गुमनाम सुके ताल

गुमनाम सुके ताल

लोकसंवाद संवाददाता  |  पर्यटन  |  फाल्गुन ८, २०७५

पाल्पा । तिनाउ गाउँपालिका–२ स्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुके ताल संरक्षणको पर्खाइमा रहेको छ । तालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुंगाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ । 

उचितरूपमा ताल क्षेत्रको संरक्षण गरी सयौँ पर्यटक घुमफिर गर्ने थलो बनाउन सकिने भए पनि पर्याप्त मात्रामा प्रचारप्रसार हुन नसक्दा महत्व बोकेको यस क्षेत्र गुमनाम छ । प्राकृतिक हिसाबले समेत महत्वपूर्ण रहेको सुके ताललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने देखिन्छ । तर, अझै भौतिक संरचनाको विकास हुनसकेको छैन । ताल सुकेर सुकी अर्थात् ढक पैसाको आकारमा फैलिएको छ । तीन रोपनी जग्गामा फैलिएको ताललाई प्रदेश ५ को प्रसिद्ध तालको रूपमा विकास गर्ने योजना अघि बढाइएको गाउँपालिका स्रोतले जनायो । 

ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्न सरकारले पर्यटकलाई आकर्षण हुनेखालका संरचनाको विकास गर्नुपर्ने सरोकारवालाको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार सुके ताललाई पर्यटकीय गन्तव्य बनाउन सके स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहज हुनेछ । गाउँपालिकाले विकास र समृद्धिको नाराअनुसार नीति तथा कार्यक्रम बनाएर तालको आसपासमा सञ्चालित घरबास (होमस्टे) प्रभावकारी बनाउनेतर्फ लागेको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । 

निजी जग्गा किनेर ताललाई सात रोपनी क्षेत्रमा फैलाउने गरी काम भएको र यसले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले राष्ट्रपति चुरे संंरक्षण कार्यक्रमअन्तर्गत १५ लाख रूपैयाँको बजेटमा ताललाई थप विस्तार गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागेको बताउनुभएको खबर राससमा छ ।