उपनिर्वाचन समीक्षा : किन गुमायो नेकपाले पकड ?

उपनिर्वाचन समीक्षा : किन गुमायो नेकपाले पकड ?

अनुरोध शर्मा  |  दृष्टिकोण  |  मंसिर १६, २०७६

मंसिर १४ मा भएको उपनिर्वाचनको परिणाम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लागि अप्रत्यासित भयो । आफ्नो पकड क्षेत्रमै हार व्यहोर्नुपर्‍यो नेकपाले । जुनजुन क्षेत्रमा ‘ह्याकुलाले मिचेर’ जितिन्छ भन्ने भ्रम थियो, तीती क्षेत्र नराम्ररी गुमाउनुपर्दा नेकपा विचलित हुनु स्वाभाविक हो ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ जनप्रतिनिधि निर्वाचित गर्न शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणामबाट सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई राम्रै धक्का दिएको छ । भक्तपुर १ को ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका पूर्वमाओवादी नेता डीपी ढकाल पराजित भएपछि दाहाललाई धक्का पुगेको हो ।

भक्तपुरको खरिपाटीदेखि नगरकोट जाने बाटो पाँच वर्षदेखि नबनाई धुलाम्मे बनाएको स्थानीयवासीको आरोप छ । सडक निर्माणको ठेक्का पाएका ठेकेदार प्रचण्डका घरभेटी शारदाप्रसाद अधिकारीविरुद्ध सडकमै उत्रिए स्थानीय ।

नेकपा अध्यक्ष दाहालकै ढिपीमा प्रदेशसभा सदस्यको टिकट पाएका ढकाललाई उम्मेदवार बनाएकामा पूर्वएमालेहरूको रुष्ट थिए, जसको नतिजा देखाइदिए– अघोषित अन्तर्घात गरेर ।

यसरी नै पुष्पकमल दाहालको गृह जिल्ला चितवनस्थित भरतपुर महानगरपालिका– १६ मा नेकपाका वडा अध्यक्षका उम्मेदवार पराजित भएका छन् । कांग्रेसका अमृतराज हमालले सत्तारुढ नेकपाको गढ भत्काइदिएका छन् । चितवनको खैरहनी नगरपालिका ४ र ५ नम्बर वडामा समेत कांग्रेसले जितेको छ ।

आफ्नी सुपुत्री रेणु दाहाललाई भरतपुरको मेयरमा जिताउन अनेक तिकडम गरेका प्रचण्डले यस उपनिर्वाचनमा भने त्यस्तो केही गर्न भ्याएनछन् ? भन्ने टिप्पणी पनि सुनियो । यद्यपि, यसले त्यस क्षेत्रमा नेकपा अर्थात् प्रचण्डप्रतिको जनताको असन्तुष्टि भने निर्वाचन परिणामले देखाएको छ ।

उपनिर्वाचनको परिणामले नेकपा नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई पनि नराम्ररी झड्का दिएको छ ।

पोख्रेलको निर्वाचन क्षेत्र घोराही उपमहानगरपालिका– १६ को वडा अध्यक्षमा कांग्रेसका ताराबहादुर डीसी निर्वाचित भएका छन् । यसअघि सो क्षेत्रमा तत्कालीन एमालेका लक्ष्मी बुढामगरले जितेका थिए ।

पूर्वमन्त्री तथा ‘सादगी नेता’ लालबाबु पंडितको क्षेत्र मोरङको धनपालथान गाउँपालिका– २ को वडा अध्यक्षसमेत कांग्रेसले नेकपाबाट खोसेको छ ।
अर्को पकड क्षेत्र सुनसरीको धरान पनि नेकपाबाट गुम्ने खतरा देखिँदै आएको छ ।

यसबीचमा नेकपा सरकारले गरेका केही गल्ती र कमजोरीबाट जनता रुष्ट नभएका होइनन् । १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न यतिका समयसम्म चुकेकामा सचेत जनता रुष्ट छन् । उनीहरूलाई ‘यो सरकार जनताको सुरक्षागर्न अक्षम छ’ भन्ने परेको छ । उता, ३३ किलो सुन तस्करी काण्ड यतिकै गुपचुप हुँदै गएको छ । यसले यो सरकार तस्करी, विकृति र भ्रष्टाचार रोक्न सक्षम छैन भन्ने परेको हुन सक्छ जनतामा ।

तर, किन तीती क्षेत्र गुमे ? के छ यसका पछाडिको कारण ? केके कमजोरी भए ? भन्ने विषयमा सोचेन भने अब आउने आमनिर्वाचनमा पनि नेकपाको गति बिग्रिने पक्का छ ।

