मृत्यु र समाधिमा फरकः देह त्याग हुने र नहुने अज्ञानता
मंसिर १४, २०७६

युक्तः कर्मफलं त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् ।
 अयुक्तः कामकारेण फले सक्तो निबध्यते ।। १२ ।।

अन्वय र अर्थ – युक्तः = कर्मलाई ईश्वरमा समर्पण गर्ने योगी, कर्मफलं = कर्मफल, त्यक्त्वा= त्याग गरेर, नैष्ठिकीं= निष्ठा सम्भूत, शान्तिं= मोक्षरूप परम शान्ति, आप्नोति= प्राप्त गर्दछ । अयुक्तः = सकाम मनुष्य, काम कारेण = कामनाको प्रवृत्तिले, फले =फलमा, सक्तः (सन्) = आसक्त भएको छँदो, निबध्यते = बाँधिन्छ ।

भावार्थ – युक्त पुरुष कर्मफललाई त्याग गरेर नैष्ठिकी शान्ति प्राप्त गर्दछ, । अयुक्त पुरुष कामनाको वशले फलमा आसक्ति रहनाले कर्ममा आबद्ध हुन्छ ।

विशिष्टार्थ – दशौं र एघारौं श्लोक अनुसार क्रिया गरेर साधक जुन जुन अवस्थामा पुग्दछ त्यही कुरा बाह्रौ देखि पन्ध्रौ श्लोकसम्म भनिएको छ अर्थात् साधक प्रथमतः युक्त पछि नैष्ठिकी शान्ति प्राप्त, त्यसपछि वशी, त्यसपछि प्रभु अनि विभु भएर अज्ञान अर्थात् परिपूर्णत्व हेतु सर्बसम्बन्ध रहित हुन्छ ।

ब्रम्हमा कर्म समर्पण गरेर शरीर, मन, बुद्धि र केवल इन्द्रियद्वारा योगानुष्ठान गर्नाले समस्त कर्मफल ईश्वरार्पित (ब्रम्हार्पण) हुन्छ, अनि साधक युक्त हुन्छ, अर्थात् उसको अन्तः करणका चारै वृत्तिहरू पूर्णरूपले अन्तर्मुखी भएर कूटस्थमा युक्त हुन्छन् । (यही हो साधकको मन क्षेत्रको क्रिया) यस अवस्थामा साधक एकदम कूटस्थमा उठ्छ, तलकासँग उसको कुनै सम्पर्क रहदैन, फेरि तलतिरको शक्तिद्वारा कुनै प्रकारले आक्रान्त पनि हुँदैन त्यसकारण अविचलित रहन्छ, यस अविचलित अवस्थामा परमार्थ दर्शन गरेर जुन शान्तिमय आनन्द हुन्छ त्यसैको  नाम नैष्ठिकी शान्ति हो । यो नैष्ठिकी शान्ति अवस्था नै बुद्धि क्षेत्रको क्रिया हो । यस अवस्थामा विशुद्धात्मा हुनाले सम्झन र देख्न सकिन्छ किन्तु युक्त नहुँदासम्म अर्थात् आज्ञाचक्रमा आएर स्थिर नहुँदासम्म त्यो शान्तिमय अवस्था पाउन सकिन्न, किन कि अयुक्त अवस्थामा (आज्ञाभन्दा तल जतिसम्म रहनु पर्ला  तवसम्म) रजोगुण समुद्भव कामद्वारा आक्रान्त हुनाले कर्मफलमा आसक्त भएर बन्धनमा पर्नु पर्छ । पथहारा हुनु पर्दछ, माथि उठ्न सक्दैन ।

    सर्वकर्माणि मनसा सन्यस्यास्ते सुखं वशी ।
    नवद्वारे पुरे देही नैव कुर्वन् न कारयन् ।। १३ ।।

