चिनी मिलले नै उखुको मूल्य तोक्ने !

चिनी मिलले नै उखुको मूल्य तोक्ने !

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १७, २०७६

कञ्चनपुर । बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य तोक्ने निर्णय गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य तोकिएको हो । 

सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल ४४० रुपयाँ, सामान्य उखुको मूल्यप्रति क्वीन्टल ४१६ रुपयाँ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल चार सय रुपयाँ तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताउनुभयो । चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ ।
 
मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ । किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताउनुभयो । 

उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । उखु किसानसँग गरेको सहमति अनुसार ६५ रुपयाँ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् । किसानसँग गरेको सहमतिको  २३ करोड रुपयाँ मूल्यमा हालसम्म सरकारले १६ करोड रुपयाँ उपलब्ध गराए पनि अझै  सात करोड तीन लाख रुपयाँ दिन बाँकी रहेको संयोजक विष्टले बताउनुभयो ।