महाभारत कालीन पुत्र र ब‌ंश परम्परा

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी- ३

महाभारत कालीन पुत्र र ब‌ंश परम्परा

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  मंसिर १९, २०७६

द्रौपदी त बडामहारानीको रूपमा हस्तिनापुरमा बसिन् । महाराज चक्रवर्तीका रूपमा युधिष्ठिर रहने नै भए । युवराजका रूपमा वा भावी राजाका रूपमा भीम थिए । अर्जुन सम्पूर्ण राज्यको सेनापतिका रूपमा पुजित थिए । गाण्डीवधारी अर्जुन बराबरको योद्धा त्यसबेला कोही पनि थिएन । थिए त कर्ण, जो अर्जुनबाट नै अज्ञानतावस मारिएका थिए, महाभारतको युद्धमा ।

तिनै कर्ण र पाण्डवकी आमा महारानी या पछि माता महारानी वा राजमाता कुन्तीलाई जीवनको अन्तिम घडीमा के लागिरहेको थियो भने कर्णमा साह्रै नै सहनशीलता थियो र कर्म/अकर्मको भेद उसलाई बढी नै थियो । उनका  आफ्ना भनेका तीन भाइ छोरा, बहिनी माद्रीका दुई भाइ छोरा र पहिलो सन्तान कर्ण या बसुसेण वा बसुसेनका चरित्रहरू जब केलाउँथिन्, उनलाई लाग्थ्यो– सबैभन्दा उम्दा चरित्र कर्णको नै थियो किनभने उसले आफूलाई समाजका लागि न्यौछावर गरेको थियो । सत्य र इमान्दारीका लागि जीवन उत्सर्ग गर्नेमा भावी दिनमा कर्णको नाम आउला भन्ने कुन्तीलाई सधैँ लाग्थ्यो ।

कुन्तीले द्रौपदीसँग भनेकी पनि थिइन्– ‘पाञ्चाली, कृष्ण, भीष्म पितामह, ईन्द्र तथा मसँग उसले एउटै वाचा गरेको थियो र त्यसलाई उसले पूरा गरेको पाइयो । साँच्चै भनौँ भने पितामहले सकेसम्म कर्णको आफ्ना कर्ण र उसका पाँच भाइका बीचमा लडाइँ नै नहोस् भनेर आफू सेनापति रहेसम्म कुनै पनि हालतमा कर्णको उपस्थिति अग्राह्य नै हुनुपर्छ भन्ने शर्त राख्नुभएको थियो । र, उसले पनि सहर्ष मान्यो, जुन कुरा अरू सबैसँग गोप्य नै राखिएको थियो । देखाउन त ‘पितामहसँग  अब म कहिले पनि बोल्नेछैन’ भनेर प्रतिज्ञा पनि गरेको थियो रे !’

उनले भनिन्– ‘जब ऊ पितामहसँग भेट्न गयो अनि पितामहले भन्नुभयो रे– ‘कर्ण, तिमीलाई सबै थाहा छ र पनि थाहा नपाएजस्तो जुन गरेका छौ, त्यो नै तिम्रो महानता हो । हामीलाई जुन कुरा थाहा छ, अरूलाई अहिले थाहा दिनु जरुरत छैन ।’ कर्णले चुपचाप सुन्यो रे ! अनि पितामहलाई प्रणाम गर्दै शरशय्यालाई परिक्रमा गर्‍यो रे र रुँदै बाहिरियो रे ! यो कुरा एक दिन मलाई कृष्णले सम्झाउँदा भन्दै थियो तर केही बोलिनँ । कर्ण र द्रौपदी पुत्रहरूको मात्र मलाई चिन्ता थिएन, ती गान्धारी दिदीका १०० भाइ र धेरै कुटुम्बहरूको पनि पीर थियो । जबकि दुर्योधनलाई सम्पूर्ण परिवारयुद्धमा कर्णको मात्र भर थियो भनिन्थ्यो । विदुरले जहिले पनि कर्णलाई दुर्योधनबाट टाढा राख्ने कोसिस गरेकाले पनि कर्णमा एउटा निराशा उत्पन्न भएको थियो रे !'