अन्वय र अर्थ – देही = देहधारी पुरुष, मनसा = विवकेबुद्धिद्वारा, सर्वकर्माणि = सम्पूर्ण कर्महरूलाई, सन्यस्य = त्याग गरेर, नवद्वारे = नौ ढोका भएको, पुरे = देहमा, वशी = जितेन्द्रिय भएर, न एव कुर्वन् = स्वयं केही नगरिकन, न एव कारयन् = शरीर इन्द्रियादिद्वारा केही नगराइकन, आस्ते = स्थिर रहन्छ ।

स्वभाग अधीन चैतन्य जीवको गर्भमा अधीन हुन्छ, यस अवस्थामा नै प्रकृति जननी जीव पुत्र हो । जब चैतन्य सत्ता ईश्वर भावमा रहन्छ तब त्यो स्वभाव अधीन चैतन्यले त्यस प्रकृति माथि प्रभुत्व राख्दछ, यस अवस्थामा नै प्रकृति रमणी, ईश्वर स्वामी हो । साधनबलद्वारा प्रभु पदमा उठ्नाले नै जननी रमणी रमणी जननीको सार्थकता संझिन्छ । प्रभु अवस्थामा क्रियाशक्ति लीन हुन्छ, एक अहं नै अहं मात्र भाव व्यतीत हुन्छ अरू केही रहदैन ।

भावार्थ – देही विवेक बुद्धिद्वारा सर्व कर्म त्याग गरेर वशी भएर वनद्वार युक्त देहमा स्वयं केही नगरिकन र इन्द्रियहरूद्वारा केही नगराइकन सुख पूर्वक रहन्छ ।

विशिष्टार्थ – साधक बुद्धि क्षेत्रमा नैष्ठिकी अवस्था प्राप्त भएपछि अतीव सूक्ष्म भावले द्रष्टा वनेर संयमी हुन्छन् । त्यसबेला आत्म बुद्धिको उदयले सर्ब कर्म सन्यास हुन्छन् अर्थात् मनको संकल्प क्रियाको नाशका साथसाथै षट्चक्रमा प्राण क्रियाको पनि त्याग हुन्छ, त्यसकारण दुई आँखा, दुई कान, दुई नाक, मुख, गुहा, लिङ्ग देहका यी नौ द्वारको क्रिया पनि बन्द भएर बहिर्विषयसंगको सम्बन्ध एक पटक मेटिन्छ, तब साधक बशी हुन्छन्, यसैलाई अहं क्षेत्रको क्रिया भन्दछन् । यस अवस्थामा संकल्प र निश्चय यी दुबै वृत्ति मेटिनाले देहको भित्र रहेर पनि, साधकको कुनै क्रिया पनि रहदैन, केवल सुखमा अर्थात् सुन्दर आकाशमा प्रकाशमय ज्योतिको पनि आत्मानन्दमा अवस्थिति हुन्छ । (यसै अध्यायको सातौं श्लोकको विजितात्मा अवस्था पनि यही हो) । वशी अवस्थामा क्रिया नरहे पनि  क्रियाशक्ति र पूर्ण अहंत्व ज्ञान वा अहंज्ञान रहन्छ ।

    न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभुः ।
    न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते ।। १४ ।।

अन्वय र अर्थ – प्रभुः = ईश्वरले, लोकस्य = मनुष्यहरूको, कर्तृत्वं = कर्तापनलाई, न सृजति = उत्पादन गर्दैन, कर्माणि = कर्महरू, न (सृजति) = सिर्जन गर्दैन, कर्मफल संयोग = कर्मफल संयोग (भोक्तत्व), न (सृजति), = सिर्जन गर्दैन, स्वभावः तु = प्रकृति (माया) नै, प्रवर्तते = प्रवर्तित हुन्छ अर्थात्प्रकृतिले सबै गरिरहेको छ ।

