चार धाम यात्राः पितृ ऋणमुक्तिको सम्बन्ध र साधकहरूको भक्तिभावमाथिको खेलबाड

चार धाम यात्राः पितृ ऋणमुक्तिको सम्बन्ध र साधकहरूको भक्तिभावमाथिको खेलबाड

दिलीपकुमार चापागाईं  |  दृष्टिकोण  |  मंसिर १८, २०७६

जुनबेला हामी तीर्थाटनका लागि अगाडि बढिरहेका थियौँ । त्यो समयमा नेपालमा भने संविधानका विषयमा बहस चलिरहेको थियो । संविधानमा आआफ्ना समुदायका माग र मुद्दा समावेश गराउने हेतुले विषयको तीब्र रूपले नेपाल बन्द गर्नेजस्ता कार्यहरू निरन्तर रूपमा चलिरहेका थिए ।

संविधान निर्माणका  ‘कथित कुराहरू’ले सबैको ‘ब्लड प्रेसर’ बढेको अनभूति भइरहेको  थियो । सबै समुदाय आन्दोलित भएको बेलामा आफू भने दिव्य यात्राको दूर आनन्दको अनुभूतिमा पौडी खेल्न लागिएको थियो । 

काठमाडौंको राप भोग्दै रापिँदै गएको अनुभूति गरेका हामीले  विराटनगर पनि रापिइसकेको पायौँ ।

हामी त तीर्थ यात्री ! आफ्नो संकल्प र योजना नै साधक ! त्यसैले अरू कुराको भन्दा यात्राको सफलताको कुराले हामीलाई  पिरोलिरहेको थियो । त्यसै समयको प्रतीक्षामा ध्यान बढी केन्द्रित हुनु स्वाभाविक थियो । पहिलो यात्राको दिन सुरु भयो २०६९ जेठ ८ गते । हामी पटनाका लागि प्रस्थान गर्‍यौँ । भोलिपल्ट बिहान पटना पुगियो । विराटनगरबाट सिधै पटनासम्म पुग्न सकिने सुविधा रहेछ । त्यसको हामीले पनि उपयोग गरेका थियौँ ।  

पहिले पुनपुन श्राध्द गर्नुपर्ने विधिको बारेमा जानकारी भयो । त्यसका लागि पनि पटनाबाट व्यवस्था मिलाएर जाने तयारी थाल्यौँ । तीर्थ यात्रा हो, रमाइलो र नरमाइलो सँगसँगै आइरहेको थियो । यात्रालाई जति छरितो बनायो, उति सहज र सरल हुन्छ भन्ने मेरो मान्यता थियो । त्यसरी नै जति भद्दा बनायो, त्यति नै कठिन पनि ।

हामीले हामीसँग साथमा लिएर गएका सामान यात्रालाई भद्दा र बोझिलो बनाउने कारण बनिरेहका थिए । धेरै सामान भएकाले बारम्बार ओसारपसार गर्दा खर्च र दुःख अत्यधिक हुने क्रम जारी थियो । त्यति मात्र होइन, सामानलाई कहाँ राख्ने र कसरी भावी बन्दोबस्त मिलाउने ? त्यसरी नै भोक लागेको बेलामा सामानको बन्दोबस्त कसरी मिलाउने र खाना खाने ? यस्ता झन्झटको सामना दैनिकजसो गर्नुपरिरहेको थियो ।

यात्राको क्रममा सबैभन्दा पहिले यो समस्या पटनामा नै सामना गर्नुपर्‍यो । पुनपुन श्राद्ध गर्न जाँदा सामान कहाँ राखेर जाने ? सामान लिएर जाऊँ वा आऊँ, ठूलो बिलखबन्दमा परियो ।  प्लेटफार्मको अगाडिपट्टि भएका ससाना होटललाई विकल्पका रूपमा लिन बाध्य भइयो ।

