‘साङ्लो’ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

‘साङ्लो’ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १३, २०७६

काठमाडाैं । ‘एक्सन स्टार’ विराज भट्टको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरीले काफल’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा विराजसँग पूर्व मिस नेपाल निकिता चाण्डकले ठुम्का लगाएकी छन् ।

लोक शैलीमा तयार पारिएको गीतको अडियो र भिडियो दुबै राम्रो छ । तर, गीतमा मेकिङ क्वालिटी देखिन्न । यद्यपि, विराज र निकिताको केमेस्ट्री भने सुहाएको देखिन्छ । निकिताको ‘साङ्लो’ डेब्यू फिल्म भएका कारण धेरैमा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता छ । गीतमा उनको एक्सप्रेसन र हाउभाउले फिल्ममा पनि राम्रो अभिनय गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।विराज आफैले निर्देशन गरेकाले पनि चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता दर्शकमा छ ।

माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन जनराको यो फिल्मको हाइप यस गीतले निर्माण गर्नेमा निर्माण टिम आशावादी छ । गीतको अन्तिममा विराज टपलेस अवतारमा देखिएका छन् । जसले दर्शकमा फिल्मप्रति झनै कौतुहलता जागृत गर्ने देखिन्छ । यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । 
 
मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि उनले फिल्म ‘लभ स्टेशन’ मा पनि भिलेनको भूमिका निभाएका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा विराज र निकिताका अलावा कामेश्वर चौरासिया, जयनन्द लामा, आर।पि। पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । 

भिडियो यहाँ हेर्न सकिन्छ