जापानमा ‘मारुनी’ प्रर्दशनले ठुलाे प्रशंसा बटुल्याे

जापानमा ‘मारुनी’ प्रर्दशनले ठुलाे  प्रशंसा बटुल्याे

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १५, २०७६

काठमाडाैं । गएको भदौमा प्रदर्शनमा आएको नवल नेपाल द्धारा निर्देशित चलचित्र ‘मारुनी’ ले घरेलु बजारमा खासै राम्रो प्रदर्शन गर्न सकेन । साउथका सुपरस्टार प्रभास अभिनीत चलचित्र ‘साहो’ सँग जुध्दा फिल्म बक्सअफिसमा राम्रो स्थान ल्याउनबाट चुक्यो । तर, दर्शकले भने चलचित्र हेरेपछि राम्रै प्रतिक्रिया दिएका थिए रसमीक्षकले पनि चलचित्रले उठाएको विषयवस्तुको निकै प्रशंसा गरेका थिए । 
 
नेपाल प्रदर्शनपछि यो चलचित्र विदेशमा पनि प्रदर्शन हुने भएको छ ।  ‘मारुनी’ को पहिलो विदेश प्रदर्शन जापानमा भएको छ । जापानको नागोया फुसीमा मिलिओन थिएटरमा यो चलचित्रको प्रदर्शन गरिएको हो । जसका लागि केही दिन अगाडि नेपालबाट अभिनेता पुष्प खड्का र निर्माता पुनम गौतम जापान पुगेका थिए । जापान प्रदर्शनमा पनि चलचित्रले धेरै नै प्रशंसा बटुलेको छ । 
 
‘चलचित्र हेर्नका लागि दर्शकको सुखद उपस्थिति थियो’ निर्मात्री गौतमले बताईन । गौतमले चलचित्र हेर्ने अधिकांशले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेको भन्दै खुसी व्यक्त गरिन् । पहिलो पटक आफू अभिनीत चलचित्रको प्रदर्शनका लागि जापान पुगेका अभिनेता पुष्प दर्शकबाट प्राप्त प्रतिक्रियाले खुसी देखिएका छन् । चलचित्रमा उनी ब्यापरिकाे भूमिकामा छन् । 
 
चलचित्रलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका हुन् । ‘मारुनी’ को शो जापानको टोकियो र ओसाकामा पनि हुने बताइएको छ । त्यस्तै, यो चलचित्रको अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा चलचित्रको प्रदर्शन हुन लागेको हो । चलचित्रमा साम्राज्ञी आरएल शाहको पनि अभिनय रहेकाे छ ।