बिहारको  ‘सुरक्षा’का बारेमा राम्रो जानकारी त थियो तर बाध्यता परेपछि संभव भएसम्मको विकल्पलाई रोज्नै पर्ने अवस्थामा थियौँ हामी । त्यसैले हामीले पटनाको एउटा होटलमा दिउँसोभरिका लागि सामान राख्न भारतीय रुपैयाँ २५० मा सामान राख्ने विषयमा सहमति भयो ।

जब सामान कोठामा राखी मात्र के सकेका थियौँ, तब होटलवालाले २५० रुपैयाँले हुँदैन भनेर अड्डी कसे । थप २५० रुपैयाँ दिनुपर्छ भने । पहिलो पटक बिहारी शैलीको शिकार भइरहेका थियौँ हामी । सामान निकालौँ, २५० रुपैयाँ तिरिसकिएको छ, ननिकालौँ २५० रुपैयाँ थप नगरी नहुने अवस्था सिर्जना भयो ।

हामी ती बिहारी होटलवालाको दरिद्रपनाको पहिलो सिकार भयौँ । आफूलाई व्यवस्था गर्नै पर्ने भएकाले मुटु बाँधेर थप रकम दिएर सामान राख्नुको विकल्प हाम्रा सामु थिएन ।

पुनपुनमा श्राध्द गर्नलाई  खास समय लागेन । किनभने त्यो तीर्थको श्राध्द थियो । कपाल काट्नका लागि २० रुपैयाँ दर रहेछ । मैले सुरुमा २० रुपैयाँमा नै काटी हालेँ । जब विष्णु दाइ, ईश्वर दाईले कपाल काट्न के भन्नुभएको थियो, मसिनो स्वरमा २०० रुपैयाँ भन्न थाले । फेरि ठागीमा परिने भयो भन्ने महसुस भयो ।

ठग्न पाए ठगिहालौँ भन्ने मनसायले कपाल काट्न बसेकाले प्रस्ताव गरे । तर, हामीले अरूको पनि २० रुपैयाँमा मात्र काटेको भनेर अडान लिएर एक स्वरमा कराएपछि भने २० रुपैयाँमा नै कपाल काट्ने कामबाट पार पायौँ ।

पुनपुनलाई धार्मिक क्षेत्रको रूपमा जसरी महत्त्व दिइएको छ, त्यसको पुष्टि र अनुभूति पटक्कै हुन सकेन । नयाँनयाँ पण्डाहरू श्राद्ध गर्नेले कति दिए, कति दान गर्छन् ? त्यसको फेहरिस्त तयार गरी समूहमा तत्कालै बण्डा गर्दा रहेछन्, अचम्मलाग्दो गरी ।

मेरा लागि स्वाभाविक थिएन त्यो व्यवहार । त्यो उनीहरूको निजी स्वभाव भएकाले कति चर्चायोग्य छ, त्यो आफ्नो ठाउँमा होला तर त्यो स्थान र पितृ ऋणमुक्तिको सम्बन्धलाई प्रस्ट्याएर साधकको भक्तिभावमाथिको खेलबाड गर्ने काम साधकहरूको भावनाअनुकूलको थिएन ।

फेरि अत्यन्तै फोहोर । पुनपुन नदी ढलको रूपमा नै बगेकी स्थितिले पनि स्थानको गरिमाप्रति पनि पटक्कै मनले छोएन । त्यसैले सबै कार्यहरू प्रक्रियाभित्रको अनिवार्यता ठानी औपचारिकतमा सम्पन्न गरियो । सेकेको बाह्मण भोजन गराएर हामी बाटो लाग्यौँ ।

पटनामा आएर खाना खायौँ । गया गए पनि हुन्थ्यो तर फेरि हरिहर क्षेत्रमा आउनलाई कार्यक्रम नै मिलाउनुपर्ने भएकाले आएको बखत सो क्षेत्रमा जाने कार्यक्रम मिलाउनु श्रेयष्कर ठान्यौँ । हरिहर क्षेत्रको महत्त्वलाई ग्रहण गरेर जाने इच्छाले हामीलाई त्यसतर्फ डोहोर्‍यायो ।

