कथाको खोजी या अधिकारको: बहसमा नारीवाद
मंसिर १६, २०७६

'लीला रोइरही, गणेशले आफ्नो छालाको पेटी खोल्यो र उसलाई पिट्यो ।

ऊ कराई, 'हे भगवान् ! हे भगवान् ! उसले मलाई आजकै दिन मार्ने भो ।'

यो तिनीहरूको पहिलो पिटाइ थियो । यो एउटा औपचारिक घटना थियो, जसमा न त गणेश रिसाएकै थियो, न लीलाले कुनै कटुता राखेकै थिई । यो घटना आफैँमा विवाहको हिस्सा नभए पनि यसले दुवैका लागि ठूलो अर्थ राख्थ्यो । यसको अर्थ थियो, अब उनीहरू परिपक्व र स्वतन्त्र मान्छे बनिसकेका छन् ।

गणेश अब परिपक्व मान्छे बनेको छ र लीला पत्नी मात्र नरहेर अरू ठूला महिला जस्तै इज्जतिली महिला बनेकी छे । अब ऊसँग पनि आफूलाई पतिले कुटपिट गरेको सुनाउनका लागि कथा हुनेछन् र जब ऊ माइत जान्छे, ऊ पनि अन्य माइत आएका महिला जस्तै दुखी र तिक्त देखिन पाउनेछे ।'

यी हरफहरू मैले लेखेको होइन, मैले त भीएस नैपलको उपन्यास ‘द मिस्टिक मास्य’बाट यिनलाई नेपाली भाषामा भाषान्तर मात्र गरेको हुँ । किनभने उक्त उपन्यासकी नारी पात्र लीला मलाई गजबकी लागेकी हो ! ऊ यस्ती पात्र हो, जो पतिको पिटाइ खाएर गर्व गर्छे, पतिले आफूलाई नपिटेर सधैँ बच्चा राखेकामा उसलाई क्षोभ छ । उसलाई पत्नीको रूपमा मेरो अधिकार यो हो भन्ने मजाले थाहा छ । ऊ अधिकार होइन, आफू महिला भएको कथा खोजिरहेकी छे ।

मलाई थाहा छैन, नारी अधिकारको वकालत गर्नेहरू अधिकार खोज्छन् कि कथा तर मैले त्यो पात्र भेटेपछि यतिचाहिँ बुझेँ, मान्छे अधिकार कम भएर मर्दैन, अधिकार कम भएको पीडा नै कम हुन्छ मान्छेलाई, जति आफ्नो बारेमा अरूलाई सुनाउने कथा कम भएको पीडा हुन्छ । 

मलाई भीएस नैपलको लेखनशैली अत्यन्त चुम्बकीय र जादूगरी लाग्छ । मलाई उनको अडानमा भएका दाबी विरोध, असंगति आदिमा फस्नु पनि छैन । उनले मलाई लीलासँग भेट गराइदिए, बस्, त्यति नै मेरा लागि अति ठूलो पाठ भयो; लीलालाई भेटेदेखि मलाई महिलाहरू रोएको देख्दा ताजुब लाग्छ, म एक पटक सोच्छु, यो महिला किन रोएकी होला, यसलाई साँच्ची नै न्याय चाहिएर, पीडा भएर रोएकी होला कि यो कुनै कथाको खोजीमा छे ?

जिन्दगी एउटा भूमिका हो, हरेकले यसमा अर्थ खोज्छ । जति बढी कथा भए, त्यति बढी जिन्दगी अर्थपूर्ण हुन्छ । कथामा हिरोइज्म हुनुपर्दैन, त्यहाँ हिरोइज्म आफैँ सिर्जना हुन्छ । म कथाको खोजीमा छु, तपाईं कथाको खोजीमा हुनुहुन्छ । पहिले कथा बन्छ अनि त्यसभित्र हामी हिरोइज्म आफैँ खोतल्छौँ, त्यसले जीवनलाई अर्थ दिन्छ । लीलाले पिटाइ खानुमा ऊ दमित होली तर ऊ उत्फुल्ल छे, उसले कथा भेटेकी छे, हेर्दा निम्छरो लाग्ने भूमिकामा छे ऊ कथामा तर उसले हिरोइज्म भेटेकी छे ।