भन्थ्यो रे– ‘मलाई सबै थाहा छ । के गर्नुहुन्छ, के गर्नुहुँदैन, मलाईजति सबैलाई थाहा भएको भए यो समस्या आउने नै थिएन ।’ तर, कर्ण कसैगरी पनि दुर्योधनबाट टाढा हुन सकेन । कृष्णलाई भन्यो रे पनि– ‘म कसरी भाइहरूसँग लागौँ ? दुर्योधन मेरै बलले निहुँ खोजिरहेको छ । उसलाई पितामह, गुरुहरू द्रोणाचार्य, कृपाचार्यहरूले निष्पक्षताका साथ उसका पक्षमा बोल्लान्, युद्ध गर्लान् भन्ने नै छैन र मेरै भरमा संसारको चक्रवर्ती हुने सपना छ । विदुरजीसँग त उसलाई पहिलेदेखि नै विश्वास छैन । खालि काका भएकाले मात्र दरबारमा आउन–जान दिएको हो, महामन्त्रीकै रूपमा त त्यो पदबाट उहिल्यै निकाल्ने थियो ।’ कृष्णले भन्यो रे– ‘राज्यको सम्राट हुन पाउँछौ । त्यति मात्र होइन कर्ण, तिमीले त द्रौपदी पनि भोग गर्न पाउँछौ ।’

अनि हाँस्यो रे र भन्यो रे– ‘कृष्णले भनेपछि पक्कै त्यो पूरा होला तर अब म कुनै पनि लालचमा पर्दिनँ किनभने सत्य नै मेरो सबैभन्दा ठूलो अस्त्र हो, शस्त्र हो र शास्त्र हो । इमान्दारीले मात्र कर्णको रूपमा म स्थापित भएको हुँ । तपाईंलाई थाहा नै छ, सत्यको रक्षाका लागि मैले आफ्नो छाला पनि काडेर दिएँ भने अब त्योभन्दा बढी के त्याग गर्नुपर्ला र भाइहरूका लागि ? दुर्योधनले वीर गति प्राप्त गर्‍यो र अरूलाई त्यागका लागि उछिन्यो ।’

भन्यो– ‘वास्तवमा नै दुर्योधन बहादुर र राजा हुने गुणले युक्त थियो तर एउटा कारणलाई आधार बनायो र ढिपी कस्यो । वास्तवमा ऊ आफैँ कुरुवंशी थिएन र पनि पाण्डुका छोराहरूलाई कुरुवंशी पनि होइनन् र राज्यका अंशियार हुन सक्दैनन् भन्ने कुरामा अडान लियो । भन्न त दरबारमा सबै जना कर्णको बलले पाण्डवसँग लडाइँ गर्न तम्सेको भनेर दुर्योधनको बद्ख्वाइँ गर्थे तर शकुनिको दोहोरो चरित्र नै परिवार युद्धका कारणले भारतवर्ष नै उजाड भयो ।

लाग्छ, दुर्योधनलाई कर्णको असली परिचय थाहा थिएन । शकुनिलाई पनि थाहा थिएन । शकुनिको असली नियत कि त गान्धारीलाई थाहा थियो, कि कुन्तीलाई । तर, कुन्ती मौन बस्थिन् किनभने गान्धारीले नै बारम्बार दाइको नियत खोटो छ भन्ने गर्थिन् । नत्र त्यत्रो गान्धार राज्य छाडेर कुटुम्बका घरमा बस्नु किन पथ्र्यो ? भन्ने गान्धारीको धारणा थियो ।

गान्धारीलाई के पनि आभास थियो भने, जुन कुलकी उनी कुलबधु र महारानी थिइन्, त्यही कुलको समूल नष्ट गर्ने प्रण लिएर शकुनि गान्धार छाडेर हस्तिनापुर बसेका थिए । शकुनिका सम्पूर्ण कामहरू प्रतिशोधजन्य बुझिन्थ्यो र पनि देख्दा कौरवका लागि मात्र लागिपरेको भान हुन्थ्यो ।

भरतको भारतमा धेरै राज्यहरू भए पनि, अधीनस्थ राज्यहरूलाई स्वतन्त्र छाडे पनि एकजना चक्रवर्तीको आवश्यकता पर्ने नै भयो । त्यसैले होला, धृतराष्ट्र, पाण्डु र विदुरको पिताको नाममा विचित्रवीर्यको नाम नै भनिन्थ्यो र पिता व्यास जिउँदै भएर पनि धृतराष्ट्र र पाण्डुले बाबुका नाममा र गान्धारी र कुन्तीले ससुराको नाममा तर्पण दिन्थे । किनभने पहिलो वामाङ्गी नभई तर्पण र पिण्ड दान सफल नहुने भएकाले ती दुई रानीहरू सधैँ महाराजहरूसँगै हुन्थे । त्यो औपचारिकता पूरा गरिन्थ्यो, कुरुवंशी नै हुुन् भन्नका लागि पनि ।

