१३ औं सागको मार्चपासमा नेपालको झण्डा पारस खड्काले बोक्ने

१३ औं सागको मार्चपासमा नेपालको झण्डा पारस खड्काले बोक्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १३, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको नाम सिफारिस भएको छ।

सागको प्राविधिक उपसमितिले मंसिर १५ गते उद्घाटन सत्रमा गरिने मार्चपासमा नेपालका तर्फबाट राष्ट्रिय झण्डा बोक्नका लागि पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १५ गते (आगामी आइतबार) राजधानीको दशरथ रंगशालामा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्चपास हुनेछ।

यसअघि १२ औं सागमा भएको मार्चपासमा पौडी खेलाडी श्रितिका सिंहले नेपालको झण्डा बोकेकी थिइन्।

प्रतियोगितामा भाग लिन भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंकाका करिब पाँच हजार खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी राजधानी आउने क्रम सुरु भइसकेको छ।

काठमाडौं, पोखरा र जनकपुरमा हुने प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ।