जुम्लाका घरघरमा प्लाष्टिक टनेल, ५० हजारभन्दा बढी आम्दानी

जुम्लाका घरघरमा प्लाष्टिक टनेल, ५० हजारभन्दा बढी आम्दानी

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १५, २०७६

जुम्ला । जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन गर्न थालेका हुन् ।

तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् । 

अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा देखिएको छ । प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि जिल्लामा उत्पादन पनि बढ्दै गएको छ । कनकासुन्दरी गाउपालिका–५ लुड्कुका गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन हुन थालेको बताउनुभयो । बुढा विगत केही वर्षबाट गाउँमै  बस्दै आउनुभएको छ । ‘तरकारी खेती गर्न थालेपछि किसानको आम्दानी बढिरहेकै छ । बजारका बासिन्दाले समेत ताजा तरकारी उपभोग गर्न थालेका छन्’, उहाँले बताउनुभयो ।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको उमा बुढाले जानकारी दिनुभयो । प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा रु १५ देखि २० मा बिक्री हुने गरेको छ । स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरिरहेका छन् । सदरमुकाममा अधिकांश तरकारीको भाउ रु १०० देखि १५० छ ।

बुढाले गत वर्ष तरकारी खेतीबाट रु एक लाख बचत गरेको जानकारी दिनुभयो । उहाँले खुर्सानी उत्पादनलाई प्राथमिकता दिएको बताउनुभयो । सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा आकर्षण बढेको उहाँको भनाइ छ । यता सिञ्जा गाउँपालिका–६ कै मुन्कौरा बुढाले बजारमा तरकारी खेती गरिरहनुभएको छ । उहाँको बारीमा साग, धनियाँ, टमाटर र गाँजरको उत्पादन हुने गरेको छ ।

मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको उहाँको भनाइ छ । कतिपय बारीमा आएर साग, धनियाँ, टमाटर र गाजर लिने गरेको बुढाले बताउनुभयो । बुढाले तरकारीबाट रु ५० हजारभन्दा बढी आम्दानी गरेको बताउनुभयो । नियमितरूपमा घरमा खाने गरेको उहाँको भनाइ छ । केही वर्षयताबाट तरकारी खेतीको लहर चलिरहेको छ ।

नेपालगञ्ज र सुर्खेतबाट आउने तरकारीको मूल्य रु २५० भन्दा माथि रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ–गाउँमा तरकारी उत्पादन बढ्दै गएपछि बाहिरको तरकारी कम भित्रन थालेको छ ।