दोहोरी ब्याटल: अशिष्ट र अमर्यादित परम्पराको जगदेखि लोकप्रियताको शिखर चुम्ने खुड्किलोसम्म
मंसिर १३, २०७६

हिप हप, र्‍याप, ब्याटल र्‍याप, दोहोरी ब्याटलजस्ता साङगीतिक शब्दाली युवा पुस्तामाझ हिजोआज बिछट्टै लोकप्रिय छन् । देउडा, हक्पारे, ठाडो भाका, रोइलाजस्ता लोकपरम्परासँग गाँसिएका शब्द क्रमिक रूपमा लोप हुने  अवस्था छन् ।

सूक्ष्म किसिमले हेर्ने हो भने नेपालको साङ्गीतिक माहोलमा नचिताएको फेरबदल आइसकेको छ । यो क्रम निरन्तर जारी छ । दुनियाँ परिवर्तनशील छ । त्यसमा पनि सङ्गीत त झनै बढी गतिशील र परिवर्तनशील छ । अहिले परम्परागत गीतलाई पछि पार्दै ‘ब्याटल र्‍याप’, दोहोरी ब्याटलजस्ता साङ्गीतिक शैली अस्तित्वमा आइसकेका छन् ।

यो लेखमा नेपालमा आएको दोहोरी ब्याटलको टेन्ड्रबारे सानो चर्चा गर्ने प्रयास गरिएको छ । दोहोरी ब्याटलचाहिँ ‘ब्याटल र्‍याप’ बाट प्रभावित भएको देखिन्छ । यहाँनेर, ‘ब्याटल र्‍याप’ बारे केही कुरा राख्न आवश्यक छ । 

ब्याटल र्‍यापको कुरा गर्दा यसमा प्रयुक्त ‘ब्याटल’ शब्दले नै धेरै कुरा बोलिसकेको छ । ‘ब्याटल’ को सोझो अर्थ हो, लडाइँ । मूलतः ‘ब्याटल र्‍याप’ शाब्दिक लडाइँ हो । एक अर्थमा यो शब्दको भनाभन हो । यसमा आफ्नो प्रतिस्पर्धीको सातो खाइन्छ । अमेरिकी अश्वेत समुदायमा सन् १९८० को दशकमा र्‍याप ब्याटल शुरु भएको मानिन्छ ।

‘ब्याटल र्‍याप’ मा पक्ष–विपक्षबीच भावना, अनुभूति, व्यङ्ग्य र अनुभवहरू चर्काचर्कीपूर्ण वातावरणमा साटासाट गरिन्छन् । यसमा बेलाबखतमा पक्ष–विपक्षबीच गुलाबी क्षेण हानाहान हुन्छ ।  र्‍याप ब्याटलमा शब्दको तिखो छेणखानी भए पनि यसमा व्यक्तिका बौद्धिकता, वाक्पटुता, भावुकता र कल्पनशीलता पनि झल्किन्छन् । 

यसले परम्परागत दोहोरीगीतलाई पछिल्लो बिसौनीमा छाडेर अघि बढिरहेको छ । नेपालमा लोक फ्लेबरका गीतहरूले सधैँ लोकप्रियताको शिखर चुमिरहेको छ । दोहोरी ब्याटल पनि यसको अपवाद भएन । 

‘ब्याटल र्‍याप’ सङ्गीतप्रधान नभई शब्दप्रधान सङ्गीतिक शैली हो । तर पनि यसले शब्दकै माध्यमबाट बेजोड पाराको रसरङपूर्ण वातावरण तयार पार्छ । र्‍याप ब्याटलमा चलेको शब्दयुद्धबाट दर्शकले भरपूर आनन्द लिन्छन् । अहिले र्‍याप ब्याटलमा संलग्न कलाकारका ‘फ्यान फलोवर’ हरूको संख्या निरन्तर बढ्दो छ ।
अमेरिकी सडकहरूबाट लगभग चार दशक अघि शुरु भएको र्‍याप ब्याटलको लोकप्रियता संसारभर फैलिएको छ । विश्वव्यापीकरणको तीव्र प्रभावले छोपेको नेपाल यसको अपवाद हुने कुरै भएन । 

नेपालमा पनि प्रतिभाशाली र्‍यापरहरूको संख्या बढ्दै गएको छ । साथै, फ्यानहरूको भीड पनि भयानक दरमा बढ्दो छ । यु ट्युबमा राखिएका ‘ब्याटल र्‍याप’ का भिडियोहरूको भ्यु उल्लेखनीय रूपमा बढेको छ । ‘ब्याटल र्‍याप’ को श्रीवृद्धिमा यम बुद्धजस्ता र्‍यापरहरूको योगदान देखिन्छ ।

नेपाली सङ्गीत प्रयोग र परीक्षणको चरणबाट गुज्रिरहेको छ । यो विश्वव्यापी ट्रेन्ड नै हो । यस क्रममा नेपाली गीत र पश्चिमा शैलीका गीतबीच दशकौँ अघि नै अन्तरघुलन भइसकेको देखिन्छ । अन्य गीतको तुलनामा लोकगीत पश्चिमा शैलीका गीतबाट कम प्रभावित देखिन्छ । तर, अब त्यो अवस्था रहेन ।

नेपाली लोकगीतमा पनि पश्चिमा शैलीका गीतको ‘फ्युजन’ भइसकेको छ । यसको ज्वलन्त दृष्टान्त हो, दोहोरी ब्याटल । दोहोरी ब्याटल ‘ब्याटल ¥याप’ बाट प्रभावित साङ्गीतिका शैली (जान्र) हो । यसमा दोहोरी गीत र ‘ब्याटल र्‍याप’ दुवैको विशेषताहरू भेटिन्छन् । यो वर्णशंकर गीत हो ।

