रानीपोखरीको जीर्णोद्धार गरेकामा प्रधानसेनापति थापालाई उपहार

रानीपोखरीको जीर्णोद्धार गरेकामा प्रधानसेनापति थापालाई उपहार

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १९, २०७६

भक्तपुर । नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई कलात्मक मयूर झ्याल उपहार दिएको छ । 

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गी अड्डामा बुधबार आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने कलात्मक मयूर झ्याल उपहार दिएको हो । 

भक्तपुर नगरपालिका– १ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जीर्णोद्धार तथा पुनर्निर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्वतर्फको खेलमैदान सर्वसाधारण युवालाई प्रयोग गर्नका लागि नेपाली सेनाले पुर्‍याएको योगदानको कदर गर्दै सेनालाई सो मयूर झ्याल दिइएको हो ।
 
नेपाल संवत् ७५० अर्थात् वि.सं. १६८७ मा राजा जगज्योति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरी (काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष पुरानो) लामो समयदेखि जीर्ण अवस्थामा रहेको र यसले सांस्कृतिक र धार्मिक महत्त्व पनि बोकेको तथा वरिपरि कुलदेवता र देवाली पूजा गर्ने महत्त्वपूर्ण थलो भएकाले २०७६ जेठ १ गते जीर्णोद्धार र संरक्षणका साथै सर्वसाधारण जनताका लागि खुला गर्न नेपाली सेनाले पत्र पठाएपछि उत्खनन एवं जीर्णोद्धार सुरु भएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो । सो अवसरमा नगर प्रमुख प्रजापतिले नेपाली सेनाले स्थानीय जनताको भावना बुझ्दै कला, संस्कृति, सम्पदा, धर्म एवं पर्वको संरक्षणमा साथ दिएको बताउनुभयो ।  

कार्यक्रममा प्रधानसेनापति थापाले भक्तपुर जिल्लालगायत देशका विभिन्न क्षेत्रमा ऐतिहासिक महत्त्व, मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण एवं संवर्द्धन गरी नागरिक–सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग र साथ दिइरहेको बताउनुभयो ।