मलाई नारीवाद खास थाहा छैन तर पनि एक पटक मलाई नारीवादी अभियन्ताहरूलाई सोध्न मन लाग्यो- तपाईंहरू कथा खोज्दै हुनुहुन्छ कि अधिकार ? तपाईंको नारीवादले लीलालाई पक्कै पनि अधिकार सम्पन्न देख्दैन, उसलाई कसरी अधिकार सम्पन्न बनाउनुहुन्छ ? अथवा भनौँ, सामाजिक सञ्जालको यो दुनियाँमा पतिको गोडा धोएर पानी खाएको तस्वीर कुनै महिलाले सामाजिक सञ्जालमा राख्दा तपाईंको अभियान जुरुक्क उठ्छ होइन ?

त्यो महिलामाथिको पितृसत्तात्मक दमन हो कि कथाको खोजी हो ? यदि त्यो कथाको खोजी रहेछ भने तपाईंले उसलाई अधिकार सम्पन्न बनाउने बहानामा गरेको हस्तक्षेप उसलाई झन् अधिकारविहीन बनाउन प्रयोग हुने भएन ? अझ भनौँ, कृष्णबहादुर महरा र रोशनी शाहीबीचको सम्बन्धमा रोशनीलाई कति अधिकार र कति कथा चाहिएको थियो ? बुझ्नुहुन्छ यस्तो कुरा ?

मान्छेहरूलाई राजनीतिभन्दा बढी रचनात्मक तरिकाले कथाको खोजमा लगाउने वाद कुनै छ भने म त्यो वादी भएको स्वघोषणा गर्छु । राजनीतिको नाममा, अधिकारको नाममा जीवन मर्न पाउन्न, यहाँ कथाको खोजी रोकिन पाउन्न । अस्तु !

मलाई त लाग्छ, बुझ्नुहुन्न । जीवनलाई के चाहिएको हो त्यो नै उसको अधिकार हो भन्ने तपाईंहरूले बुझिदिने भए धेरै लीलाहरू आफैँ अधिकार सम्पन्न हुन्थे । अधिकार सम्पन्नता भनेको कति अधिकार खोज्नेको भावनात्मक सन्तुष्टि र कति टेक्निकल अधिकार हो भन्ने थाहा छ तपाईंलाई ? जीवनलाई हेर्ने दृष्टि टेक्निकल मात्र छ भने त्यसले धेरैलाई अधिकार सम्पन्न बनाएको ढोंगमा कथाविहीन बनाउँछ, त्यो बेला मान्छे मर्छ, आत्महत्या गर्छ किनभने जीवनमा कथाको छेउमा टेक्निकल अधिकारले बडो कम अर्थ राख्छ !

अलिकति बुझ्नुभो ? बुझ्नुभएन र पुरुष हो, पुरुषप्रधान मानसिकता छ । त्यहीअनुसार लेक्चर दियो भनेर सोच्नुभयो भने पनि केही छैन, त्यसले मलाई खास फरक पार्दैन, बस तपाईंको तरिकाले लीलालाई अधिकार सम्पन्न पारिदिनोस् । भइगयो, म नारीवाद खासै बुझ्दिनँ तर यो पनि बुझ्दिनँ कि कति महिला कथाको खोजीमा छन् र कति टेक्निकल अधिकारको खोजीमा छन् ।

म यतिचाहिँ बुझ्छु, नेपालमा अधिकार प्रक्रियाको रूपमा आउँछ, हिजो सासुकहाँ भएको तालाचाबी आज हिजो घरमा हेपिएकी बुहारीसँग छ । सारा घरको जिम्मा उसमा छ किनभने उसले वर्षौं खर्चेर कथा निर्माण गरेकी छे, कथामा भावनात्मक जिम्मेवारी हुन्छ । आज विवाह गर्ने अनि भोलि घर मेरो आधा भनेर छुट्टिने उग्रवादी टेक्निकल अधिकार समाजमा अब्बल होला कि कथानकतासहितको भावनात्मक अधिकार ? यतिचाहिँ हरेकले सोच्नै पर्ला भन्ने मलाई लाग्छ, त्यो जुनसुकै वादी होस्, त्यसले खास फरक पार्ने देख्दिनँ ।