भारतीय बजार प्रतिस्पर्धी त छ नै, ठग प्रवृत्ति पनि सँगसँगै रहेको हामीले भोगिरहेका थियौँ ।  हरिहर क्षेत्र जानलाई टेम्पो, ट्याक्सीको व्यवस्था गर्न भनेर लागेका थियौँ । पुनः यत्राका अवरोध पहाडको रूपमा देखापरे, हामीले सँगै लगेका सामान । समस्या उही दोहरियो, सामान कहाँ राख्ने ? कता राख्ने ? कसरी  बस्ने ? फसाद आइलाग्यो ।

हामी ३ तीन जना पछि बस्यौँ । ईश्वर दाइ भाउजू, म र सामानको थुप्रो सँगै । भारतको गर्मी, पछाडिको सिट र सामानको थुप्रोसहित हरिहर क्षेत्र यात्रामा पीडादायी र संकटपूर्ण नियति भोग्न बाध्य भइयो । कतिपय स्थानमा सामानले थिचेर बोल्नसमेत पाइएन, चटपटाउन पाइएन । गर्मीले गर्दा रमा भाउजूलाई निकै कष्ट भयो ।

यो दुर्दशा र संकट अरूले नभई हाम्रो सामानले निम्त्याइरहेको  थियो । सामान थोरै र आफ्नो नियन्त्रणभित्रको भएको भए हामी साधारण बसबाट मात्र पनि आरामसँग सस्तो र सुविधाजनक यात्रा पूरा गर्ने रहेछौँ भन्ने अनुभव भयो । तर, हामी पूर्ण धार्मिक यात्री थियौँ ।

घरका चमल र पूजाका सामाग्री आदिको प्रवन्धसहितका तीर्थ यात्री !  त्यसैले पनि हामीसँग आफ्नै सामान हुनुपर्छ भन्ने मान्यताले काम गरेको थियो । फेरि यसभन्दा पहिला हामी कसैसँग यस्तो यात्राको अनुभव पनि त थिएन ! हाम्रो उचित ध्यान नपुगेका कारण यी समस्या भोग्नुपरिरहेको थियो । त्यसैले जे भए पनि परिस्थितिले ल्याएका अप्ठ्यारा, गाह्रासाँघुराको  आफ्नो क्षमताअनुसार सामना गर्दै, सम्हाल्दै यात्रालाई धकेल्नुको विकल्प पनि हामीसँग थिएन । 

हरिहर क्षेत्रमा एक रात बिताउने र त्यसपछि गया श्राद्धका लागि जाने योजना बनाएका थियौँ । त्यसैले पनि बिहानको फिर्ती बन्दोबस्त पटनाबाट नै मिलाएर हामी हरिहर क्षेत्र गएका थियौँ ।

हरिहर क्षेत्र ग्रामीण वस्तीमा रहेछ । गंगाजीको किनारमा रहेको यो क्षेत्र अध्यात्मिक रूपले पनि पवित्र लाग्यो । पुनपुनमा आस्थामाथि भएको खेलबाडलाई बिर्सने खालको रहेछ । एक रातको बसाइ साँच्ची नै रमाइलो अनुभूति भयो । यसै आनन्दसँग हरिहर क्षेत्रमा हाम्रो वास भयो । 

अघिल्लो दिनको योजना र व्यावस्थाअनुसार नै बिहान केही ढिलो गरी भए पनि हामीले व्यावस्था गरेको जीप आयो । हाम्रो गन्तव्य थियो, गयातर्फको । हामी त्यतातर्फ लाग्यौँ । यद्यपि, हामी ट्रेनबाट गया गएको भए कम खर्चमा पुगिने रहेछ । अनुभव र जानकारीको अभावमा फेरि ठगियौँ तर यी सबैका लागि  हामीसँग फेरि सामानको झन्झट त छँदै थियो ।

