लोक उपचार: राक्षस, सिकारी, पिसाच, वायु, भुत, वनदेवी, सिया आदि मन्छाउने विधि

लोक उपचार: राक्षस, सिकारी, पिसाच, वायु, भुत, वनदेवी, सिया आदि मन्छाउने विधि

डा. कृष्णप्रसाद न्यौपाने  |  दृष्टिकोण  |  मंसिर १५, २०७६

५. दोख: राक्षस, सिकारी, पिसाच, वायु, भुत, वनदेवी, सिया आदि दोख हुन् । चित्रबहादुरका अनुसार धाराको बढहरमा रहने दोख खतरनाक बताइन्छ । यसले मानिसलाई ठहरै पार्न सक्छ । गाईबस्तुलाई पनि सताउने गर्छ । यसले खान खोज्दा यसै ठाउँमा रहेका सेतीनागले शङ्ख बजाउने र दोखलाई भगाउने गर्छन् । सेतीनागले गाउँलेहरूको संरक्षण गरेका बताइन्छ ।

५.१. दनुवा (राक्षस): धाराकुवामा रहेका नागसँग राक्षस पनि सँगै रहेका छन् । यसले छल्यो वा लाग्यो भने मानिसको मुटु खाने गर्छ । भनिन्छ, यसले फेला पार्‍यो भने पानी फुकेर खुवाउनसमेत समय प्राप्त हुँदैन । त्यसभन्दा पहिल्यै सम्बद्ध मानिसको मृत्यु भइसकेको हुन्छ ।

५.२. सिकारी: सिकारी कुसुण्डाको राजा हो । यसले आधारातमा सिट्टी बजाउने गर्छ । यसका अघिअघि मध्यरातमा चाँप लगाएको कुकुर हिँड्छ । सिकारीले केही गर्दैन तर कुकुरले फेला पार्‍यो भने खत्तम बनाउँछ ।

यसको क्षेत्र खल्लवरदेखि माथि चर्चरे हुँदै मूलबाटासम्म मानिएको छ । मोतीलालका अनुसार सिकारीको मूलथलो चाम्डाँडालाई मानिन्छ । मध्यरातमा चाम्डाँडामा सिट्टी लगाउने गर्छ यसले । त्यसपछि मुसुभञ्ज्याङको सिकारीले पनि सिट्टी बजाउने गरेको सुनिन्छ ।

चाम्डाँडाको सिकारी फेटा गुथेर घोडामा चढी पश्चिमतिर जान्छ ।

५.३. पिचास: झुन्डिएर मरेको, बगेर मरेको, परिएर मरेको, लडेर मरेको, खान नपाएर मरेको, कुनै थान नबनाइएको अर्थात् भोग नपाएको निरन्तर रूपमा डुलेर खाने वा आफ्नो भोग खोज्ने दोख नै पिचास हो ।

मोतीलालका अनुसार रानीखर्कमा एक जना आइमाई सुत्केरी हुन नसकेर मरेकी थिइन् । तिनले निकै दुःखका साथ मृत्युवरण गर्नुपरेकाले जागेकी हुन् । यो पिचास लाग्यो भने लोग्ने मानिसलाई पनि आइमाईलाई जस्तै बच्चा पाउने व्यथा लाग्छ । लोग्ने मानिसलाई पनि कट्टीमुनि दुख्छ ।

यो रोगको मुक्तिका लागि धूप, धजो, अगुल्टो लगेर बिहान, बेलुका चढाउने गरिन्छ । यो कार्य बाहुनहरूले गर्छन् । अर्को, चित्रबहादुरका अनुसार फूलपाती मैदानमा लडेर मरेका कारणले पिचास भएको हो । पहिलेपहिले मानिसहरू कम भएका बेलामा र मोटरबाटो नखन्दैका अवस्थामा मैदानमा गोरु एवं मानिसहरू धेरै नै लडेर मर्ने गर्थे । अहिले पनि यो पिचास लागेर किनै दुःख दिने गरेको कुरा बुझियो । नारायणबली गरेका आत्मा भने पिचासबाट मुक्ति हुन्छन् ।

५.४. वायु: अगति परेर मरेको मानिस जाग्यो भने वायु भनिन्छ । वायु लागेको अवस्थामा पेट दुख्ने, औडाहा हुने, हातखुट्टा फर्काउने, निकै तिर्खा लागेर पानी खान माग्ने आदि हुने गर्छ ।

