केशव भट्टराई : कुशल प्रशासकदेखि सुन्दर गीतकारसम्म

केशव भट्टराई : कुशल प्रशासकदेखि सुन्दर गीतकारसम्म

अनुरोध शर्मा  |  अन्तर्मन्थन  |  मंसिर १४, २०७६

केशव भट्टराई (६३), लामो समय सरकारी सेवामा व्यतीत गर्नुभएका व्यक्तित्व हुनुहुन्छ । शाखा अधिकृतबाट सेवा प्रवेश गरेर नेपाल सरकारको सचिवबाट अवकास हुनुभएका भट्टराई कुशल गीतकार हुनुहुन्छ ।

भोजपुरको भुल्केमा जन्मिनुभएका भट्टराईको बाल्यकाल केही समय मात्र भोजपुरमा बित्यो । बच्चामै उहाँ झापा झर्नुभयो परिवारका साथमा र त्यहीँबाट विद्यालय शिक्षा पूरा गर्नुभयो ।

कुशल पूर्वप्रशासक तथा गीतकार केशव भट्टराईको जीवनयात्रा र सिर्जनायात्राबारे यस पटक लोकसंवाद डटकमले चर्चा गर्ने प्रयास गरेको छ ।

जन्म, बाल्यकाल र शिक्षा

भट्टराईको जन्म वि. सं. २०१३ मा पूर्वी पहाडी जिल्ला भोजपुरको भुल्के भन्ने ठाउँमा भएको हो । मध्यम वर्गीय कृषक परिवारमा जन्मिनुभएका केशवको परिवार शिक्षाबारे सचेत थियो । उहाँका हजुरबुबा कुलप्रसाद आफैँ संस्कृतका विद्वान् हुनुहुन्थ्यो । बुबा खगेश्वर पनि संस्कृतका साक्षर हुनुहुन्थ्यो ।

पहाडका मनोरम प्राकृतिक दृश्य र शान्त अनि सौम्य वातावरणमा जन्मिनुभएका भट्टराई सरल र शान्त स्वभावका हुनुहुन्छ । 

केशव सानै हुँदै उहाँका बुबा तराई र भारतका विभिन्न स्थानमा गइरहनुहुँदोरहेछ । बुबालाई लागेछ, अब तराई झर्नुपर्छ । त्यसबेला तराई झर्न पनि डरमर्दो नै थियो किनभने औलोको समस्या बाँकी नै थियो । तर पनि बुबाले साना बच्चासहित परिवारलाई झापाको जुरोपानी, हालको गौरादह नगरपालिका झार्नुभयो । केशव त्यसकेला ८ वर्षको हुनुहुन्थ्यो ।

अब केशवको बाँकी बाल्यकाल झापामा बित्ने भयो भने बाँकी पढाइ पनि त्यहीँबाट हुने भयो ।

केशवले कखरा त पहाडमै सिक्नुभएको थियो । हजुरबुबा समाजसेवी, शिक्षासेवी हुनुहुन्थ्यो । अर्का विद्वान् पूर्णप्रकाश नेपाल ‘यात्री’सँग मिलेर गाउँमा एउटा प्राथमिक स्कुल सुरु गर्नुभएको थियो हजुरबुबाले । हजुरबुबा र पूर्णप्रकाश दुवैले त्यस स्कुलमा पढाउनुहुन्थ्यो ।

हो, केशवले सावाँ अक्षर त्यही स्कुलमा हजुरबुबा र पूर्णप्रकाशबाट चिन्नुभयो । ३ कक्षा भने उहाँले मामाघर खोटाङ गएर पढ्नुभयो । 

झापा झरेपछि झापाको चप्रामारी प्रावि हुँदै दमकको हिमालय माविबाट २०२८ सालमा उहाँले एसएलसी दिनुभयो । उहाँ उक्त स्कुलको प्रथम हुनुभयो एसएलसीमा । 