अर्की मलाई मनपरेकी नारी पात्र छे, उसलाई म जबजब सम्झन्छु, प्रतिरोध कसरी हुन्छ भनेर बुझ्छु । त्यो पात्र हो, रोहिन्टन मिस्त्रीका फिरोजशा बागका कथाहरूभित्रकी दौलत । दौलतको पति मिनेचोर मिर्जा लामो समय बिरामी भएर मर्छ । ऊ मर्दा पनि दौलतको प्रार्थनाअनुसार लामो समय छट्पटी नगरी अलिक निको भएजस्तो भएर सहज रूपमा मर्छ मिनेचोर; उसले धेर दु:ख नपाई सम्मानजनक रूपमा मरेकाले उसको चित्त बुझ्छ, त्यसैले ऊ धेर रुन्न ।

उसलाई भित्रैदेखि शान्ति मिलेको छ, ऊ खुसी नै छे । सुरुमै पतिको मृत्युलाई सहज रूपमा लिएकी छे तर उसलाई वास्तविक पीडा त त्यो बेला हुनथाल्छ, जब उसको अन्तिम संस्कारमा आफन्त, इष्टमित्र तथा छरछिमेकी आउन थाल्छन् । हरेकले कति दिन बिरामी भयो, के खायो, कस्तो अवस्था भयो ? जस्ता प्रश्न सोधेर उसलाई त्यो बिरामी स्याहार गर्दाको पीडायुक्त दिन सम्झाउँछन् । ऊ दिनभर व्याख्या गरेर थाक्छे, उसको दु:ख पनि धेरै गुणा बढ्छ ।

फेरि ती प्रश्नहरू यस्ता मान्छेहरूले सोध्छन्, जो उसको पति बिरामी हुँदा एक दिन पनि हेर्न आएनन् र एक शब्द पनि सोधेनन् । यसले उसलाई थप पीडा दिन्छ । त्यो बेला उसले त्यो अवस्थालाई यसरी प्रतिरोध गर्छे कि हरेक पाठकलाई ताज्जुब लाग्छ । उसले आफ्नो पति बिरामी हुँदा केके भयो भनेर सम्पूर्ण विवरण एउटा क्यासेट प्लेयरमा रेकर्ड गर्छे र जसजसले प्रश्न सोध्छन्, तिनका छेउमा क्यासेट प्लेयर बजाइदिएर ऊ आफ्नो काममा व्यस्त हुन्छे ।

समाज औपचारिकतामा अडेको छ । उसलाई थाहा छ, औपचारिक कुरा सोध्ने र दु:ख जाहेर गर्ने (अझ भनौँ दु:ख जाहेर गरेजस्तो गर्ने) र सहानुभूतिको नाममा उसको खाटा बसिसकेको घाऊ झन् आलो बनाएर कोट्याउनेहरूलाई उसले पनि औपचारिक जवाफ दिन्छे । समाज टेक्निकल छ, औपचारिकता खोज्छ, त्यसको जवाफ औपचारिकताले देऊ, समाजमा रोएर नबस भनेर जुन दिन दौलतले मलाई सिकाई, त्यही दिन मिस्त्री मेरा सम्मानित लेखक बने ।

उनको हकमा पनि नैपलकै हकमा जस्तै उनको अडानमा भएका दाबी विरोध, असंगति आदिमा फस्नु छैन तर रचनात्मक बन्ने हो भने हरेकले आफ्नो अवस्थामा प्रतिरोध गर्न सक्छ जुन हिंस्रक हुनु जरुरी नै छैन भन्ने मैले राम्ररी नै सिकेँ।

यहाँ दौलतले चित्तबुझ्दो कथा भेटेकी छे, उसको जिन्दगी सहज भएको छ । मान्छेहरूलाई राजनीतिभन्दा बढी रचनात्मक तरिकाले कथाको खोजमा लगाउने वाद कुनै छ भने म त्यो वादी भएको स्वघोषणा गर्छु । राजनीतिको नाममा, अधिकारको नाममा जीवन मर्न पाउन्न, यहाँ कथाको खोजी रोकिन पाउन्न । अस्तु !


अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।