जनता चाहन्छन् : सुन्ने सरकार, देखिने विकास

जनता चाहन्छन् : सुन्ने सरकार, देखिने विकास

अनुरोध शर्मा  |  दृष्टिकोण  |  मंसिर १९, २०७६

सरकार भन्नेवित्तिकै मुलुकको कार्यकारी हो । मुलुकको विकास र समृद्धिका लागि जिम्मेवारीसहित रहेको हुन्छ सरकार । सरकार भलै कोही व्यक्ति, दल, समूह वा समुदायको नै किन नहोस्, उसको प्रमुख दायित्व देश र जनताको सेवा हो ।  उसको ध्येय भनेको नै मुलुकको विकास र समृद्धि हो  । देश र जनताको सुरक्षा हो । समग्रमा सरकार सम्पूर्ण जनताको अभिभावक हो, जसले जनताका समस्या, आवश्यकता र इच्छाहरूलाई सम्बोधन गर्छ, गर्नुपर्छ भन्नेकुरा भनिरहनु पर्ने विषय  हाेइन ।

हामीकहाँ विभिन्न शासन पद्धतिका अभ्यास भए । एकल शासक, पारिवारिक जहानियाँ शासक, प्रजातान्त्रिक वा दलीय शासकको अभ्यास भयो । तथापि, यी कुनै पनि शासन पद्धति र शासक देश र जनताप्रति उत्तरदायी हुन नसकेको गुनासा आइरहे । जोजो सत्तामा पुगे, तिनले आफ्नो र आफ्नाको हित मात्र सोचे, देश र जनताका खातिर कम मात्र ध्यान दिए भन्ने आलोचना होइन, हाम्रो इतिहास हेर्ने हो भने यो तथ्य हो भन्ने पनि लाग्छ ।

जनता ‘सेवक’ मात्र होइनन् र शासकले जनतालाई सधैँ कमजोर र बेबकुफ ठान्नु हितकर हुँदैन । तर, हामीकहाँ शासकले जनतालाई कहिल्यै सहयोगी, मित्र वा मुलुकको विकासका प्रमुख साझेदार, प्रमुख हिस्सा ठानेनन् । भोट बैंकका रूपमा मात्र लिए जनतालाई हाम्रा शासकले पछिल्लो समय । अघिल्लो समय त जनता भन्ने ‘वस्तु’को कुनै माने नै थिएन ।

वास्तवमा जनता र सरकार वा शासक र नागरिकबीचको सम्बन्ध जति बलियो भयो, शासन वा सरकार वा मुलुक वा समग्र राज्य उति नै बलियो हुने हो । तर, हाम्रा शासक आफू भलो त जगत् भलोको मानसिकताबाट गुज्रिरहेका भान हुन्छ ।

जनता चाहन्छन्, शान्ति, सुरक्षा, अमनचयन, रोजगारी, समृद्धि र विकास तर शासक चाहन्छ, आफ्नो हित र स्वार्थपूर्ति । यहीँ बन्छ जनता र शासकबीच खाडल, जुन पुरिनेभन्दा झन्झन् गहिरिने हुन्छ । यस्तो गहिराइले अन्ततः शासकको सत्ता ढल्छ भने मुलुक अनिश्चय, अभाव, गरिबी र अराजकता अनि हिंसा र द्वन्द्वको भासमा जाकिन्छ ।

नेपालमा अहिले हुँदै गएको यस्तै देखिन्छ । यहाँ ‘जनता र देशको हित गर्न’, ‘मुलुकको आमूल र सर्वाङ्गीण विकास गर्न’, ‘समृद्धि र सुशासन कायम गर्न’ खुलेका अनेक नामका राजनीतिक दल छन् । ती पटक पटक सत्ताम पुगेका पनि छन् । तर, दुर्भाग्य ! तिनबाट न देशले केही पाइरहेको आभास हुन्छ, न त जनताले नै ।

हो, यस्तै अवस्था वर्षौंदेखि जारी छ मुलुकमा । यो अवस्थाबाट मुक्तिका निम्ति जनता सधैँ ‘बलिदान’ दिन तयार भइरह्यो तर जनताको बलिदानी अन्ततः तिनै धूर्त, फटाहा, भ्रष्ट नेतालाई सत्ताको भर्‍याङबाहेक केही भएन ।

निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचनका तुष हराउनुपर्छ र सबैले मुलुकको हितका लागि समर्पित बन्नुपर्छ भन्ने धारणा हाम्रा राजनीतिक दलहरूले आफ्ना मतदाता र कार्यकर्तालाई बुझाउन नसक्नु उनीहरूकै लागि घातक पनि हो ।

खासमा जनताले खोजेको ‘सुन्ने नेता, देखिने विकास’ हो । यस्ता नेता जनताले पाउन सकेनन् आजसम्म र विकास कुन चराको नाम हो भनेर पनि जान्ने अवसर पाएका छैनन् ।

अहिले जेजेलाई केके न विकास भएको छ भनेर प्रचार गरिन्छ, विश्व परिवेशमा हेर्दा ती त उहिल्यै भइसक्नुपर्ने कामहरू हुन् । अहिले विश्वले उपभोग गरिसकेका चिजहरू, प्रविधिहरू मात्र हामी प्रयोग गरिरहेका छौँ । हाम्रैपनको विकास र समृद्धि हामीले किन ल्याउन सकेनौँ ? हाम्रै अनुकूलका, हाम्रै उत्पादनका र हाम्रै मौलिकताका विकास र समृद्धिमा हामी किन पटि परेका छौँ ?

यसको प्रमुख कारण नै हामीकहाँ न सुन्ने सरकार भयो, न देखिने विकास भयो ।

हो, यही सुन्ने सरकार र देखिने विकासका लागि अबको हाम्रो बाटो तय हुनुपर्छ, हाम्रा योजना र लक्ष्य यसैअनुसार बन्नुपर्छ र हामीले यसकै लागि एकबद्ध भएर सरकारलाई दबाब दिनुपर्छ ।

राजनीति राज्य संचालनका लागि प्रमुख कुरा हो तथापि, राजनीति नै सर्वेसर्वा भने होइन । हामी भने निर्वाचन सकिएपछि पनि राजनीतिक तुष पालेर बसिरहन्छौँ । यसो गर्नु हामी स्वयंका लागि र देशका लागि पनि घातक हो । निर्वाचनका समयमा गरिने सबै कर्म ‘नियोजित’ हुन्, जुन निर्वाचन जित्ने प्रयोजनका लागि मात्र हुन्छन् ।

तर, निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचनका तुष हराउनुपर्छ र सबैले मुलुकको हितका लागि समर्पित बन्नुपर्छ भन्ने धारणा हाम्रा राजनीतिक दलहरूले आफ्ना मतदाता र कार्यकर्तालाई बुझाउन नसक्नु उनीहरूकै लागि घातक पनि हो । घातक किनभने, जब ती दल सत्तामा पुग्छन्, प्रतिपक्षका कार्यकर्ता र मतदाताले साँचिरहेको ‘इगो’ सत्ताले गरेका काममा देखिन्छ । उनीहरू अवरोधको मानसिकताबाट अघि बढ्छन् र सत्तालाई वा सरकारलाई काम गर्नमा बाधा पुग्छ ।

अन्त्यमा,
जुनसुकै दलको सरकार आओस्, सत्तामा जोसुकै पुगोस् वा शासकका रूपमा जो आओस्, आखिर जनतालाई चाहिने शान्ति, सुरक्षा, रोजगारी, अमनचयन र विकास भए पुग्छ । यसका लागि फेरि पनि सुन्ने सरकार र देखिने विकास जरुरी छ ।