भावार्थ –  ईश्वरले मनुष्यको कर्तापनलाई सिर्जन गर्दैन, कर्म सिर्जन गर्दैन, कर्मफलको संयोग पनि सिर्जन गर्दैन, प्रकृतिले नै सबै गरिरहेको हुन्छ ।

विशिष्टार्थ – वशी भएपछि साधक चित्तक्षेत्रमा उठेर प्रभु (प्रकृष्ट रूपले स्थित) हुन्छन् तव एक मात्र चिन्तन वृत्ति वर्तमान रहन्छ र ती निरहंकारत्व हेतु सर्वज्ञ हुन्छन् । प्राकृतिक २४ तत्व भित्र चैतन्यको सर्वप्रधानता अवस्था यही हो । त्यसकारण त्यो (ईश्वर) हो । यस समयमा साधकले आफूलाई प्रकृतिको अधीन भएको पाउँदैन, प्रकृति नै उसको अधीनमा हुन्छ, उसैलाई अबलम्बन गरेर प्रकृतिले आफ्नाे खेल खेलिरहन्छ । सत्यादि १४ भुवनमा जे जस्तो कर्तृत्व, कर्म र कर्मफल संयोग हुन्छ, त्यसलाई ईश्वरले केही  गर्दैन, ऊ ती सबैको साक्षी मात्र हो, प्रकृतिले उसैको आश्रय लिएर यो सबै गरिरहन्छे । यही प्रकृति नै उसको स्वभाव अर्थात् आफनो भाव वा अवस्था हो । यो स्वभाव वा अवस्था दुई प्रकारको छ – स्वाधीन र अधीन । जबसम्म चैतन्य सत्ता अहंक्षेत्र पार नभएर जीवभावमा रहन्छ तवसम्म त्यो स्वभाग अधीन चैतन्य जीवको गर्भमा अधीन हुन्छ, यस अवस्थामा नै प्रकृति जननी जीव पुत्र हो । जब चैतन्य सत्ता ईश्वर भावमा रहन्छ तब त्यो स्वभाव अधीन चैतन्यले त्यस प्रकृति माथि प्रभुत्व राख्दछ, यस अवस्थामा नै प्रकृति रमणी, ईश्वर स्वामी हो । साधनबलद्वारा प्रभु पदमा उठ्नाले नै जननी रमणी रमणी जननीको सार्थकता संझिन्छ । प्रभु अवस्थामा क्रियाशक्ति लीन हुन्छ, एक अहं नै अहं मात्र भाव व्यतीत हुन्छ अरू केही रहदैन । यही हो सातौं श्लोकको जितेन्द्रय अवस्था ।

    नादत्ते कस्यचित् पापं न चैव सुकृतं विभुः ।
    अज्ञाननावृतं ज्ञानं तेन मुह्यन्ति जन्तवः ।। १५ ।।

अन्वय र अर्थ – विभुः = सर्वव्यापी परमात्मा, कस्यचित् = कुनै पनि भक्तको, पापं = पाप, न आदत्ते = ग्रहण गर्दैन, एवं = यस्तै, सुकृतं = भक्तहरूले अर्पण गरेको शुभ कर्म, च = पनि (न आदत्ते = ग्रहण गर्दैन) ।  ज्ञानं = विवेक ज्ञान,  अज्ञानेन = वृत्तिविस्मरणले, आवृतं (भवति) = ढाकिएको हुन्छ, तेन = त्यसकारण, जन्तवः = उत्पत्ति स्थिति नाशशील जीवहरू, मुह्यन्ति = मोहमा प्राप्त हुन्छन् ।

भावार्थ – परमात्माले कसैको पाप ग्रहण गर्नु हुँदैन, सुकृति पनि ग्रहण गर्नु हुँदैन, अज्ञानले ज्ञान आवृत हुन्छ, अतः जीव सबै मोहमा प्राप्त हुन्छन् ।

