनेकी छे यार ! भनेर यसो कमिजका खल्तीमा फ्यास्स राखिदे'को सिगरेटको डिब्बा । त्यो पनि नलगे साथीले फेरि सबलाई विश्वास गर्नु, यसलाई नगर्नु भनेर दिनभर दिइरहन्छ भाषण ।

के गरूँ, मन दोधारमा छ । होस्, केही छैन, धेरै जिद्दी गरेछ भने किनिदिउँला एक बट्टा सिगरेट । २ मिनेटले रेल छुट्यो भने पूरा दिन नै अस्तव्यस्त हुन्छ । जोखिम नलिऊँ ।

कार्यस्थल पुगेपछि कफीको चुस्कीसँगै एक पटक पूरा ब्रह्माण्ड घनचक्कर लाग्छ- हाम्रा सहकर्मी मित्रहरूसँग ।

राजनीति, खेल, युद्ध, अमेरिका, सिरिया, अफ्रिका, बंगलादेश सबै भएपछि बल्ल आङ तान्दै सुरु गर्छु काम । २ घण्टाजति काममा मन दिएपछि फेरि मनले विश्राम माग्छ । एक पटक सबैको आँखा छली फुत्त मोबाइलमा फेसबुक त हेर्नै पर्‍यो ।

फेसबुक हेर्दा म बेहोस ! हिजो त्यत्रो संकल्प गरेको पात्र त पूरै राजनीतिक दम्भ राखेर बडो घमासान युद्धमा पो रहेछ । त्यो पनि आफ्न्नै नेपाली दाजुभाइसँग । त्यो पनि अर्थ न बर्थको विषयमा।

म त मट्टीतेल सकिएको लालटिन जस्तो पो भएँ । बाटो हराएको यात्री जस्तो भएँ । जिउ लल्याकलुलुक भएर आयो- गलेको कर्कलो जस्तो । अघिल्लो दिनको सम्झनाले झन् पिरोल्यो । सबै बुद्ध भएर सँगै निस्केको १२ घण्टा बित्न पा'को छैन, यस्तो छ ताल ।

राजनीति छाडेर समाज सेवामा मात्र लागेको मान्छे । सहीलाई सही, गलतलाई गलत भन्ने मान्छे । आफ्नालाई होइन, राम्रालाई समर्थन गर्ने भन्ने मान्छे । आखिर भएछ त के रातारात ? हिजो दिउँसो सँगै एउटै चियादानीमा पाकेको चिया खाएका थियौँ, सोम रस पनि थिएन त्यो !

खाना त के, एक झोक्का वायु पनि निल्न मन छैन । बेचैन छ दिल । लाग्छ, पहिलो भेटमा जाँदै छु प्रेमिका भेट्न । के सोध्छिन् उनले ? के म योग्य छु होला उनका लागि ? मेरो पारा मनपर्ला उनलाई ? आदि इत्यादि ।

मलाई बुझ्न गारो भयो । दिमागले काम गरेन जस्तो लाग्यो ।

सँगै काम गर्ने सहकर्मीले प्रश्न तेर्स्यायो, 'के भो एक्कासि ? सन्चो छैन्न भने घर जा, म मिलाउँछु ।'

भाषा नमिल्ने भए पनि उसले मेरो चेहरा हुबहु कस्तो पढेछ ! अचम्म लाग्यो !

मन मानेन । प्रश्नकJ भेल बगेको छ । लाग्छ कि रोकिनेवाला छैन । जवाफ मसँग छैन । प्रसंग बदल्न, मन भुलाउन एक प्याक लगा' भन्छ एक मनले । फेरि जिम्मेवारी जो छ कामको भन्छ मस्तिष्कले । दोधारमा छ यो मांसपिण्ड ।

म पनि उस्तै, अरू धेरै मान्छे जस्तै प्राय: सधैँ दुई मन बोकेर हिँड्छु । एक मनले भन्यो, आज लगा' एक प्याक मन भुलाउन । अर्को मन मानेन । काममा त कहिल्यै पिएको थिइनँ तर आज !