उच्चशिक्षाका लागि उहाँको रोजाइको विषय बन्यो, खाद्य विज्ञान । धरान हात्तीसार क्याम्पसमा भर्ना भएर उहाँले खाद्य विज्ञान पढ्नुभयो । त्यसबेलाका उहाँका सहपाठी हुनुहुन्थ्यो ऊबेलाका कम्युनिस्ट क्रान्तिकारी नेता तथा अहिले पनि राजनीतिमै सक्रिय अशोक राई, युवराज कार्की, सुरेश कार्की आदि ।

उक्त तह पार गरेपछि भने केशवले नियमित पढ्नुभएन । जागिर खानतिर लागेपछि नियमित कलेज गएर पढ्ने संभावना कम भएपछि उहाँले प्राइभेटबाट अरू उच्चअध्ययन गर्नुभयो ।

धरानबाट खाद्य विज्ञान पढिसक्नेवित्तिकै राजविराजमा रहेको सगरमाथा धानचामल कम्पनीले केही कर्मचारी माग्यो । मुखमा आएको जागिर छाड्न मन लागेन केशवलाई ।

उहाँ २०३३ सालमा फुड टेक्नोलोजिस्टका रूपमा त्यहाँ जागिर खान थाल्नुभयो । ५ महिनाजति त्यहाँ जागिर खाएपछि केशव काठमाडौंतिर लाग्नुभयो ।

काठमाडौंमा खाद्य अनुसन्धानशालामा प्राविधिक सहायकमा जागिर खान थाल्नुभयो । यहीबीच डीपीए (सामान्य प्रशासनमा स्नातक) भर्ना हुनुभयो, प्राइभेट ।

२०३६ सालमा डीपीए पनि पूरा गर्नुभयो । अब अधिकृतका लागि बाटो खुल्यो ।

यहीबीच जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा अधिकेत मागियो । उहाँले त्यहाँ पास गर्नुभयो र २०३७ सालदेखि २०४२ सालसम्म जशिसाकेलिको अधिकृत भएर सेवा गर्नुभयो ।

निजामतीमा प्रवेश, सचिवबाट अवकास

२०४२ सालमा उहाँले लोकसेवा दिनुभयो । शाखा अधिकृतमा नाम निस्कियो । पहिलो पदस्थापन उद्योग मन्त्रालयमा भयो । २०४९ सालसम्म उहाँ उद्योग मन्त्रालयमा बस्नुभयो । २०५३ सालमा उपसचिव बन्नुभएका केशव धेरै समय अर्थ मन्त्रालयमा बस्नुभयो । केही समय कर कार्यालयमा पनि रहनुभयो ।

उहाँले जागिर सुरु गर्दाका साथीभाइ र उहाँले सरकारी सेवाका क्रममा काम गर्दाका सहकर्मीहरू अत्यन्तै मिलनसार, सहयोगी र रमाइला भएकाले जागिरे जीवनमा कुनै नरमाइलो अनुभव गर्नु नपरेको बताउनुहुन्छ । उहाँसँगै उहाँका सहकर्मी, साथीहरू हुनुहुन्थ्यो, पूर्व मुख्यसचिव तथा क्यानडाका लागि पूर्वराजदूत साहित्यकार डा. भोजराज घिमिरे, पूर्वमन्त्री तथा पूर्वसचिव साहित्यकार शंकर कोइराला, साहित्यकार सुरेन्द्र खड्का, मुकेश भट्टराई आदि ।

उहाँहरूसँगै हुनुहुन्थ्यो पूर्व मुख्यसचिव तथा साहित्यकार डा. विमल कोइराला पनि ।

उहाँलाई लाग्छ, यस्ता साहित्यप्रेमी व्यक्तित्वहरूको संगतले पनि हो केशवलाई गीतलेखनतिर तानेको ।

२०५९ सालमा उहाँ सहसचिव बन्नुभयो । सहसचिव भएपछि उहाँ राष्ट्रिय योजना आयोगमा जानुभयो । २ वर्षजति त्यहाँ बसेपछि २०६२ सालमा हङकङका लागि महावाणिज्यदूत बन्नुभयो । एक वर्षपछि नै नेपाल फर्किएर राजस्व अनुसन्धान विभागमा महानिर्देशक बन्नुभयो । 