सामान  कसरी व्यवस्थापन गर्ने, त्यो पिरलोले हामीले महँगो भए पनि जीपलाई रोज्न बाध्य हुनुपर्‍यो । बाटोमा जाममा पर्‍यौँ । गर्मी अति बढेकाले लूको राम्रै अनुभव गर्न पाइयो । फेरि जीपको टायर पंचर भएकाले बाटोमा पर्खनुपर्दा हामीलाई  गर्मीले सताउनसम्म सतायो ।

विश्व गाउँ निर्माण त्यहाँ पनि रहेछ । विभिन्न देशका गुम्बा, मूर्तिको वास्तुकलालाई त्यहाँ पनि देख्न पाइन्छ, जुन नेपालमा पनि थिए । तर, फरक थियो, नेपालमा यात्रीहरूको सुविधाका लागि न त ध्यान दिने गरेको पाइन्छ, न लुम्बिनीसम्म पुग्ने व्यवस्था नै राम्रो छ । न खाने, न बस्ने व्यवस्था राम्रो छ । न त सस्तो, न उच्चकोटिको महँगो होटलको नै ।

गयामा पहिले हामी धर्मशाला नै गयौँ । बाहिर बस्ने ठाउँ भए पनि धर्मशालाको अवस्था हेरेर मात्र अन्य विकल्प रोज्ने सहमतिअनुसार धर्मशाला गयौँ । हामीलाई नयाँ ठूलो हल प्राप्त भयो । राम्रै रहेछ, त्यहीँ बस्ने निधो गर्‍यौँ । खाने व्यवस्थाका लागि भाँडाकुँडा भाडामा पाइने भएकाले आफ्नो स्वादअनुसारको खानलाई सुविधा मिलेकाले सुविस्ता भयो ।

२०६९जेठ ११

बिहान श्राद्ध गर्न जानु थियो । बेलुकाको टिकट भएकाले पनि हामीले छिटो सबै कार्य सम्पन्न गरी यात्राका लागि तयारी गर्नुपर्ने बाध्यता । बिहान पण्डासँग कुरा भयो । स्वभाव अतितुच्छ रहेछ । हामी श्राद्ध गर्न भनी निस्कन लागेका थियौँ, गेटमा त ऊ पाले जस्तो गरी बसेको पो रहेछ ! मोलमोलाई सुरु भयो । उसका अपेक्षा र हाम्रो इच्छाबीचको मिलन नभएसम्म दलाली । अन्ततस् कुरा मिल्यो । श्राद्ध गर्न घाटतिर लाग्यौँ ।

गया श्राद्धले मलाई एउटा कुराको विश्वास भने जागृत गरायो । हाम्रो यात्राको प्रस्थान विन्दु साँच्चिकै गया रहेछ । स्थानीय पण्डाले श्राद्ध गर्दा ठूलो मोलमोलाई गरेनन् । उनी एकै पटक धेरै परिवारलाई श्राद्ध गर्नसमेत प्रवीण रहेछन् । फेरि गया श्राद्धको कुरा गर्दा नेपालका पुण्य भूमिको समेत उल्लेख गरे । मुस्ताङ कागवेनी, विश्णुपादुका श्राद्धका कुरा उठाएर त्यसको महत्त्वलाई समेत बताए र गयासँगको प्रसंगलाई जोडे ।

कर्तासँगको सरस र सौहाद्र्र सम्बन्धलाई खलबलिन नदिई कर्मलाई टुंग्याए । त्यसपछि भने स्थानको महत्त्वलाई प्रवृत्तिको कारणले चम्काउने, ओझेलमा पार्ने रहेछ । हाम्रा अग्रजले लिएको पन्थको सार्थकता कतै छ भन्ने लाग्यो ।

बेलुका १० बजेको दिल्लीको ट्रेन थियो । समय भएकाले त्यस अगाडि बोध गया, जहाँ भगवान् बुद्धले ज्ञान प्राप्त गर्नुभएको थियो, त्यस क्षेत्रको भ्रमण गर्ने इच्छा भयो । त्यस कारण पनि काम सकेर छिटो घाटबाट फर्कियौँ र बिहानको खान खाने  व्यवस्थामा जुट्यौँ ।