मोतीलालका अनुसार रानीखर्कमा करिब ६५ वर्ष पहिलेको कुरा हो– रानीखर्कका एक जना मानिस कोर निस्किएर कुनै स्याहार नपाई दुःख पाएर मरेका थिए । ती पछि जागेका हुन् । ती लागेर दुःख दिने गर्छन् । यिनको थान बनाई पूजा गरिन्छ । यो कार्य बाहुनहरूले गर्छन् ।

उनैका अनुसार रानीखर्कमा बुढो वायु रहेको छ । यो लाग्यो भने मुटु खाने, पेट दुखाउने गर्छ । आखत हेराउँदा यही खुट्टियो भने भाँडो, दाम, पैसा, उठाएर राख्ने गरिन्छ । यो कार्य बाहुनहरूले गर्छन् । वायुको कुनै अनुकूल स्थानमा थान बनाई वर्षको एक पटक दूधधार पूजा गरी पन्छाउने चलन छ । दूधधार दिएपछि उठाएको चिज प्रयोग गरिन्छ ।

५.५. भुत: भुतले रातको समयमा सिलोक हाल्ने, आगो बाल्ने गरेको भोक्ताहरू बताउँछन् । एक पटकको कुरा हो, ठूलो बगरबाट खैँजडी बजाउँदै दोखहरूको एउटा हुल आयो । त्यो देखी वा सुनी त्यहाँ रहेकाले पनि खैँजडी बजाउन थाले । यो कुरा २०२७ सालतिरको बुझियो ।

भुतको समाखान गर्न नसकिएको अवस्थामा यसले कुलको नै नाश गरिदिन्छ । काभ्राको फेदमा रहने भुतलाई रैथाने भुत भनिन्छ । यसले कहिलेकाहीँ सेतो लुगा लगाएर रातीको समयमा बाटामा ठिङ्ग उभिने र बाटो छेक्ने गर्छ ।

कुभिन्डो गुल्टयाउने, रूख हल्लाउने वा ढालिदिने, हावा चलाउने गर्छ । गाईगोरु खोलिदिने, भैँसी दुहिदिने हुनाले भैँसीले दुहुन दिँदैनन् । तान्त्रिकहरूले भैँसी नदुहिदियोस् भनेर गोठमा कुभिण्डो झुन्ड्याउने गर्छन् । कुभिण्डोसँग भुत डराउँछ भन्ने विश्वास छ ।

नाङ्गै भएर धोती झुन्ड्याएमा भुत भाग्छ, त्यस्तै, कट्टु खोलेर टाउकामा राखेमा पनि भाग्छ भनिन्छ । यसलाई केराको बोँगा कालो र पहेँलो रङले रङ्गाएर चढाइन्छ । बोँगा फेला नपरेमा केराको कोसो भए पनि चढाउने गरिन्छ । गाईको दूधको धार दिइन्छ ।

नित्यडाँडाको भुतले सेता कपडा लगाउने गर्छ । यसले बाटामा अगाडि लाग्ने, घरमा आएर घरको ढोका खोल्ने, भैँसी दुहुने काम गर्छ । पँधेराका चित्रबहादुरका अनुसार पँधेरामा रहेका भुतले मानिसलाई बोलाउने, भैँसी दुहिदिने आदि गर्छ । कहिलेकाहीँ आवाज निकाल्ने गरेको सुनिन्छ । यो भुतले मनचिन्ते भाग पायो भने सह ल्याउने र समय समयमा भोग नपाएमा सह लाग्ने गर्छ ।

५.६. वनदेवी: वनदेवीलाई निधेनी, बन्डाइनी आदि अनेक नामले सम्बोधन गरेको पाइन्छ । यिनको चरित्र अद्भूत खालको छ । यिनको सामुन्ने परियो भने कुनैले सद्दे बनाउँछन् भने कुनैले बहुलाउन हान्छन् । यिनले लगी झाँक्रीले भेट्टाएमा विद्वान् बनाएर छाड्छन् । यसको निश्चित प्रभाव क्षेत्र छ ।

ज्योतिलालले नित्यडाँडामा आफ्नो घरको करेसामा निधेनी आएको र आफूले धेरै पटक देखेको कुरा बताए । निधेनीले मानिसलाई छल्छ । त्यस्तो मानिसले उल्टो हात थापेर खाने, कपाल च्यात्ने गर्छन् । कसैकसैलाई विशेष रूपमा केटाकेटीलाई बोकेर समेत लाने गर्छ । लगेको बच्चा कसैलाई एक–दुई दिन, कसैलाई एक–दुई हप्तामा फिर्ता ल्याइदिने गर्छ ।

५.७. सिया: सियालाई सिया मसान पनि भनिन्छ । करिब ६२ वर्ष पहिलेको कुरा हो । वर्तमान वीरेन्द्र माविभन्दा माथिको मूलबाटामा रहेको बरको फेदमा यात्राको क्रममा नेवार जातिको मानिस हैजाले गर्दा मर्‍यो । सो जाग्यो र सिया मसान भयो । यसले मानिसलाई झाडावान्ता लाग्छ । यसले मानिस सिकिस्त हुने गरेको पनि बुभियो । पानी फुकेर मदौरुलाई पियाउँदा निको हुन्छ ।

पूजा गर्नु हिन्दुको पारंपरिक प्रचलन हो, संस्कार हो र निष्ठा हो । पूजा गर्दा मनोवैज्ञानिक रूपमा सन्तुष्टि हुन्छ । आफ्नो मिहिनेतले प्राप्त प्रतिफल पनि यसै कार्यले गर्दा प्राप्त भएको विश्वास गरिन्छ । यस कार्यले एक प्रकारको भय वा रोग रहिरहेको अनुभूति हुन्छ । प्रत्येक नयाँ योजनामा सशङ्कित हुनुपर्ने हुन्छ ।

६. निष्कर्ष

तन र मनका लागि हानिकारक तत्त्व र शक्तिसँगको सतर्कता अनिवार्य छ । भय अर्थात् डरका संभावित रूपलार्ई त्यहाँ सम्बोधन गरिएको छ । भय वा डर भनेका व्यक्ति, परिवार एवं समाजका रोग हुन् । रोग लाग्नै नदिनु पहिलो र महत्त्वपूर्ण विषय हो भने लागेको रोगबाट मुक्ति पाउनु वा हुनु पनि कम महत्त्वको होइन् ।

परिवार, मानव समाज मात्र होइन कि वन, जल, प्राणी जगत्, लौकिक पारलौकिक तत्त्व मात्रै होइन, इहलोक र परलोकबाट आउने र हुने रोगहरूलाई मानसिक रूपमा बल प्रदान गरेको छ । उक्त प्रकारको कथनले लोकजीवनलाई विश्वास दिलाउँछ । विश्वासको आत्मबलमा वृद्धि हुन्छ । त्यसैले त लोकजीवनमा यस प्रवृत्तिले संरक्षण पाएको छ ।

१. संयमका साथ मन, वचन र कर्मका आधारमा स्थिर हुनु नै मानसिक एकाग्रता हो । यसका लागि भावनाको ठूलो महत्त्व रहन्छ । साधकलाई जप, तप आदि साधना कर्ममा प्रेरणा दिने नै भावना बुझिन्छ । मानवीय संवेदनालाई कुण्ठित गरेर राख्न संभव हुँदैन । त्यसैले उसभित्र विद्यमान चरित्रहरूले कुनै न कुनै रूपमा प्रकट हुन खोज्छन् ।

२. वर्तमानमा प्राणी एवम् वस्तुको अवस्था दिन प्रतिदिन बिग्रँदो छ । निराशाले गाँजेको छ । त्यस अवस्थामा पनि आशा एवम् भरोसाका केही स्थान बाँकी छन् । यसरी तन्त्र, मन्त्र एवं अन्य लोकप्रचलनका अनुयायीहरूले के सल्लाह दिन्छन् भने बढ्दो दुःख, कष्टलाई निवारण गर्न यी सहयोगी हुनेछन् ।

३. नेपाली लोकसमाजले मन्त्र एवं लोकविधिप्रति गहिरो आस्था एवं विश्वास राखेको पाइन्छ । तन्त्रमन्त्रद्वारा गरिने र भनिने विधिलाई औषधि गर्ने प्रणाली वा तरिका मान्ने गरिएको छ ।

४. कुनै परिवेश, अवस्थामा मन्त्र वा अन्य पूजा गर्ने तरिका र पात्रका साथै यसको प्रयोक्तालाई लान्छना लगाउने गरिए तापनि आफू नठगियुन्जेल लोकविधि एवम् मन्त्रका प्रयोक्तालाई पुकारेको, गुहारेको पाइन्छ । यसको महत्तालाई स्वीकारिएको हुन्छ । आफैँलाई आपत् विपद् पर्दा र यसको पाठ एवं प्रभावका बारेमा राम्रो गरी सुनिसकेपछि यसको गहनतालाई स्वीकार गर्ने मानिसहरू पाइन्छन् ।

५. मानिसको मानसपटलमा चिन्ता, आशङ्का, रोगव्याधि साथै भावी कार्यविधान र जीवनपद्धतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मन्त्र एवम् लोकविधिको प्रभाव उल्लेखनीय रहेको छ ।