विशिष्टार्थ – प्रभु अवस्था पछि साधक विभु हुन्छ, अर्थात् विश्वव्यापी भएर चिन्मयावशिष्ट हुन्छ । यही हो गुणातीत अवस्था शिव पद, सातौं श्लोकको सर्वभूतात्मभूतात्मा अवस्था पनि यही हो । यो पनि एक अवस्था हो, किन कि यस समयमा चैतन्यसत्ता चित्त वा महतत्वदेखि बाहिर आएर अव्यक्त र चित्तको संक्रम स्थानमा रहनाले पनि केही संस्पर्श दोष रहन्छ । यस अवस्थामा पाप र सुकृति अर्थात् प्रवृत्ति निवृत्ति सबै मेटिन्छन्, कसैको ग्रहण हुँदैन, किन कि चैतन्य मायाभुक्त अवस्थालाई त्याग गरेर मायातीति भैदिनाले मायिक र प्राकृतिक क्रियाहरू लीन हुन्छन् । यो गुणातीत विभु अवस्था छिटै लय हुन्छ अनि सर्व अवस्था नै शेष हुन्छ, अवस्था विहीन अवस्था जसलाई व्यक्त गर्न सकिदैन, केवल संझने र संझाउनेको उही अव्यक्त अवस्था अज्ञान अवस्था सवै मेटिने अवस्था आउंछ । यो विभु अवस्थासम्म मात्र ज्ञान टिक्छ, त्यसभन्दा माथि जान सक्दैन । त्यो सबै मेटिएको अवस्थामा ज्ञान पनि मेटिन्छ । त्यो अज्ञान अवस्था आउनाले जन्तवः अर्थात् उत्पत्ति स्थिति नाश शील इन्द्रिय वृत्ति समूह मोहमा प्राप्त हुन्छन् । अर्थात् निष्क्रिय भएर जडीभूत जस्तो हुन्छन् । यो जुन अज्ञान अवस्था हो यसमा सर्ववृत्ति जडीभूत जस्तो निष्क्रिय भइर रहन्छ, लय हुँदैन किन कि देह रहन्छ । देह त्याग नहुनाले विश्वको अर्थात सर्ववृत्तिको लय हुँदैन । यो अज्ञान अवस्था साधनाको चरम फल त हुन्छ नै मृत्यु भए पनि जीव मात्रको हुन्छ । असम्प्रज्ञान समाधि भङ्ग हुँदा साधकका जसरी सवै वृत्ति क्रियामुखी हुन्छन् त्यस्तै जीव मृत्यु पछि जन्मद्वारा पुनः देह धारण गर्नाले पूर्वजन्मका सबै वृत्तिहरू नै एक एक गरेर प्रकाश हुन्छन् । मृत्युको अज्ञानता र समाधिको अज्ञानताको प्रभेद यो हो कि मृत्युमा देह त्याग हुन्छ, समाधिमा देह त्याग हुँदैन । जीव मृत्युमा प्रकृतिको नै अधीन रहन्छ तर समाधिमा स्वाधीन, मृत्युमा असाधकका लागि विषय र योगभ्रष्ट साधकका लागि ज्ञान अवलम्बन रहन्छ, समाधिमा केही पनि रहदैन निरालम्ब भएर निर्वाण मुक्ति हुन्छ ।

    ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।
    तेषामादित्यवज्जानं प्रकाशयति तत् परम् ।।१६ ।।

अन्वय र अर्थ – तु = किन्तु, येषां = जसको, तत् = त्यो अज्ञानं = अज्ञान, आत्मनः = आत्मज्ञानद्वारा, (समाधि भंग भएर पुनः प्रभु अवस्था प्रातिद्वारा), नाशितं = नष्ट गरियो । तेषां = तिनीहरूको, तत् = त्यो, ज्ञानं = आत्मज्ञान, आदित्यवत् = सूर्य जस्तै (भूत्वा = भएर), परं = परमार्थ तत्वलाई, प्रकाशयति = प्रकाश गर्दछ ।