साँच्चै, राज्य भनेको औपचारिकताको एउटा समष्टि स्वरूप हो कि क्या हो ? किनभने पछि पनि पाण्डवका पाँच भाइकै बाबुहरू धर्मराज, वायु, ईन्द्र र अश्विनीकुमार जिउँदै थिए र पनि महाराज पाण्डुका नाममा श्राद्ध गरिन्थ्यो । युधिष्ठिरले नै वैदिक रीतिअनुसार श्राद्ध गर्ने गर्थे । हुनत जसको खेतमा बाली लगायो, उसैको हुन्छ नि त बाली भन्ने नीति थियो भारत  राज्यमा ।

भारतमा पुत्रको महत्त्व यस कारणले पनि बढी भयो होला कि कहिलेकाहीँ पुत्रविना पनि राज्य गर्ने व्यक्तिको समस्या परेको पाइन्थ्यो । पछि पनि कुरुवंशमा पनि कसोकसो उत्तराले गर्भधारण गरेकाले परीक्षितले राज्य गर्न पाउने भएको हो । भएका सबै मारिए । गान्धारीका  १०० भाइ छोरा सबै मारिए । पाण्डवका द्रौपदीबाट जन्मिएका पाँचै भाइ छोराहरू पाण्डव  सम्झेर गुरूपुत्रले मारे । अर्जुनको सुभद्राबाट जन्मिएको अभिमन्युले युद्धमै वीरगति प्राप्त गर्‍यो ।

अर्जुनको चित्राङ्गदाबाट जन्मिएको बभ्रुबाहनलाई पहिले नै राज्यको भावी प्रतिनिधि घोषणा नै गरिएन । युयुत्सु वैश्यापुत्र भएकाले राज्यको हकमा परेन । अश्वत्थामालाई त लागेको थियो रे, कुन्तीका पाँचवटा छोराहरूलाई नै मारेर सिध्याएँ । पाँचवटै टाउको लिएर जब गुरूपुत्र दुर्योधनलाई देखाउन गएका थिए अनि दुर्योधन पहिले त खुसी भएर हाँस्यो र भन्यो–गुरूपुत्र, ‘बल्ल मलाई सन्तोष भयो र ढुक्कसँग मर्ने भएँ ।’

अनि टाउकाहरूको राम्रोसँग अवलोकन गर्नेवित्तिकै पाण्डव कुमारहरूको अनुहार चिनेर दुर्योधनले रुँदै भन्यो– द्रोणी, यो तिमीले के गरेको ? अब हाम्रो राज्यमा कसले राज्य गर्छ ? सबै त मार्‍यौ तिमीले ? हाय मेरा छोराहरू ! नाहकमा तिमीहरूको ज्यान पो गएछ ।’

हुनत राजाका धेरै छोरा हुनु राम्रो मानिन्थ्यो तर राज्यका लागि हुने कलहले गर्दा छोरा त दुई–तीनवटा मात्र ठीक देखिन्थ्यो । कुन्तीले त बाध्य भएर पाँचवटाको व्यवस्था गर्नुपर्‍यो । महाराज धृतराष्ट्रका गान्धारीका १०० ओटा र वैश्याबाट जन्मेका युयुत्सुसमेत गरी १०१ छोरा थिए । सधैँ विवाद, झगडा ।

दुर्योधन विषादले गर्दा गुरूपुत्रसँग बोल्दै बोलेन र त्यतिकै मूच्र्छा परेर वीरगति ग्रहण गरेको थियो । साँच्चै राजा हुने क्षमता दुर्योधनमा थियो नै तर के गर्नु, ढिपी र आडम्बरले अनि राज्यको अतिलोभले भरतका सन्तानहरूको नाश भयो ।

एक पटक व्यासले कुन्तीलाई भन्नुभएको थियो– ‘कुन्ती, आखिर तिम्रै वंशले भरतकुल थाम्ने हो । यो सबै नाटक हो केही समयका लागि । तिमी ढुक्क होऊ, तिम्रै वंशले कलीयुगलाई पनि नेतृत्व सुरु गर्नेछ र लामो समयसम्म भारतको राज्य गर्नेछन् ।’