६. मन्त्रले सांसारिक सुव्यवस्थाको वर्णन गर्छ । गोप्यताका साथ गुनगुनको अवस्थामा बोलिने र भनिने छोटा मन्त्रले व्यक्ति, समाज र आमरूपमा सांसारिक सुव्यवस्थाको परिकल्पना गरेको हुन्छ । अन्य देवताहरूको पूजाले पनि यही सन्देश दिएको हुन्छ । मन्त्रको प्रयोग जसप्रति लक्षित हुन्छ, त्यसको चेतनामा कुनै प्रभाव पारेको वा चेतना परिवर्तन गरेर मनोवैज्ञानिक रूपमा परिवर्तन गर्न प्रयास गरिँदैन । सस्वर गाइने मन्त्रमा समेत यही विशेषता रहेको छ ।

७. मन्त्रको शक्तिले भलो मात्रै होइन, प्रयोग गर्न जानिएन वा विधि पुर्‍याउन सकिएन भने फल दिँदैन भन्ने कताकता अविश्वास पैदा गराउँछ । अझ देवता आङमा चढिसकेपछि जुन मन्त्र प्रयोग गरिन्छ, त्यसप्रति अरू बढी विश्वास रहेको पाइन्छ । पूजाहरू पनि यसैप्रति निर्देशित भएका हुन्छन् । मन्त्रका वाचकले ब्रह्माण्डको ज्ञानका साथै दुर्भाग्यको जानकारीसमेत मन्त्रद्वारा दिएका हुन्छन् । दुःख परेको अर्थात् बिरामी मानिस मनोवैज्ञानिक रूपमा मन्त्र वाचकको काबुमा परिसकेको हुन्छ । दुःखदेखि मुक्ति हुने आशाले जसरी श्रोतालाई तान्छ, त्यसै कोसिसमा रहेको मन्त्रवाचक निष्ठापूर्वक लाग्छ । पूरै पाठलाई अध्ययन गर्दा मन्त्रवाचकहरू लोकजीवनमा प्रसन्नता ल्याउन सक्षम छन् ।

८. संसारमा शान्ति र अशान्ति विद्यमान छन् । विभिन्न लोकमा यस्तो अवस्था रहेको कल्पना गरिएको छ । यस कुराको अभिव्यक्ति आखत हेर्नेदेखि लिएर मन्त्रले गर्छ । यसको कारक तत्त्वका बारेमा चर्चा गरिएको छ । त्यसै गरेर नाडी समाउने, आखत हेर्ने, देव वा अन्य पूजा गर्ने सबैको उद्देश्य व्यक्ति, परिवार, समाजमा शान्ति कायम गर्नु नै हो ।

९. मन्त्रले निर्माण गरेको संसार बुझ्न त्यही संसारमा प्रवेश गर्नुपर्छ । मन्त्रका वाचकले मनमै रोग, व्यथा, डर, विभिन्न अप्ठ्यारा अवस्थाहरूको कल्पना गर्छ । रोग जन्माउनु, रोगले ग्रस्त एवं त्रसित र जीर्ण शरीरको साथमा बिम्ब खडा गर्छ । यसको विपरीत स्वर्गीय संसारको पनि कल्पना गर्छ । यसले स्वर्ग र वर्तमान परिस्थितिको तुलना गर्छ ।

त्यसैगरी वर्तमान त्याज्य र स्वर्गीय परिवेशको स्वागत गर्छ । रोगीले आदरणीय परिवेशको खोजी गर्छ । वर्तमान र काल्पनिक परिवेशको तुलना गरी आनन्दानुभूति गर्छ, जहाँ सुव्यवस्था हुने कुरामा विश्वास गरिएको छ । यसले परंपरागत आनुष्ठानिक एवं धार्मिक र सांस्कृतिक पक्षको जानकारी दिएको छ ।

१०. मरेको मानिस आफ्नै दुष्कर्मले वा मृत्युको स्थिति आदिले गरी अगति पर्न पुगी वायु, भुत, पिचास, डुलुवा, वनदेवी आदि दुष्कर्म योनीमा पुग्छन्, दुःख पाउँछन् भन्ने लोकविश्वास छ अनि यिनलाई आफ्नो सन्तानले उद्धार गर्नुपर्छ भन्ने पनि भनाइ छ । उद्धार गरिएको आत्मा भने अगतिबाट मुक्ति पाउँछ भन्ने लोकविश्वास छ ।