भावार्थ – किन्तु जसको त्यो अज्ञान आत्मज्ञानद्वारा विनष्ट हुन्छ, तिनीहरूको त्यो आत्मज्ञान सूर्य जस्तै (स्वप्रकाश र पर प्रकाश) भएर परमार्थ तत्वलाई प्रकाश गरिदिन्छ ।

विशिष्टार्थ – यो सबै मेटिने अवस्था (समाधि) भंग भै प्रभु अवस्थामा उत्रेर आइसकेपछि जुन आत्मज्ञानको विकाश हुन्छ त्यो आत्मज्ञान आदित्यवत् प्रकाशमय हुन्छ । त्यसमा ज्ञान, ज्ञेय र यो शरीररूप विश्वको प्रत्येक अणु परमाणु पर्यन्त प्रत्यक्ष हुन्छ, भूत र भविष्यत् पनि वर्तमान जस्तै दृष्टिगोचर हुन्छन् ।

भगवान् श्रीकृष्णले छैठौं श्लोकमा 'योग विना सन्यास हुँदैन' भन्नु भएको छ र योगयुक्त हुनाले छिटैनै तत्वातीत भएर ब्रम्ह प्राप्ति हुन्छ भन्ने कुरा देखाउनु भएको छ । फेरि शरीरको शेष निश्वास त्याग नहुनाले स्वभावलाई वश गरेर साधक जब तत्वमा उत्रन्छन् तब साधक तत्ववित् (आठौं श्लोक) हुन्छन् । उनमा एकाधारमा योगयुक्त, विशुद्धात्मा, विजितात्मा, जितेन्द्रिय, सर्व भूतात्मभूतात्मा यी पाँचै अवस्थाको समावेश हुन्छ । किन्तु साधनामा लीन भएको समयमा यी पाँचै अवस्थाहरू एक पछि अर्को गरेर पृथक् पृथक् भावमा हुन्छन् । ६–८ श्लोकहरूमा योगफल साधारण भावद्वारा व्यक्त गरेर त्यो सबै अर्जुनलाई विशेष भावले संझाउनका लागि १०–११ श्लोकहरूमा  साधनाको ऊध्र्वक्रमको प्रणाली र प्रकार वताउनु भएको छ, तथा १२ – १५ श्लोकहरूमा ती पाँच अवस्थाको पृथक् भावले वर्णन गर्नु भएको छ । अतएव् आठौं श्लोकको तत्ववित् अवस्था जुन हो यस १६ औं श्लोकको वर्णित अवस्था पनि त्यही हो,  दुबै एक । यस अवस्थामा नै साधक ईश्वर हो, परन्तु साधकको ईश्वरत्व र जगदीश्वरको ईश्वरत्वमा फरक छ – साधक आफ्नाे  क्षुद्र ब्रम्हाण्ड शरीरको ईश्वर हो भने जगदीश्वर यस बृहत् ब्रम्हाण्डको ईश्वर । साधकको लयले बहिब्र्रम्हाण्डको पञ्चभूत निर्मित उसको देहका उपादानको लय हुँदैन, त्यो सबै पञ्चभूतमा नै रहिरहन्छ, परन्तु जगदीश्वरको लयमा समुदायको लय हुन्छ ।

तद्बुद्धय स्तदात्मान स्तन्निष्ठास्तत् परायणाः ।
गच्छन्त्यपुनरावृत्तिं ज्ञाननिर्धुत कल्मषा ।। १७ ।।

क्रमश:

यो पनि

ज्ञान के हो ! याे प्राप्तिकाे स्थूल उपाय !!

सत्कर्म गर्नु पनि मुमुक्षुका लागि पाप !

संशयको त्याग गर ! त्याग गर्नु तिम्रो हातमा !!

इच्छा–आकांक्षा,  प्राकृतिक भावकाे त्याग र नित्य सन्यास

चित्तशुद्धिः संन्यास र योग दुवैको एउटै फल