नेपाल, भारत जस्ता तेस्रो देशहरू अर्थात् अविकसित/विकासशील देशका मानिसको मनोविज्ञान परिवर्तन भइरहन्छ । यस्ता मुलुकका जनताको इच्छा, आकांक्षा, आवश्यकता र बुझाइमा फरकपन आइरहन्छ । उनीहरू सिधा, सोझा, सामान्य र अस्थिर हुन्छन् । यसको फाइदा चलाख र धुर्त राजनीतिक नेतृत्वले हरदम लिइरहन्छ अनि तिनै सिधा र अस्थिर नागरिकमाथि शासन गर्छ ।

हाम्रो देशमा पनि विगतदेखि हालसम्म यस्तै अवस्था कायम छ । कुनै पनि चुनावमा दोहोरिएर सत्तारुढ दल पुनः सत्तामा पुग्ने अवस्था अत्यन्त दुर्लभ हुन्छ । कारण, माथि भनिएझैँ, मतदाता अर्थात् जनता अस्थिर छ । यो अस्थिरता उसका आवश्यकता, इच्छा, चाहना र चेतनाको उपज हो ।

तेस्रो मुलुकमा रहेको अशिक्षा, बेरोजगारी, अविकास, पछौटेपन आदिलाई देखाएर चिल्ला मीठा चुनावी नारा बेचेर सत्तामा पुगेकाहरू जब सत्तामा पुगेपछि तिनै उनीहरूलाई सत्तामा पुर्‍याउनेलाई जब बेवास्ता गरेर आफू अमन चयन अनि रामरमितामा रमाउन थाल्छन्, तब निरीह र सोझा जनतामा वितृष्णा उत्पन्न हुन थाल्छ । आफूले गल्ती गरेको महसुस हुन थाल्छ जनतालाई । त्यसपछि उनीहरूको अस्थिर मन पुनः बटारिन्छ, कुँडिन्छ र ‘अर्को चुनावमा चाख्लास्’ भन्ने मनोविज्ञानबाट निर्देशित हुन्छन् ।

फलतः सत्तारुढ राजनीतिक दल अर्को चुनावसम्ममा जनताबाट अस्वीकृत बनिसकेको हुन्छ ।

अहिले भएको उपनिर्वाचनमा माथि भनिएको तथ्य एउटा प्रमुख कारक हुन सक्छ । त्यसो त यसबीचमा नेकपा सरकारले गरेका केही गल्ती र कमजोरीबाट जनता रुष्ट नभएका होइनन् । १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न यतिका समयसम्म चुकेकामा सचेत जनता रुष्ट छन् । उनीहरूलाई ‘यो सरकार जनताको सुरक्षागर्न अक्षम छ’ भन्ने परेको छ । उता, ३३ किलो सुन तस्करी काण्ड यतिकै गुपचुप हुँदै गएको छ । यसले यो सरकार तस्करी, विकृति र भ्रष्टाचार रोक्न सक्षम छैन भन्ने परेको हुन सक्छ जनतामा ।

यसबीचमै नेकपाका प्रभावशाली नेता, सभामुखसमेत रहेका कृष्णबहादुर महराको ‘बलात्कार’ काण्ड बाहिरिनुले नराम्रो धक्का लागेकै छ ।

निकै समय बाँकी छँदै केही मन्त्रीहरूलाई निकालेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने, प्रधानमन्त्रीका केही सल्लाहकारलाई फेरबदल गर्नुपर्ने काम यहीबीचमा गर्नुपरेको छ, जसले सरकार र प्रमुख कार्यकारीको सक्षमतामाथि नै प्रश्न उठाएको छ ।

यसका अतिरिक्त ‘सपनाको भारी’ बोकाएर निरीह र भोका, नांगा जनताको भावनामाथि पटक पटक हेलचेक्र्याइँ गरिरहँदा सरकार, प्रधानमन्त्री, कुनै पनि नेताको स्थिरता, सम्मान र इज्जत हुँदैन भन्ने पनि बुझ्न सक्नुपर्ने हो तर त्यसो भएन ।

भोको पेटले प्रजातन्त्र बाँच्दैन । नांगो आङले गणतन्त्रको इज्जत ढाक्दैन । सपनाको लड्डुले पेट भरिँदैन भन्ने नेकपा तथा सरकारलाई थाहा भएको भए आज नेकपा यसरी जनताबाट अस्वीकृत भइहाल्ने बेला होइन ।