‘झिँगेदाउ’ मा आँचलको लुक्स

‘झिँगेदाउ’ मा आँचलको लुक्स

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १५, २०७६

काठमाडौं । प्रायः शहरिया युवतीको भूमिकामा देखिँदै आएकी अभिनेत्री आँचल शर्माले अहिलेसम्म दर्शकलाई चक्मा दिने खालको भूमिका निभाएकी छैनन् । नाईं नभन्नू ल ४’ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री आँचल शर्मा चलचित्र ‘झिँगेदाउ’ मा भने विल्कुलै फरक भूमिकामा छिन् । पछिल्लो रिलिज फिल्म ‘दाल भात तरकारी’ सम्म आइपुग्दा अभिनयमा पनि निखारता प्रदान गर्न नसकेकी उनी ‘झिँगेदाउ’मा भने गाउँले भूमिका देखिएकी छन् ।

आइतबार निर्माण टिमले अभिनेत्री आँचलको लुक्स सार्वजनिक गरेको छ । जसमा उनलाई निकै फरक गेटअपमा देख्न सकिन्छ । सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते, सातो रंगको साडी र गुन्यू चोलीमा देखिएकी उनले कम्मरमा पटुकी बाँधेकी छन् । त्यस्तै, हातमा हँसिया र गाईवस्तुका लागि पिठ्युमा घाँसले भरिएको डोको बोकेकी छन् ।

उनको यो गेटअपले दर्शकमा चलचित्रप्रति कौतुहलता जागृत गर्ने देखिन्छ । चलचित्रमा उनले विवाहित महिलाको भूमिका निभाएकी छन्, जो विकट गाउँमा बस्छिन् । पहिलो पटक फरक भूमिका निर्वाहा गर्न पाएकी उनी आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छिन् । चलचित्रमा उनको जोडी ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निभाएका मुकुन्द भुषालसँग बाँधिएको छ । 
 
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्दै गरेको ‘झिँगेदाउ’ को अहिले भकुन्डेवेसीमा छायांकन भैरहेको छ । त्यहाँ इनडोर छायांकनका लागि सेट निर्माण गरिएको छ । खोटाङको हलेसीमा छायांकन सकेर निर्माण टिम भकुन्डेवेसी झरेको हो । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो । चलचित्रका निर्माता निर्देशक देउजा स्वयं हुन् । 
 
कपन गढी सिनेमा प्रा।लिको ब्यानरमा निर्माण भैरहेको चलचित्रको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । भने, पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । चलचित्रलाई विष्णु कल्पितले खिचेका छन् । निर्देशक देउजाले यसअघि ‘मुना मदन’, ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका चलचित्रको निर्देशन गरिसकेका छन् ।