सत्र वर्षदेखि बन्द रहेको प्रशिक्षण केन्द्र सञ्चालनमा

सत्र वर्षदेखि बन्द रहेको प्रशिक्षण केन्द्र सञ्चालनमा

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १८, २०७६

नेपालगञ्ज । सत्र वर्षदेखि बन्द रहेको नेपालगञ्ज उपमहानगरपालिका–१४ महेन्द्रनगरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । प्रशिक्षण केन्द्रको  प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्यक्ष चासो देखाएपछि सञ्चालनमा आएको केन्द्रका निमित्त निर्देशक चण्डीलाल चौधरीले बताउनुभयो । 

साविकको मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिन २०२३ सालमा स्थापना भएको उक्त प्रशिक्षण केन्द्र सशस्त्र द्वन्द्वका बखत असुरक्षाका कारण देखाउँदै २०५८ मा बन्द भएको थियो । 

‘मुख्यमन्त्रीज्यूले चासो देखाएर बजेटको व्यवस्थापन गरेकै कारण प्रशिक्षण केन्द्र सञ्चालनमा आएर नयाँ जीवन पाएको छ’, निमित्त निर्देशक चौधरीले भन्नुभयो, ‘मुख्यमन्त्री कार्यालयका सचिवज्यूहरुले समेत अवलोकन गरी आवश्यक सल्लाह, सुझाव र निर्देशन दिनुभएको छ ।’

चौधरीका अनुसार प्रदेश सरकारले बजेट व्यवस्थापन गरेपछि जीर्ण बनेका भौतिक संरचनालाई अहिले मर्मतसम्भार गरिएको छ । एसी जडित सभाहल तयार भएसँगै सरकारी कर्मचारीलाई तालीम दिन शुरु भएको छ ।

प्रदेश सरकारले प्रशिक्षण केन्द्रलाई प्रदेशको प्रमुख सरकारी कर्मचारी प्रशिक्षण केन्द्रका रूपमा विकास गर्नका लागि भवनहरु जीर्णोद्धार गर्न ५५ लाख रुपयाँ उपलब्ध गराएको निमित्त निर्देशक चौधरीले बताउनुभयो । उक्त रकमले सभाहल, कक्षाकोठा, प्रशासनिक भवन, होस्टेल लगायतको जीर्णोद्धार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्रशिक्षण केन्द्रमा सुविधासम्पन्न ३५ वटा भवन छन् । तर लामो समयदेखि कोही नबसेपछि खण्डहर बनेका छन् । जीर्णोद्धार गर्न मिल्नेलाई जीर्णोद्धार गर्ने र नमिल्नेलाई भत्काएर नयाँ बनाउने योजना रहेको चौधरीले जानकारी दिनुभयो । 

ग्रामीण विकास प्रशिक्षण केन्द्र सञ्चालनमा आएसँगै नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा चहलपहल बढेको छ । वडा नं १४ का अध्यक्ष ओमकारनाथ मिश्राले आफू जननिर्वाचित भएलगत्तै प्रशिक्षण केन्द्र सञ्चालनका लागि पहल गरेको बताउँदै प्रदेश सरकारले सञ्चालन गरेकामा खुशी व्यक्त गर्नुभयो । 

‘हाम्रो वडामा यति ठूलो सरकारी प्रशिक्षण केन्द्र सञ्चालमा आउनु खुशीको कुरा हो’, वडाध्यक्ष मिश्राले भन्नुभयो, ‘यसले हाम्रो वडालाई चिनाएको छ, वडास्तरबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि हामी तयार रहेका छौँ ।’