खाना समयमा नै तयार भयो ।  खायौँ तर बाहिर हिँडी नसक्नु गर्मी थियो । पिच पग्लिएका थिए । लू लाग्ने गरी हावा चलिरहेको थियो । त्यसैले फुत्तै निस्कन सकेनौँ । पण्डाले पनि केही पछि जाने सल्लाह दियो ।  बिहानको संवादबाट खुसी नै रहेछ ।

टेम्पो क्षणमा नै पाइने भएकाले हतार नगर्न सुझायो । राम्रै सल्लाह लाग्यो । खाजा खाएर मात्र जाने व्यवस्था मिलाइयो । हिसाब गरियो र बिल चुक्ता गरी हामी बोधगया लाग्यौँ ।

बोध गया बुद्धत्व प्राप्तिको ऐतिहासिक स्थान भएकाले धर्मावलम्बी तथा अनुसन्धानकर्ताहरूका लागि पनि उत्तिकै महत्त्वको रहेछ । फेरि धार्मिक पर्यटक र हामी जस्ता फड्के पर्यटकहरूले समेत यात्रा गर्ने भएकाले भीड रहेछ ।

मैले त लुम्बिनी जाँदा हाम्रो परिवेशकोे अनुभव गर्ने अवसर पाएर पनि होला, बोध गयाको पूर्वाधार विकासको अवस्था उच्चकोटिको लाग्यो । बुद्धलाई भारतीय प्रमाणित गर्नका लागि हुनेसम्म प्रयास गरेको पाइयो । विश्व गाउँ निर्माण त्यहाँ पनि रहेछ । विभिन्न देशका गुम्बा, मूर्तिको वास्तुकलालाई त्यहाँ पनि देख्न पाइन्छ, जुन नेपालमा पनि थिए । तर, फरक थियो,  नेपालमा यात्रीहरूको सुविधाका लागि न त ध्यान दिने गरेको पाइन्छ, न लुम्बिनीसम्म पुग्ने व्यवस्था नै राम्रो छ । न खाने,  न बस्ने व्यवस्था राम्रो छ । न त सस्तो, न उच्चकोटिको महँगो होटलको नै । 

त्यस दिन जानकीचट्टा, हनुमानचट्टा पुग्ने लक्ष्यका साथ अगाडि बढे पनि सकिएन । बिहान ढिलो हिँड्नु, त्यसमा पनि मैसूरको जामले सबै योजना विफल भयो । चिया, खाजा खाने लामो समयले पनि हामीलाई गन्तव्यमा पुग्न साथ दिएन । हतारको हिँडाइले बाटाका तीर्थस्थलको अवलोकन गर्ने, दर्शन गर्ने चाँजो मिलेन । त्यहाँको महत्त्वलाई बुझ्न र साक्षात्कार गर्न सकिएन ।

यात्रुहरू त सबै किसिमका हुन्छन् । यात्रामा सबै किसिमको  आवश्यकता पर्छ । त्यसरी नै खर्चको सीमा पनि त फरक फरक हुन सक्छ । त्यसको महत्त्वलाई नेपालले बुझेको देखिएन । त्यसरी नै बौद्ध दर्शनलाई आफ्नो संपतिको रूपमा संरक्षण गर्न, प्रवर्द्धन गर्नपट्टि लागेको समेत पाइएन । कताकता इष्र्या लागेर आयो ।

भारतको अतिक्रमण नेपालको भूगोलमा भइरहेको त  बुझेकै हो,  त्यसमा  हाम्रो बुद्ध,  जसको जन्म नेपालमा भएको थियो,  त्यस सत्यलाई अस्वीकार गर्नेगरी भएका प्रचारले अतिक्रमण ख्यातिप्राप्त व्यक्तित्वको स्वमित्वमा समेत भइरहेको अनुभव गर्दा मन पोलेर आयो । 