एकातिर दोहोरी गीतको फ्लेबर, अर्कोतिर ‘ब्याटल र्‍याप’ फ्लेबर । दोहोरी ब्याटल युवाहरूबीच निकै लोकप्रिय छ । चुलिँदो ‘भ्युवरसिप’ ले यो तथ्यलाई प्रष्ट पार्छ । दोहोरी ब्याटल नेपाली संस्कृति र पश्चिमा संस्कृतिको दोभान बनेको छ । यु ट्युबमा राखिएको छ महिना पुग्दानपुग्दै ‘दोहोरी ब्याटल–२’ को भ्यु १३ मिलियन नाघिसकेको छ । 

यसले परम्परागत दोहोरीगीतलाई पछिल्लो बिसौनीमा छाडेर अघि बढिरहेको छ । नेपालमा लोक फ्लेबरका गीतहरूले सधैँ लोकप्रियताको शिखर चुमिरहेको छ । दोहोरी ब्याटल पनि यसको अपवाद भएन । 

दोहोरी ब्याटल प्रयोग भएका शब्द तथा शब्दावली, आधुनिक पहिरन, संवाद, सुटिङ स्थलको चकमधमकपूर्ण वातावरणले युवापुस्तालाई हदैसम्म आकर्षित तुल्याएको देखिन्छ । भिडियोलाई आकर्षक बनाउन अपनाइएको छलयोजना (म्यानिपुलेटिभ टेक्निक्स) ले पनि धेरैको मन जितेको देखिन्छ । भिडियो निर्माताको सिर्जनशीलतालाई मान्नैपर्छ ।

दोहोरी ब्याटलको अभूतपूर्व लोकप्रियताले नेपालको साङ्गीतिक माहोलमा केही गम्भीर प्रश्नहरू जन्मेका छन् । दोहोरी ब्याटल दोहोरीगीतको फ्लेबरमा आएर पनि यसले मौलिक दोहोरीगीतको जग नै भत्काएको देखिन्छ ।  

परम्परागत दोहोरी गीत विनयशीलता र शिष्टता, सार्वजनिक मर्यादाको अर्को नाम हो । मौलिक दोहोरीगीतमा आफूलाई निम्न श्रेणीमा राखेर समकक्षीलाई उच्चकोटिमा राख्ने प्रचलन छ । समकक्षीलाई उच्च सम्मान गरिन्छ । जस्तैः ‘म त हजूर डढेलोको ठूटाजस्तो, मेरो माया पुर्नेको जूनजस्तो’ ।

यसको विपरीत दोहोरी ब्याटलको परम्परा ठ्याक्कै उल्टो छ । यसले समकक्षी सकेसम्म हेप्ने काम गर्छ । दोहोरी ब्याटलमा अपमान सूचकहरू शब्दहरू भरमार प्रयोग गरिन्छन् । जस्तैः ‘आयो तेरो मिस, चुप लाग् साला ठिस’ । समकक्षी गायक–गायिकाले एकअर्कालाई सकेसम्म खसाल्नु नै यसको मूल ध्येय हुन्छ । 

दोहोरी ब्याटल नेपाली साङ्गीतिक परम्पराको विपरीत धारमा अघि बढेको देखिन्छ । यसले लोकगीतमा विद्यमान शिष्ट परम्परालाई पूरै भत्काएको छ । यसले अशिष्ट र अमर्यादित परम्पराको जग बसालेको छ । दोहोरी ब्याटलले निम्त्याएको अशिष्ट शब्दको रणसंग्रामले विनयशीलताको छेलोखेलो भएको दोहोरीगीत परम्परालाई क्षति पुर्‍याएकोे देखिन्छ ।

यद्यपि, दोहोरी ब्याटलले मात्र नेपाली दोहोरीगीतको शिष्ट परम्परालाई क्षति पुर्‍यायो भन्नु अन्यायपूर्ण हुन्छ । पछिल्लो समयमा दोहोरीगीतमा अशिष्ट किसिमका भनाबैरी चलिसकेको छ । दोहोरी ब्याटलले यो अशिष्ट परम्परालाई थप बल दिएको देखिन्छ ।

दोहोरी ब्याटलले नेपालको साङ्गीतिक रङ्गमञ्चमा नयाँ ढाँचा र नयाँ शैली निम्त्याएकोमा खुसी मान्नुपर्ने हो । तर, त्यो भन्दा पनि यसले बसालेको अशिष्ट परम्पराप्रति चिन्ता मान्नुपर्ने अवस्था छ । कतिपय विश्लेषकले यसलाई सांस्कृतिक अधपतनको रूपमा हेर्ने गरेका छन् । 

अर्थशास्त्रीय दृष्टिबाट हेर्दा सङ्गीतमा घुसेको पूँजीवादले दोहोरी ब्याटललाई जन्म दिएको पाइन्छ । अर्कोतिर, कलाकारमा विद्यमान लोकप्रियता कमाउने सर्वजनीन मनोविज्ञानले पनि यसमा बल दिएको देखिन्छ ।

बदलिँदो समयमा यी दुवै पक्षलाई वेठीक भन्न सकिने अवस्था छैन । तर, यसले नेपाली लोकगीतको मौलिकता जोगाउन चाहनेहरूका लागि भने यक्षप्रश्न खडा भएको छ । मौलिक संस्कृतिका अनुयायीहरूका लागि दोहोरी ब्याटलको यो नयाँ विकासक्रम एउटा गहन चिन्तन–मननको विषय बनेको छ ।