‘क्याप्टेन’का निर्देशकको ‘तिमीसँगै हुने मन छ’, पल र निराजन अनुबन्धित

‘क्याप्टेन’का निर्देशकको ‘तिमीसँगै हुने मन छ’, पल र निराजन अनुबन्धित

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १५, २०७६

काठमाडाैं । चलचित्र ‘क्याप्टेन’का निर्देशक दीवाकर भट्टराई अब आफ्नै निर्माण र निर्देशनमा चलचित्र ‘तिमीसँगै हुने मन छ’ बनाउने भएका छन् ।  फिल्ममा लिड अभिनेत्री दीपिका प्रसाईं हुनेछिन् । उनी निर्देशक भट्टराईकी धर्मपत्नि समेत हुन् । पुषको दोस्रो हप्ताबाट छायांकन सुरु हुने बताइएको फिल्ममा यसअघि अभिनेतामा आर्यन सिग्देलको नाम चर्चामा थियो । 
 
तर, निर्देशक भट्टराईले आर्यनसँग सहकार्य हुने भनिएको चलचित्र यो नभइ अर्कै चलचित्र रहेको बताएका छन । यसपछि चलचित्रमा दीपिकासँग  अभिनेता पल शाहको जोडी बाँधिन लागेको खबर पनि बाहिरिएको थियो । अन्ततः यो फिल्ममा अभिनेता पल अनुबन्ध भएका छन् । 
 
अब, चलचित्रमा पलले अभिनेत्री दीपिका सँग रोमान्स गर्नेछन् । हालै उनले आफ्नो हिट फ्रेन्चाइज ‘म यस्तो गीत गाउँछु’ को दोस्रो श्रृंखलाको छायांकन भ्याएका छन्। उनको नयाँ चलचित्र ‘हृदय भरी’ प्रदर्शनको पखाईमा छ । त्यस्तै, ‘तिमीसँगै हुने मन छ’ मा पलसँगै म्यूजिक भिडियोका चर्चित मोडल निराजन प्रधान पनि रहने भएका छन् । 
 
दुईले यसअघि दीपिकासँग एक म्यूजिक भिडियोमा काम गरिसकेका छन् । निराजनले यसअघि ‘जालो’ नामक चलचित्रमा काम गरेका थिए । यसपछि उनले चलचित्र ‘प्रेमालय’ साइन गरे । तर, घोषणा भएको ८ महिनासम्म पनि फिल्म फ्लोरमा नगएपछि उनले हात झिकेका थिए । त्यसयता उनी भिडियोमा व्यस्त छन् । अब, उनलाई ‘तिमीसँगै हुने मन छ’ मा देख्न पाइने भएको छ