२०६९जेठ १२ गते बेलुका हामी गयाबाट दिल्लीतर्फ लाग्यौँ । ट्रेन २ घण्टा ढिलो रहेछ । त्यसमा पनि बिहान पुर्‍याउने भनेको पर्सिपल्ट मात्र दिल्ली पुग्यो । ट्रेनको सबैभन्दा लामो र दिक्कलाग्दो यात्राको अनूभूति भयो ।

दिल्लीबाट बिहानको ट्रेन हरिद्वारलाई रहेनछ । १० बजे नयाँ दिल्लीबाट जान्छ भन्ने थाहा भयो तर फेरि सामानको व्यवस्था कसरी गर्ने ? नयाँ दिल्ली र पुरानो दिल्ली गर्दै सामान ओसारपसार  संभव थिएन ।

३ दिनदेखि हामी ट्रेनमा नै छौँ । आफूले चाहेजसरी खाना खान पाइएको छैन । न त  फ्रेस हुन नै पाइएको छ । फेरि लोकल ट्रेन भीड हुने भएकाले सामानलाई छोटो समयमा चढाउन संभव थिएन । यसै बीचमा बसबाट जाने पो हो कि भन्ने सल्लाह भयो । बसपार्क गयौँ, बस जाँदोरहेछ, ढिलो गरी ।

हामी थाकिसकेकाले छिट्टै पुग्न चाहिरहेका थियाँै । त्यसै बीच सुमोको भाडा बुझ्यौँ । महँगो त लाग्यो तर हामीले हरिद्वार नपुगेसम्म अगाडिको यात्राको व्यवस्था गर्न नसक्ने । हरिद्वार नै वास्तवमा यात्राको प्रस्थान विन्दु भएकाले जसरी पनि त्यहाँ पुग्ने तर्क बलियो भएर आयो । तब सुमोको मोलमोलाई गर्‍यौँ  । कुरा  मिल्यो, हरिद्वार लाग्यौँ ।

२०६९ जेठ १३

हरिद्वार पुग्दा बिहानको ११ः३० भइसकेको थियो । कोठाको प्रबन्ध गरिव दास धर्मशालामा गर्‍यौँ । राम्रो रहेछ । खाना पकाउने प्रबन्ध पनि मिलायौँ । स्वादले त्यस दिनको खाना खाइयो ।

बेलुका गंगाजी गयौँ, हरक पौडी । भीड छ, जताततै गंगाको स्तुति र महिमाको वर्णन । हजारौँ यात्रीहरू आएका छन्, श्रध्दा  र भक्तिको अनुपम भावका साथ । लाग्छ, भगवान् त्यहाँ हुनुहुन्छ र केही क्षणमा दर्शन दिँदै हुनुहुन्छ ।

भजन छ, कीर्तन छ, साह्रै रमाइलो । यहाँबाट यात्राको सुखद अनुभवको प्रारम्भ भयो । गंगा माताको भक्तिमा हामी पनि आह्लादित भयौँ । पूर्ण धार्मिक भएर त्यो साँझ दर्शन गरियो ।

हरिद्वार साँच्चै नै राम्रो लाग्यो । गर्मी त त्यहाा पनि थियो तर एक किसिमको बेग्लै स्पर्श हरिद्वारले गरिरहेको थियो । बजारको भीडसँगको साइनो थियो । त्यहाको प्रबन्ध, मानव–मानवबीचको सम्बन्ध, व्यवसायी, व्यापारी, सर्वसाधारण देखि सबैले गर्ने व्यवहारले साइनो लायो ।

नेपालको एकीकरण हुँदा ती वस्तीहरू नेपालको भूभागमै हुनुपर्छ । धेरै नेपालीको वस्तीले त्यो कुराको संकेत गरिरहेको देखिन्थ्यो । नेपाली नै भए पनि नेपाली भाषा राम्ररी बोल्न सक्दैन रहेछन् । जे भए पनि नेपालको माया ती समुदायमा औधी रहेछ ।

मैले ‘हरिद्वार कति रमाइलो रहेछ’ भनिरहँदा ‘काठमाडौं झनै राम्रो छ अरे’ भनिहाले । नेपालको ईलाम, पाल्पा, पोखरा, मुक्तिनाथ, जोमसोम र अन्य सुन्दर शहर देख्न पाए झन् कति खुसी हुँदा हुन् ती प्रवासीहरू !