पुत्रको महत्त्व जुन युगमा पनि देखिन्छ । सत्ययुग र त्रेतायुगमा मानवीय समागम आवश्यक थिएन रे बच्चा पाउन । मात्र इच्छा हुनुपर्‍यो । यही द्वापरयुगमा मात्र समागम चाहिएको थियो । तर, राज्यमा पुत्रका लागि नै विवाह गर्ने चलन छँदै थियो । कुरु राज्यमा बालविवाह थिएन । पुत्रका प्रकार यस्ता थिए कुरु राज्यमा अर्थात् तत्कालीन भारतमा, जसको राजधानी हस्तिनापुर थियो ।

स्वयंजात पुत्र भनेको आफ्नै पत्नीबाट आफैँद्वारा जन्माइएका हुन् ।

प्रणीत पुत्र भनेको आफ्नी विवाहिता पत्नीद्वारा कुनै उत्तम पुरुषसँग अनुरोध गरेर वा आफ्नो आवश्यकता पूरा गर्न सहयोगमा जन्माइएको छोरो हो ।

परिक्रीत पुत्र भनेको आफ्नी विवाहिता स्त्रीमार्फत् अरू कसैलाई पैसाको लोभ देखाएर जन्माइएको पुत्र हो ।

पौनर्भव पुत्र भनेको कुनै नारीको पहिलो विवाहपश्चात् दोस्रो विवाह भयो र पछिल्लो पतिबाट जन्मेको पुत्र पनि पुत्र नै हो । त्यसलाई पहिलो पति र दोस्रो पति दुवैले पुत्र मान्ने चलन छ ।

कानीन पुत्र भनेको विवाहपूर्व नै कन्या माताबाट जन्मेको पुत्र हो ।

स्वैरिणीज पुत्र भनेको आफ्नी विवाहिता नारीका गर्भबाट आफ्नो पतिबाहेक अरूबाट समान स्तरको पुरुष वा उत्तम पुरुषबाट जन्मेको पुत्र नै स्वैरिणीज हो ।

यी सबै पुत्रहरू वैदिक रीतिले जन्मेका मानिने र पिताको सम्पतिको हकदार हुन्थे । स्वयंजात र पौनर्भव पुत्रहरू औरस पुत्र मानिने चलन थियो भने कानीन पुत्र औरस नभए पनि व्यवहित–औरस पुत्र मानिन्थे । प्रणीत, परिक्रीत तथा स्वैरिणीज पुत्रहरूलाई क्षेत्रज पुत्र मानिन्थ्यो । उनीहरूलाई आफ्नै दाजुभाइ मान्नै पर्छ भन्ने भारत देशको चलन थियो ।

यीबाहेक पनि अरू प्रकारका छोराहरू हुन्छन् भनेर मानिएको थियो । जस्तो कि दत्तपुत्र वा दत्तक पुत्र भनेको मातापिता जुन छोरो अरू छोरा नहुनेलाई दान दिन्छन् धर्मपुत्र बनाउन, त्यो दत्तपुत्र भयो ।

क्रीतपुत्र किनेर ल्याएको छोरो क्रीतपुत्र भयो । यदि कुनै बालक आफैँ आएर ‘म त तपाईंहरूको छोरो भएँ’ भन्छ भने त्यो कृत्रिम पुत्र हुन्छ । कुनै युवतीको विवाह हुँदै गर्भवती रहिछ भने त्यसबाट जन्मेको पुत्र सहोढ पुत्र भयो । सहोदरभन्दा अन्य जातिको पुत्र पालन गरिएको थियो भने त्यो ज्ञातिरेता पुत्र हुन जान्थ्यो । आफ्नोभन्दा तल्लो जातकी स्त्रीबाट जन्मेको छोरो हीनयोनिधृत मानिन्थ्यो  ।

आखिर कुरु राज्यमा औरस, लब्ध, क्रीत, पालित एवं क्षेत्रजले नै आफ्ना कुलको तरणतारण गर्ने अधिकार पाएका हुन्थे । हुनत पितामहले भीमलाई एक दिन अर्ति दिने क्रममा बीस प्रकारका छोराहरूको वयान गर्नुभएको थियो भनेर भीमले एक दिन सबैलाई भन्दै थिए ।