२०६६ सालमा सचिवमा बढुवा भएर उहाँ लोकसेवा आयोगमा जानुभयो । एक वर्ष त्यहाँ बसेपछि उहाँ भूमिसुधार मन्त्रालय आउनुभयो भने त्यसको एक वर्षमै वन मन्त्रालय, ६ महिनाभित्रै विज्ञान प्रविधि मन्त्रालय सरुवा हुनुभयो ।

यसरी नै २०६९ सालमा उहाँ सहकारी तथा गरिबी निवारण मन्त्रालयमा र सोही वर्ष वातावरण मन्त्रालयमा सरुवा हुनुभयो । 

२०७० असारदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरुवा हुनुभएका केशव २०७१ साउनमा अवकास हुनुभयो ।

साहित्ययात्रा : कविताबाट सुरु, गीतमा समर्पण

केशवले विद्यालय जीवनमै कविता लेखेर साहित्ययात्रा आरम्भ गर्नुभएको हो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूमा नियमितजसो सहभागी हुने केशव त्यसबेला कविता लेख्नुहुन्थ्यो । उसो त उहाँले केही कथा पनि लेख्नुभएको थियो तर ती कता हराए, उहाँले संकलन गर्न पनि ध्यान दिनुभएनछ ।

२०२८ सालतिर उहाँका कविता, कथा केही साप्ताहिक पत्रिकामा छापिएका उहाँ बताउनुहुन्छ । तर, ती पनि सुरक्षित नगरिएकामा उहाँलाई अहिले थकथकी लागेको छ ।
‘आफ्ना रचना संरक्षण गर्नुपर्छ भन्ने नै ठानिएन’, केशव भन्नुहुन्छ, ‘सुरक्षित राख्नुपर्ने थियो भन्ने अहिले आएर लागेको छ ।’

पछि जागिरसँगै लेखन ओझेलमा प¥यो उहाँको । रुचि भएर पनि समय दिन र सिर्जनाबारे सोच्न गाह्रो भएको उहाँको भनाइ छ ।

यद्यपि, उहाँका सहकर्मी, संगातीहरूको समूह यस्तो बन्यो कि उहाँको सुषुप्त रहेको सिर्जनाशक्ति पुनः प्रस्फुटित भयो । सुरेन्द्र खड्का, शंकर कोइराला, डा. भोजराज घिमिरे, डा. विमल कोइराला जस्ता साहित्यप्रेमी र सिर्जनशील अनि उत्प्रेरक व्यक्तित्वहरूले उहाँलाई पुनः सिर्जनायात्रामा होमिन बाध्य पार्नुभयो । फलस्वरूप उहाँका दुई गीति एल्बम र केही फुटकर गीतहरू बजारमा आए ।

अब : सिर्जनामै रमाउने, राज्ले चाहेमा अनुभव दिने

अवकासपछिको जीवन निकै बोझिलो हुन्छ मान्छेलाई । निरन्तर धेरै लामो समय जागिरमा बिताएकाहरूका लागि खालि बस्नुजति पीडा के होला र ? तथापि, उक्त व्यक्तिमा केही गर्ने इच्छाशक्ति र जाँगर मरेको छैन भने उसले स्वाभाविक, शान्त र सक्रिय जीवन बाँच्न सक्छ । जीवनलाई बोझ होइन, उत्सव बनाउँछ ।

हो, केशव पनि जीवनलाई उत्सवका रूपमा मनाउने सोचमा हुनुहुन्छ । जीवनको उत्तरार्द्धलाई सिर्जनशील र उत्साहपूर्ण ढंगले बिताउने उहाँको योजना छ ।

यसका लागि उहाँ निरन्तर अध्ययन र साहित्यसाधनामा हुनुहुन्छ । उसो त आफूले राज्यका लागि गरेको लामो सेवाको अनुभवलाई राज्यले चाहेको र खोजेको बेला उहाँ दिन तयार हुनुहुन्छ । 

भन्नुहुन्छ, ‘राज्यले यतिका लामो समय सेवा गर्ने अवसर दिएर धेरै अनुभव दिलाएको छ, यसको सदुपयोग राज्यले गर्न चाहेमा म हरदम तयार छु ।’