नवलपुरमा कारागारमा कैदीबन्दी राख्ने ठाउँ अभावमा १४२ चितवन स्थान्तरण !

नवलपुरमा कारागारमा कैदीबन्दी राख्ने  ठाउँ अभावमा १४२ चितवन स्थान्तरण !

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर १३, २०७६

कावासोती । नवलपरासीपूर्व नवलपुरमा कारागार नहुँदा कैदीबन्दी राख्न समस्या भएको हुँदा जिल्ला प्रहरी कार्यालयले कैदीबन्दीलाई छिमेकी जिल्लामा रहेको कारागार पठाउनुपर्ने बाध्य भएककाे जनाइएकाे  छ ।

नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भएपछि जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्व दुई वर्षअघि स्थापना भएको हो । यहाँ कारागार नहुँदा कैदीबन्दीलाई चितवनस्थित कारागारमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । 

जिल्लामा कारागार नहुँदा कार्यालयलाई आर्थिक भारसमेत थपिएको उहाँले बताउनुभयो । जिल्ला बाहिरका कारगार ल्याउने लैजाने गर्दा यातायात खर्च बढेको उहाँले जानकारी दिनुभयो । अर्कोतिर सुरक्षाकर्मीलाई कैदीबन्दी लिएर चितवन पठाउनुपर्दा जनशक्ति अभावसमेत हुने गरेको उहाँले बताउनुभयो ।
 
जिल्लामा कारागार निर्माण गर्ने बारेमा सम्बन्धित पक्षसँग छलफल र पहल गर्ने काम भइरहेको छ । नयाँ जिल्ला भएकाले सबै संरचना नयाँ निर्माण गर्नुपर्ने हुँदा केही अप्ठ्यारो परेको उहाँको भनाइ छ । स्थानीय तह तथा केन्द्रका सरोकारवाला पक्षसँग कारागार निर्माणका लागि पहल गरिरहेको रानाभाटले बताउनुभयो ।
 
नवलपुरबाट चालू आर्थिक वर्षको अहिलेसम्म ६३ कैदीबन्दीलाई चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका टीकाराम पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार चार महिला र ५९ पुरुष रहेका छन् । यस्तै गत आर्थिक वर्षमा तीन महिला र १३९ पुरुष गरी १४२ कैदीबन्दीलाई चितवन कारागार पठाइएको पोखरेलले जानकारी दिनुभयो ।