कर्मचारी समायोजन विधेयक पारित

कर्मचारी समायोजन विधेयक पारित

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ८, २०७५

काठमाडौं । राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । 

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्तै ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ समेत दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । 

बैठकमा ती दुवै प्रस्तावलाई कानुनमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री पण्डितले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । 

बैठकको सुरुमा राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक, २०७५’ र ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’लाई टेबुल गर्नुभएको थियो । 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५’ तथा प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त ‘राहदानी विधेयक, २०७५’का सम्बन्धमा समितिका प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन १२ गते अपराह्न २ः३० बजे बस्ने खबर राससमा छ ।