मनोवादमा अल्झिए दुवै मन एकछिन् ।

फेरि एक्कासि श्रीमतीज्यूको वाणी याद आयो- 'फेरि आज पनि कुकुरको मुत ...!'

लु भो, परेन ।

फेरि विना कामको भार हुँदा पनि पृथिवी नै बोकी हिँडेजस्तो भार भा'को छ । निस्सासिएको छु भित्रभित्रै । लाग्छ, एउटा इट्टाभट्टी नै चलिरहेको छ मभित्र ।

१२ घण्टा पनि नटिक्ने संकल्प कसरी गर्दा हुन् मानिस ? फेरि भेटघाट नै नहुने जस्तो, एकै समाजमा बस्नु छ जो ।

फेरि २-४ सन्तानका मातापिता हुन्, नाबालक भए पनि हो बुद्धि पुगेन होला भन्नु ।

खोइ के मिलेन के ? मन त हो एकोहोरो छ । उसको के जान्छ र बस् ढिपी गरिदिए भो ।

सोच्दासोच्दै काम पनि सकियो । केके भयो काममा, कस्तो गरेँ काम, को आए, को गए ? केही पत्तो छैन । साथीले 'आज मुडमा छ केटो, डबल ड्युटी गर्ने विचारमा छस् कि के हो ?' भनेपछि थाहा भो कि काम सकिएछ ।

झल्याँस्छ भएँ । हतार हतार पेसागत कमिज फेरेर निस्किएँ । फेरि बिर्सेछु शिष्टाचार साथीहरूसँग ।

फर्किएँ फेरि कार्यस्थल । भित्र छिर्न नपाउँदै व्यंग्य हाने मुटु चिर्ने गरी- 'राष्ट्रपति नै बनुँला जसरी गा'थिस त !'

'सरी' भनेँ । 'भुलेछु, माफ गर, भोलि भेटौँला' भनेर बिदा भएँ ।

प्रेम कहानी सुरु हुँदा एउटा मित्रले सुनाएको कुरा याद आयो ।

'मौसम यति र‌ंगिन छ कि समाचारमा पनि नाचूँनाचूँ लाग्छ अचेल यार !'

कुनामा बसेको अफ्रिकन सहकर्मीले त 'पूरै यो त प्यारमा डुब्यो जस्तो छ, को हो भन न हामीलाई नि ! खान, पिउन नै भुल्ने भनेपछि यो डुब्यो प्यारमा' भन्यो ।

'दिउँसो तिमीलाई टेलिफोन छोडेकी गोरी हो ।'

'राम्री छे, आँट' पो भन्छ ।

एक सेमिनारको मोलमोलाई गर्न आएकी त्यो पनि प्रहरी अड्डाबाट । कामको जिम्मेवारी जो छ, उसले के बुझोस् ? उमेर छ जो १८ उसको ।

'खान, पिउन नै भुल्ने भनेपछि यो डुब्यो प्यारमा', भन्यो, 'यसलाई मेरी जुनेली श्रीमतीज्यूलाई भेटाउनै पर्ने भो ।'

खाना त के, एक झोक्का वायु पनि निल्न मन छैन । बेचैन छ दिल । लाग्छ, पहिलो भेटमा जाँदै छु प्रेमिका भेट्न । के सोध्छिन् उनले ? के म योग्य छु होला उनका लागि ? मेरो पारा मनपर्ला उनलाई ? आदि इत्यादि ।

खोइ मनलाई के जवाफ दिऊँ ? पात्रहरूको निर्णयको जिम्मेवारी कसरी लिऊँ ? तर के क्षणभर नटिक्ने प्रण किन गर्नु ?

जवाफ खोज्दै छु हरेक दिन, पल । फेरि भेटघाटमा एउटा रूप, सामाजिक संजालमा अर्को रूप । पात्र त एकै हुन् !

खोइ मनलाई के जवाफ दिऊँ ? पात्रहरुको निर्णयको जिम्मेवारी कसरी लिऊँ ?

तर के क्षणभर नटिक्ने प्रण किन गर्नु ?