२०६९ जेठ १४

भोलिपल्ट गंगाजी स्नान गरी श्राद्ध गर्‍यौँ । बिहान सबेरै सबै काम सकियो । चारधामका लागि गाडीको बन्दोबस्त अघिल्लो दिन मिलाएकाले यात्राका लागि निस्किनु थियो । खाना खाएर जाने कि भन्ने पनि कुरा नगरेको होइन तर ड्राइभरले ढिलो हुने भएकाले निस्किहालौँ पछि बाटोमा अनुकूल मिलाएर खाऔँला भन्यो । सारथि थियो १० दिनको यात्राको, मान्नै पर्‍यो ।

९ बजे हामीले धर्मशाला छाड्यौँ । देहरादून मैसूरको बाटो लाग्यौँ । देहरादून नगुग्दै पंजाबीको ढावा रहेछ, त्यहीँ खाना खाइयो ।  त्यसपछि तुरुन्तै यात्रामा ।

उत्तराखण्डको राजधानी देहरादून राम्रो रहेछ । मैसुर त  पहाडकी रानी  । पूर्वको इलाम र दार्जिलिङलाई संझना दिलाउने झिलै झिलको शहरको उपनामले प्रख्यात । प्राकृतिक सुन्दरतासँगै पूर्वाधार विकासको फेरोमा उक्त शहर अति नै रमाइलो लाग्यो ।

लाखौँ प्रकृतिप्रेमीहरू, प्रेमका भोकाहरू आफ्नो प्यासलाई साम्य पार्न त्यो पहाडको शहर, झिलको शहरको स्पर्श गर्दा रहेछन् । हामी हतारमा थियौँ, बाहिरको मनोरमतालाई मात्र स्वादपान गर्‍यौँ ।

रापिलो साँझ र त्यससँग आउने रोमाञ्चकताले अझ कति कामुक बनाउँदो हो ! अनुमान गर्दा उमेर घटेको जस्तो भान भयो, त्यसको कल्पना मात्रले पनि । साँच्चै राम्रो रहेछ मैसूर । दुई घण्टा करिव जाममा परियो तर पनि पहाडी शहर भएकाले पूरा लाभ लिन सक्ने अवस्था थिएन । आँखाको अगाडि जति दृश्य आउँथे, त्यो काफी थियो हाम्रा लागि मैसुरको स्वाद लिन ।

यात्राको ठूलो कर्म बाँकी थियो, त्यसैले अगाडि बढ्न नै श्रेयष्कर लाग्यो, बढ्यौँ ।

त्यस दिन जानकीचट्टा, हनुमानचट्टा पुग्ने लक्ष्यका साथ अगाडि बढे पनि सकिएन । बिहान ढिलो हिँड्नु, त्यसमा पनि मैसूरको जामले सबै योजना विफल भयो । चिया, खाजा खाने लामो समयले पनि हामीलाई गन्तव्यमा पुग्न साथ दिएन । हतारको हिँडाइले बाटाका तीर्थस्थलको अवलोकन गर्ने, दर्शन गर्ने चाँजो मिलेन । त्यहाँको महत्त्वलाई बुझ्न र साक्षात्कार गर्न सकिएन ।

बेलुका हामी सानो वस्तीमा वास बस्न पुग्यौँ । रात काट्नलाई सुरक्षित अनुभव भयो ।

क्रमशः

याे पनि

फुर्सदको मन्त्रालयदेखि चार धाम तीर्थाटनसम्म