पुत्रीका पुत्र मातामहको वंशरक्षक हुने चलनलाई त बभ्रूबाहनले पूरा गरेकै थियो । सबैभन्दा कुरु देशको चलन के राम्रो थियो भने क्षेत्रज पुत्रमा उसको खासै पिताको कुनै हक हुँदैन, जस्तो कि बालीमा खेती लगाउनेको हक जस्तै । गर्भवती महिलासँग विवाह गरेर आएको सन्तानलाई पनि आफ्नै सन्तान जस्तै मान्ने चलन थियो तर ब्रजमा त्यस्तो कतै सुनिएन । कर्णका बारेमा अधिरथलाई केही थाहा नभएर नै उसले आफ्नै कर्ममा कर्णलाई राख्यो । त्यस्तै थियो चलन किनभने कसको छोरो हो भन्ने थाहा नभएपछि त कर्म त जसले पाल्यो, उसैको हुने भयो ।

ब्राह्मण पुत्र नै भए पनि यदि शूद्रले केही थाहा नपाएर पालेको छ भने उसको सबै कर्म शूद्रझैँ नै हुने भयो । तर, कानीन पुत्र हुँदा पछिको बाबुको नामबाट परिचित हुने हो । तैपनि व्यास त शन्तनु महाराजका कानीन पुत्र भएर पनि पराशरकै पुत्रको रूपमा प्रख्यात हुनुभयो ।

त्यसो त कर्ण पनि पाण्डुकै कानीन पुत्र हुनुपर्ने हो तर कुन्तीले त्यो गोप्यता राखेकाले ऊ अधिरथको पुत्र भनियो, राधाकै पुत्र भनियो र राधेय भनेर प्रख्यात भयो । त्यसो हुनुमा कुमारी आमाको गर्भमा कसको बच्चा पालिएको थियो भन्ने केरकार हुने भएकाले सामान्यतः नियम के राखिएको रहेछ भने राज्यले त्यसको जानकारी त राख्ने तर गोप्यताका साथ व्यवहार गर्ने । कुमारीको प्रसवलाई त कसले पो सराहना गर्छ र ? त्यसै भएकाले त कुन्तीले कर्णलाई बगाउनुपरेको थियो ।

अरूबाट नियोग गरेर पाउने चलन त ग्राह्य नै थियो तर एउटी महिलाले पुरुषको आज्ञाले तीनवटाभन्दा बढी पाउनुहुन्न भन्ने अघोषित मान्यताचाहिँ थियो । र त कुन्तीलाई तीनवटा छोरा पाएपछि पनि फेरि मानव वा राजा वा ऋषिबाट अर्को बच्चा पाउन पाण्डु महाराजबाट भएको ढिपीलाई नमानेर चौथो बच्चा र पाँचाँै बच्चा माद्रीबाट पाएको देखियो । अश्विनीकुमार नछुट्टिने अनि जुम्ल्याहा छोरा एकै पटक पाइन् माद्रीले । लेखेको कसले मेट्न सक्छ र ? वास्तवमा यसै पनि कुन्तीका चारवटा भई नै सके । अरूले देख्दा पो तीनवटा त ! तर, कुन्तीको मनमा त थाहा छँदै थियो नि ! अरूलाई पो ढाँट्न सकिन्छ, आफूलाई त आफूले कसरी ढाँट्नु र ?

हुनत राजाका धेरै छोरा हुनु राम्रो मानिन्थ्यो तर राज्यका लागि हुने कलहले गर्दा छोरा त दुई–तीनवटा मात्र ठीक देखिन्थ्यो । कुन्तीले त बाध्य भएर पाँचवटाको व्यवस्था गर्नुपर्‍यो । महाराज धृतराष्ट्रका गान्धारीका १०० ओटा र वैश्याबाट जन्मेका युयुत्सुसमेत गरी १०१ छोरा थिए । सधैँ विवाद, झगडा ।

सबैभन्दा असलचाहिँ विकर्ण भन्ने सानो छोरो थियो । सबै एकै पटक जन्मिएका भए पनि हुर्किने क्रममा ठूलो र सानो भनेर विभेद गरिएको थियो । जस्तो कि पाण्डुको पनि नकुल र सहदेव सँगै जन्मिए पनि सहदेवलाई सानो भनेर मानेका थिए । फेरि द्रौपदीको कथा अर्कै छ, पाँच पति पाउने कथा । दोषचाहिँ कुन्तीलाई लगाइयो– जे ल्याएको छ बाँडेर खाओ पाँचै जनाले भनेको कुराको आधारमा ।

क्रमशः