११. नाडी समाउने, आखत हेर्ने अनि देवदेवीलगायत अन्य पूजा गर्नेले जस्तै मन्त्र वाचकले सांसारिक सुव्यवस्थाहरूको कामना गर्छन् । मन्त्रले यस संसारमा रहेका अस्तव्यस्तताप्रति धावा बोल्छन् । यसमा हस्तक्षेप गरेर बदल्ने कुरा गर्छन् । संसारको दुःखपूर्ण अवस्था, अव्यवस्थित, असन्तुलित र अवर्णनीयको ठाउँमा सुख, व्यवस्थित, सन्तुलित र वर्णनीय बनाउँछन् । कुनै पनि अनिष्टको निराकरण गर्ने वाचा गर्छन् ।

उनीहरूका लागि कुनै पनि चीज, घटना असम्भव र नौला लाग्दैनन् । सबैलाई सहज र सामान्य मानी त्यसको निराकरणका उपाय सहज रूपमा बताउने गर्छन् । आफ्नो चेतनाको कारणले भन्दा पनि मन्त्रको शक्तिमा पूरा विश्वास गर्ने गर्छन् । उनीहरूलाई दृश्य, अदृश्यको सवाल छैन ।

१२. देव अन्य पूजा र मन्त्रको प्रयोगले व्यक्त, परिवार, समाज एवं संसारमा शान्ति, अमनचयन हुने कुरामा लोकसमाज विश्वस्त रहेको छ । लोकजीवनमा परंपरागत जुन त्रास, कुण्ठा विद्यमान छ, त्यसलाई बढ्न नदिन मन्त्र सफल हुने विश्वास गरिएको छ ।

कुनै पनि हालतमा खतिलाई रोक्न पूजा एवम् मन्त्र अचुक अस्त्र बन्न सक्छ । हुन सक्ने अवस्थालाई मात्र होइन, भइसकेका बेथितिलाई निराकरण गर्नका लागि तन्त्रमन्त्रको प्रयोग गरिन्छ । यसरी हेर्दा वास्तवमा मन्त्र सुव्यवस्थित निर्देशन हो ।

१३. नागको थानमा सत्यनारायणको पूजा गरेको पाइँदैन तर अन्यत्र यसखाले पूजा हुने गरेको सुनियो । झाँक्रीको थान र देवीको थानमा भने सत्यनारायणको पूजा गरेको पाइन्छ । यी स्थानहरूमा भाकलअनुसार वा कुनै खुसियालीको अवसर पारेर अखण्ड भजन, कीर्तन गरिन्छ । यसका लागि छिमेकी, भक्तजन एवं आफन्तहरूलाई समेत बोलाउने चलन छ ।

१४. पूजा गर्नु हिन्दुको पारंपरिक प्रचलन हो, संस्कार हो र निष्ठा हो । पूजा गर्दा मनोवैज्ञानिक रूपमा सन्तुष्टि हुन्छ । आफ्नो मिहिनेतले प्राप्त प्रतिफल पनि यसै कार्यले गर्दा प्राप्त भएको विश्वास गरिन्छ । यस कार्यले एक प्रकारको भय वा रोग रहिरहेको अनुभूति हुन्छ । प्रत्येक नयाँ योजनामा सशङ्कित हुनुपर्ने हुन्छ । नियमित कार्यमा पनि कुनै बाधा आउने हो कि भन्ने पिरलोले सधैँभरि सताइरहन्छ ।

१५. पूजा प्रायः खुसीको अवसरमा गरिन्छ, नियमित गरिन्छ र भाकलमा पनि गरिन्छ । यसका लागि बुधबार उपयुक्त मानिन्छ । त्यस्तै, महिना र नक्षत्र वा  अन्य पक्षको समेत ख्याल गरिन्छ । कुनै मौसम नतोकिए पनि हिउँदको समयलाई बलि पूजा र अन्य पूजा अन्य समयमा पनि गरिएको पाइयो ।

१६. रोग निवारण एवम् सुख शान्तिका लागि पूजा एकल वा समूह दुवै रूपमा भएको पाइयो । आफ्नो भाकल भएको अवस्थामा र कुनै प्रकारले दुःख दिएको अवस्थामा एक्लै गरिए तापनि देवी वा झाँक्रीलाई समूहमा पनि पूजा गरिन्छ । कुनैकुनै  नागलाई भने समूहमा पनि पूजा गरिन्छ । यो प्रक्रिया बलि वा अन्य पूजामा समेत पाइयो ।

याे पनि 

लोक उपचार विधि : उपचारमा तन्त्रमन्त्रको प्रयोग र तरिका

लोक उपचार विधि: नाडी समाउनेदेखि बलि दिनेसम्म