अनमोलले जिते ‘स्टार अफ दि इयर’ काे अवार्ड

अनमोलले जिते ‘स्टार अफ दि इयर’ काे अवार्ड

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १६, २०७६

काठमाडाैं । डेब्यू फिल्म ‘होस्टेल’ देखि नै आफ्नो क्रेज सस्तो बन्न नदिएका अनमोल हरेक फिल्ममा समीक्षकबाट अभिनयको आलोचना खेपेकै हुन्छन् । अहिलेसम्म कुनै फिल्ममा चरित्रलाई आत्मसात् गर्न नसकेका उनले उत्कृष्ट अभिनेता वा पपुलर अभिनेता विधाको अवार्ड भने वर्षेनी चुमिरहेका छन् । अवार्ड कार्यक्रममा पुगेपछि कुनै न कुनै विधामा अवार्ड लिएरै घर फर्किन्छन् । 

नेपाली फिल्मका सबैभन्दा ठूला स्टारडम भएका अभिनेता अनमोल केसी, उनलाई जति फिल्मको अफर अहिलेको समयमा सायदै अरु कसैलाई आउँछ । उनले फिल्म गर्नका लागि ‘हुन्छ’ मात्र भने निर्माताहरु ५० लाख पारिश्रमिक आँखा चिम्लिएर दिन तयार हुन्छन् । 

स्क्रिप्ट चित्त नबुझेको भन्दै साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ छाडेर आफू अभिनीत ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर’ को चौथो श्रृंखलामा काम गर्न राजी भएका उनी अहिले विदेश भ्रमणमा व्यस्त छन् । गएको हप्ता आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा सहभागी हुन जापान पुगेका उनी उतैबाट ‘ग्लोबल फिल्म अवार्ड’ मा भाग लिन अमेरिका गए । अहिले उनी अमेरिकामा छन् । 

उनी अवार्ड आफूले पाउने पक्का भएपछि मात्र अवार्ड कार्यक्रममा पुग्छन् । होईन भने अनुहार मात्र देखाउन जाँदैनन् । हिजोआज उनी अवार्ड कार्यक्रममा पुगेपछि उत्कृष्ट अभिनेताको अवार्ड उनैले पाउने ग्यारेन्टी जस्तै हुन्छ । पाँच तारे होटलको बारदेखि दर्शक नै नभएको कार्यक्रममा समेत गर्वका साथ अवार्ड चुमिसकेका अनमोललाई यस वर्ष पनि अवार्ड उचाल्न भ्याइनभ्याइ छ । 

जापानपछि उनी अर्को अवार्ड कार्यक्रममा सहभागी हुन पिता भुवन केसीसँग अमेरिका गए । अमेरिका जादैं गर्दा जापानको विमानस्थलमा अभिनेत्री वर्षा राउतसँग खिचेको तस्विर बाहिरिएपछि ‘ग्लोबल फिल्म अवार्ड’ मा पनि उनले अवार्ड पाउने धरैकाे दाबी थियो । अन्ततः आइतबार भएको अवार्ड कार्यक्रममा उनले ‘स्टार अफ दि इयर’ को अवार्ड जितेका छन् । 
 
उनी मात्र होइन ‘ग्लोबल फिल्म अवार्ड’मा सहभागी हुने प्रायः सबै कलाकारले कुनै न कुनै विधामा अवार्ड जितेका छन् । पछिल्लो समय नेपाल तथा विदेशमा हुने नेपाली फिल्म अवार्ड ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने शैलीमा बाँड्ने गरिन्छ । यसबाट ‘ग्लोबल फिल्म अवार्ड’ अपबाद रहने कुरै आउँदैन । सबैलाई अवार्ड दिएर आयोजकले कसैलाई दुखी हुन दिएन । 
अभिनेता अनमोलले अवार्ड पाएको तस्विर सामाजिक सञ्जालमा साझेदार गर्दै आफूले पाएको अवार्ड आफ्ना प्रशंसकलाई समर्पित गर्न चाहेको बताएका छन् ।