पुरुष भलिबलमा आज नेपाल र भारत भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

पुरुष भलिबलमा आज नेपाल र भारत भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १३, २०७६


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा नेपालले दक्षिण एसियाको पावर हाउस मानिने भारतको आज (शुक्रबारं) सामना गर्दैछ।

नेपालले प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतसँग खेल्न लागेको हो। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ।

भारतसँग लगातार पराजित भइरहेको नेपाललाई सेमिफाइनल सम्म पुग्न भारतसँगको खेल जित्नै पर्ने दबाब छ । सागको तयारीका लागि भारतसँगका तीन मैत्रीपूर्ण खेलमा पनि नेपाल सोझो सेटमै पराजित भएको थियो।

जारी प्रतियोगितामा नेपालको सुरुवात सुखद हुन सकेन । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ३–२ले पराजित भएको थियो ।

भारत भने प्रतियोगिताको पहिलो खेल खेल्दैछ।

आजै हुने समूह ‘बी’को खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे प्रतिस्पर्धा गर्दैछन्।