स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर १७, २०७६

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि र सरुवा भएर अन्यत्र गएपछि थप आउनुपर्ने स्थ्यस्वाकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो ।

स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको जानकारि गराउनुभयो । दैनिक १५ देखि २० जना सर्वसाधारणहरू उपचार सेवा लिन आउने स्वास्थ्यचौकीमा बढु र एक कार्यालय सहायक मात्र कार्यरत हुनुहुन्छ ।

आफू एक्लैले कार्यालयको प्रशासनिक काम, बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरणको काम गर्नुपरेको बढुले बताउनुभयो । 'एक्लैले सबै काम गर्नुपर्दा कठिनाइ भइरहेको छ', बढुले भन्नुयो, 'जसकारण सबै बिरामीलाई सेवा दिन सकिएको छैन ।'

बिरामीको स्वास्थ्य परीक्षण गर्ने अहेव र स्वास्थ्य सहायक नै नभएपछि सेवा लिन आउने सबै सर्वसाधारणलाई सेवा दिन नसकिएको उहाँको गुनासो छ । बढुका अनुसार सरुवा भएर आउने कर्मचारी नआउने भएमा अर्को विकल्प खोज्न गाउँपालिकालाई अनुरोध गरिएको छ ।
 
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सरुवा भएर आउने स्वास्थ्यकर्मीको टुङ्गो लागिसकेपछि अर्को व्यवस्था गरिने जानकारी दिँदै सर्वसाधारणको स्वास्थ्यप्रति गाउँपालिका गम्भीर रहेको बताउनुभयो । स्थानीयवासी रामबहादुर गुरुङले स्वास्थ्यचौकीमा एक मात्रै स्वास्थ्यकर्मी भएका कारण सेवा लिन धेरै समय कुर्नुपरेको बताउनुभयो ।