कृत्रिम रात्रि जागरण र मानवतामाथि आविष्कारकाे हस्तक्षेप

कृत्रिम रात्रि जागरण र  मानवतामाथि आविष्कारकाे हस्तक्षेप

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  मंसिर १५, २०७६

निद्राविद् डाक्टरको चेतना दुई परस्पर विरोधी खेमामा विभाजित रहेको हुन्छ । एकथरी महासय थोमस अल्वा एडिसनलाई गाली गर्न र अर्कोथरी उनको प्रशंसामा गीत गाउन नजाने पनि गद्य कविता कोर्ने मतिमा रहेका हुन्छन् । 

एडिसनको जीवन विषयक घटनाका अनेकौँ कथा हामीले पढेका–सुनेका छौँ । विज्ञान र वैज्ञानिकहरूलाई गल्फका तवरले पढ्न सामान्य जन अति नै उत्साहित रहन्छन् । कथाका माध्यमले क्लिष्ट विषयबारे बुझ्नु ̸बुझाउनु सह्रानीय कुरा हो तर फगत कथाका माध्यमले वैज्ञानिक चेतनाको प्रस्फुटन हुँदैन र न त कथा पढ्दैमा विज्ञान क्षेत्रमा सफलता पाउन सकिन्छ । 

विज्ञानसँग ‘फिक्सन’ पढेर प्रेम गर्न उति नै असहज कर छ, जति व्यक्तिगत जीवनको प्रेमलाई फिल्मी शैलीमा जिउनु ! इल्म र फिल्म दुवै क्षेत्रमा ‘माइल स्ट्रोक’ सिर्जना गर्न कथाकारिता एवम् कथाभाविताभन्दा धेरै माथि उठ्न सक्नुपर्छ । 

एडिसनले के गरे ? उनले मानव समाजलाई रात्रिविहीन बनाइदिए । जुन दिन सिसाको सानो गोलोभित्र ‘टंंगस्टनको फिलामेन्ट’ झलझली बल्यो, त्यही दिन रात्रिमाथि पहिलो भीषण प्रहार भयो । त्यस दिनदेखि प्रकाशको अर्थ ‘अग्निशलाका’ रहेन । विद्युतबाट झिलिमिली भएको गुलुपले मानव संसारमा प्रकाशको अर्थ र अभिप्रायमै क्रान्ति ल्याइदियो ।

यस उपलब्धिका साथै रात्रि खुम्चिन बाध्य बन्यो । र, खुम्चिँदै गएको रात्रिका साथै हाम्रो निद्रा पनि क्षीण हुन बाध्य भयो । एडिसनको कृत्रिम प्रकाशले ‘उज्याला दिनको’ प्रभावकारिता यसरी विस्तार गर्दै लग्यो, जसको कसैले कल्पनासम्म पनि गरेको थिएन । कृत्रिम प्रकाशको बढ्दो प्रभावले रात्रि र निद्राको सम्बन्ध र सहचर्यलाई भताभुङ्ग बनाइदियो । मानिसले रात्रि र निद्रालाई मात्र गुमाएनन्, यी दुवैप्रतिको अनुरागबाट पनि वञ्चित हुनुपर्‍यो । आजको युगमा सायदै यस्तो कोही मानिस भेटिन्छ, जसले भनोस्, ‘मलाई रात्रि मनपर्छ, मलाई निद्रासँग प्रीति छ र म व्यग्रतासाथ रात्रिको प्रतीक्षा गर्छु ।'

आधुनिक शहरहरूमा ‘प्रकाश प्रदूषण’का कारण यति धेरै उज्यालो हुन्छ, जसले गर्दा यहाँका रात्रि पनि कृत्रिम दिन जस्तै प्रतीत हुन्छन् । भागाभाग र ठेलमठेलको सहरी जीवनमा आफूलाई ‘वर्क अल्कोहलिक’को विभूषणले विभूषित गर्ने धेरै जना तपाईंको ‘मित्र दिर्घा’मा अवश्य नै होलान्, जसले बडो दम्भका साथ उद्घोष गर्छन्- ‘यु नो, आई एम अ वर्क अल्कोहलिक, आई डोन्ट स्लिप मच ।’

हरे ! हाम्रो मानसिकता- रात्रि नसुतेर काम र दामका लागि जोतिनु र त्योभन्दा पनि बढी यसको सम्प्रेषणको आत्मरतिमा अलमलिनु ‘स्टेट सिम्बोल’ बनिसक्यो ।

हामी सुन्छौँ ̸̸ पढ्छाैँ एडिसनले आफ्नो जीवनकालमा थुप्रै आविष्कार गरे । एक हजारभन्दा बढी ‘प्याटेन्ट’ त उनको नाममा छन् रे ! उनका अन्य आविष्कार केके हुन्,  त्यो यस लेखको विषयवस्तु होइन तर 'मनोरञ्जनको दुनियाँमा अभूतपूर्व क्रान्ति ल्याउने ‘फोन ग्राफ’ र ‘मोसन क्यामरा’ उनले नै संसार सामु ल्याए' उल्लेख नगरी रात्रि र निद्रा विषयक यो चर्चा पूर्ण हुँदैन । यी आविष्कारपछि कुनै दृश्य ‘लाइभ’ हेरिराख्नुपर्ने बाध्यताबाट सदाका लागि मुक्ति पाइयो ।

मनोरञ्जन चाहने विपुल जमातका लागि घटना र दृश्यलाई क्यामरामा कैद गरेर जुनसुकै बेला हेर्ने सुविधा प्राप्त भयो, जुन बेला ‘फ्री’ समय उपलब्ध छ, क्यामेराको रेकर्डिङले समय काशको सिमाना नाघेर तपाईंलाई विगतमा हाम्फाल्ने सुविधा मुहैया भयो । र, तपाईंको वाञ्छित ‘फ्री’ समय कहिले ? हजुर, अलिकति विचार गरी हेर्नुस् त ... त्यै रात्रिकै समय होइन र ?

संसारको सबैभन्दा उच्च ऊर्जा र प्रकाशको स्रोत निसन्देह अहिले पनि सूर्य नै छ । तर, सूर्यमाथिको हाम्रो निर्भरता प्रकाशका सन्दर्भमा परिवर्तित भएको छ । आजको मानिसलाई सूर्यास्तसँगै सुत्ने र सूर्योदयमा ओछ्यान त्याग्ने कुनै बाध्यता छैन । न आफ्ना कार्य गर्नलाई सूर्यको सहचर्यको आवश्यकता छ ।

कृत्रिम प्रकाशका साथसाथै जति मात्रामा मनोरञ्जनका उपाय र साधन बढ्दै गए, हामीले आफ्नो निद्रालाई समित–दमित गर्ने अनेकन् विधि र व्यवस्था खोज्दै गयौँ ।

उपरोक्त सबै घटना चक्र पढेर तपाईंलाई सायदै विस्मात लाग्यो ! जुन कुरा हाम्रो जीवनकै अभिन्न अङ्ग बनिसकेको छ, त्यसले केको विस्मात !

तर, अब अलिकति ध्यान दिएर पढ्नुहोस्– बल्ब आविष्कार भएको २० वर्षभित्रै संसारका समस्त श्रमिक वर्गको जीवन परिवर्तन भयो । अब दिनको समाप्तिको अर्थ सूर्यास्त रहेन, सूर्यास्तपछि पनि फ्याक्ट्रीभित्र दिनको उज्यालो उपस्थित थियो । दिन हुनलाई अथवा प्रकाश हुनलाई सूर्यको अपरिहार्यता बर्खास्तगीमा पर्न गयो । एडिसनको एउटा सामान्य आविष्कारले युगौँदेखि चलिआएको सूर्यको महत्त्व, सूर्य र दिन दुवैको परस्पर अन्तरसम्बन्धलाई अप्रासङ्गिक बनाइदियो ।

अब मानिसले वाञ्छित–अवाञ्छित कुनै कार्य गर्न सूर्य अथवा दिनलाई पर्खी बस्नुपर्ने आवश्यकता वा बाध्यता रहेन । रात्रि पनि दिन सदृश्य उज्याला भएकाले दिन र रात्रिको परस्पर भेदमा रहिआएका धेरै उपमा र उपमान तिरोहित भए । 

‘मेरो शहर चौबीसै घण्टा जाग्राम रहन्छ’ जस्तो अभिव्यक्ति दिन हामी गर्व गर्छौं तर के हामीलाई थाहा छ चौबीसै घण्टा जाग्रामका कारण कति विद्युत् व्यय हुन्छ ? यहाँका मानिस र पर्यावरणले यसको कति र कस्तो मूल्य चुकाउनुपरिहेको छ ?

पर्यावरणीय प्रदूषणका कारणमध्ये प्रकाश पनि एक प्रमुख कारण हो तर हजारौँ वर्षसम्म रात्रिको निविड अन्धकार भोगेका हाम्रा पुर्खाले प्रकाशलाई यति पावन र पुनीत श्रेणीमा राखिदिए, जसले गर्दा ‘तमसो मा ज्योतिर्मय’बाहेकको अन्य कुनै जानकारी अस्तित्वमा आउनुभन्दा पहिला नै भ्रूण हत्याको सिकार हुन्छ । 

निसन्देह ‘तमसो मा ज्योतिर्मय’ कुनै बेला प्रासङ्गिक थियो । तपाईं सोध्न सक्नुहुन्छ, 'यो के कुरा भयो, पवित्र शास्त्र वाक्य पनि कहिल्यै अप्रासङ्गिक हुन्छन् ?' धर्म र विज्ञानमा तात्त्विक भिन्नता नै यही हो । धर्मका आपत् वाचनका लागि हामी जुनसुकै रक्तपात मच्चाउन सजग रहन्छौँ तर विज्ञानले प्रतिपादन गरेका सत्य विस्थापित हुँदा चियाको एउटा कप पनि फुटाल्न कोही अगाडि आउँदैन । 

‘तमसो मा ज्योतिर्मय’ त्यो बेला प्रासंगिक थियाे, जुन बेला सम्पूर्ण पृथ्वी १२ घण्टासम्म अन्धकारको पासमा निम्न रहन बाध्य थियो । मनुष्यता सूर्योदयको प्रतीक्षामा असहाय भावले १२ घण्टे निशाकाललाई भोग्न विवश थियो । र, सूर्योदय हुनासाथ पूर्व दिशामा उदीयमान खगोलीय पिण्डलाई विनीत भावले ‘ॐ सूर्याय नमः’ले श्रद्धा नमन गर्न आफ्नो परम सौभाग्य सम्झिन्थ्यो ।

संसारको सबैभन्दा उच्च ऊर्जा र प्रकाशको स्रोत निसन्देह अहिले पनि सूर्य नै छ । तर, सूर्यमाथिको हाम्रो निर्भरता प्रकाशका सन्दर्भमा परिवर्तन भएको छ । आजको मानिसलाई सूर्यास्तसँगै सुत्ने र सूर्योदयमा ओछ्यान त्याग्ने कुनै बाध्यता छैन । न आफ्ना कार्य गर्नलाई सूर्यको सहचर्यको आवश्यकता छ । सौर्य मण्डलका सबै ग्रह–उपग्रह सूर्य केन्द्रित भए पनि पृथ्वी नामक ग्रहको मानिस भन्ने प्राणीले सूर्यको महत्त्वमा ५–१० प्रतिशतकै भए पनि सेंधमारी गरेका छन् । सूर्यको अभावमा हुने चिसा अँध्यारा आफ्ना रात्रिलाई उसले दिन सरह न्यानो र उज्यालो बनाएको छ । 

रात्रिलाई दिन सरह प्रकाशित बनाउनुका लाभ त तपाईं सबैलाई विदित नै छन् तर यसका हानिबारे आजसम्म चर्चा पनि भएका छैनन् । रात्रिलाई दिनमा रूपान्तरित गरेर त्यसअनुसारको परिवर्तित जीवनशैलीमा रमाउनेहरूले आफूभित्रको ‘सर्केडियन क्लक’सँग खेलिरहेका छन्, त्यो तथ्य धेरै कम मानिसलाई मात्रै थाहा छ ।

‘सर्केडियन क्लक’सँगको यस छेडछाडले शरीरमा व्यापक परिवर्तन भइरहेका छन्, परिणाम स्वरूप अनेकन् नयाँनयाँ रोगले सम्पूर्ण मानव नै त्रस्त बनेको छ । अनेकन् सडक दुर्घटना, मनोरोग, डायबिटिज, ब्लड प्रेसर, अटोइम्युन रोग, क्यान्सर जस्ता थुप्रै व्याधि रात्रि जागरणका फल स्वरूप तीब्र गतिले बढ्दै गइरहेका छन् । अनेकन् शोधले रात्रि जागरणका कारण स्तन क्यान्सर र ईन्टेस्टाइन क्यान्सर बढेको प्रमाणित गरेका छन् । तर, रात्रिकालीन समयमा काम गरेर अधिक अर्थाेपार्जन अथवा ‘नाइट लाइफ’का नाममा डिस्कोमा मनोरञ्जन भोग गर्ने समाजले सूर्य र ‘सर्केडियन क्लक’को उपयोगिताबारे सोच्ने समय नै कहाँ छ, फुर्सद नै कहाँ छ ?

अब तपाईं बुझ्नुहोस्, निद्रा विषयक विज्ञ डाक्टर गणको चेतना दुई खेमामा विभाजित किन छ ?

कारण स्पष्ट छ, उसको एकथरी व्यक्तित्व वा चेतना एडिसनलाई अनन्त आभार व्यक्त गरिरहेको हुन्छ । एडिसन नभएको भए बल्ब, फोन ग्राफ, क्यामरा आदि हुने थिएनन् । र, यी सबै नभएको भए रात्रि र निद्राको अस्तित्व प्राकृतिक रूपमै विद्यमान रहने थियो । रात्रि र निद्रा दुवै स्वस्थ हुने थिए, यस्तो परिस्थितिमा निद्रा विशेषज्ञ डाक्टरको अथवा यस विधाको विज्ञान शाखाको अस्तित्व नै आकारमा आउने थिएन । 

एडिसन जीवित भएको भए ‘स्लिप डिसअर्डर’, ‘स्लिप स्पे;लिस्ट,’ ‘oन्सोमेनिया,’ ‘नर्कोलेप्सी,’ ‘सर्केडियन रिदिम डिसअर्डर’ आदिको  'प्याटेन्ट' लिनका लागि अदालत धायरहेका हुन्थे । 

(मूल आलेख डा‍‍. स्कन्द शुक्ल हाे । लाेकसंवादकाे लागि ज्ञानमित्रले अनुवाद गर्नुभएकाे हाे ।)