पप संस्कृतिको अतिक्रमणः अशिष्ट र अमर्यादित बन्दै मौलिक दोहोरी गीत

पप संस्कृतिको अतिक्रमणः अशिष्ट र अमर्यादित बन्दै मौलिक दोहोरी गीत

यमबहादुर दुरा  |  दृष्टिकोण  |  मंसिर २०, २०७६

यतिबेला लोकगीतको कुनै विधा लोकप्रिय छ भने त्यो दोहोरी गीत नै हो । यसमा कुनै विवाद छैन । शहरका दोहोरी रेस्टुरेन्टदेखि विभिन्न मेला–महोत्सवसम्म दोहोरी गीत एउटा लोकप्रिय सांंगीतिक परिकार बनिरहेको छ । आधुनकिताको छालले परम्परागत सांस्कृतिक विरासतलाई बढार्दै लगिरहेको यो घडीमा दोहोरी गीत त्यस्तो सांस्कृतिक निधि बनेको छ, जसले आधुनिकतासँग पौँठेजोरी खेल्दै सांस्कृतिक विरासत धानिरहेको छ ।

हिजोका दिनमा विशुद्ध मनोविनोदको माध्यम बनेको दोहोरी गीत अहिले आर्थिक पक्षसँग पनि जोडिएको छ । धेरै कलाकारले दोहोरी गीतबाट रोजगारी पाएका छन् । लोकसंगीत उद्योगमा कति कलाकार कार्यरत छन् भन्नेबारे कुनै तथ्यांक नभए पनि दोहोरी रेस्टुरेन्ट र मेला–महोत्सव एउटा तप्काका कलाकारका लागि अर्थोपार्जनको माध्यम बनेको छ । एक हिसाबले खुसीको कुरा हो यो ।

तर, अर्कोतिरबाट हेर्दा त्यति धेरै खुसी मानिरहनुपर्ने ठाउँ पनि छैन । यो समय सांस्कृतिक अधपतनको युग हो । मौलिक सांस्कृतिक धरोहरहरू धमाधम ढल्दै छन् । भएका सांस्कृतिक धरोहरहरू व्यापारीको हातमा पुगेका छन् । यतिबेला दोहोरी गीत पनि व्यापारीकै हातमा पुगेको छ । अब दोहोरी गीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ ।

दोहोरी गीतमा कतिसम्म व्यापारिक हस्तक्षेप भएको छ भने कतिपय कलाकार नै मेला–महोत्सवमा गायक–गायिका ‘सप्लाई’ गर्ने एजेन्ट बनेको गुनासो लोकगीतका कलाकर्मी वृत्तबाटै आवाज उठिरहेको छ । लोकगीतमा देखापरेको यस्तो प्रवृत्तिको भित्रभित्रै विरोध भइरहेको छ ।

दोहोरी गीत ‘व्यापारिक वस्तु’ बन्न थालेपछि यसको मौलिकता पनि हराउँदै गएको छ । दोहोरी गीत विनयशीलता, शिष्टता र मर्यादाको प्रतिरूप हो । तर, अहिले दोहोरी गीत त्यस्तो छैन । यो छाडा र मर्यादाहीन सांगीतिक ‘जार्गन’ बन्न थालेको छ । कतिपयले दोहोरी गीतलाई फोहोरी गीत भनेर टिप्पणी गर्न थालिसकेका छन् ।

दोहोरी रेस्टुरेन्ट र मेला–महोत्सवमा चल्ने दोहोरी गीतमा अमर्यादित किसिमका रतिरागात्मक अभिव्यक्तिले खुलेआम स्थान पाइसकेको छ । दोहोरी गीतमा अशिष्ट किसिमका भनाबैरी पनि भित्रिइसकेको छ । यो कुरा दोहोरी गीतका कलाकारले नै अनौपचारिक रूपमा स्वीकारिसकेका छन् । अशिष्ट र अर्मादित अभिव्यक्तिको शिकार मौलिक दोहोरी गीतको व्याकरणभित्र कहिल्यै पनि पर्दैन । दोहोरी गीत मर्यादित किसिमले भावना साटासाट गर्ने माध्यम हो तर अहिले त्यस्तो भइरहेको छैन ।

२०५७ सालमा दोहोरी गीतका कलाकारहरूको छाता संगठनको रूपमा ‘राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान’ गठन भयो । संस्था गठन गर्नेबेला संस्थाले लिएको उद्देश्यमध्ये एउटा उद्देश्य थियो, दोहोरी गीतको मौलिकतालाई जोगाउनु । त्यही उद्देश्यलाई शिरोपर गर्दै संस्थामा थुप्रै पदाधिकारी आए । त्यसबेलादेखि समयको यो विन्दुसम्म आइपुग्दा थुप्रै पदाधिकारी फेरबदल भइसकेका छन् । तर, दोहोरी गीतको मौलिकताको भने प्रतिपल मर्दै छ ।

दोहोरी गीतको मौलिकता हराउनुमा कलाकारलाई मात्र दोषी देख्नु त्यति जायज हुँदैन । यसमा पुँजीवादी संस्कृति नै मूल रूपमा जिम्मेवार छ । कलाकारले प्रयास गरेमा २० को १९ होला तर मूल प्रवृत्ति फेरिएला जस्तो देखिँदैन ।

अहिले हाम्रो सांस्कृतिक अधपतनको चरणबाट गुज्रिरहेको देखिन्छ । यस्तो भयानक घडीमा दोहोरी गीतको मौलिकपन र मिजास पूर्ववत् अवस्थामा फर्किन्छ भनेर आशा गर्ने ठाउँ छैन । राज्य नै देशको मौलिकको संस्कृतिको संरक्षक बनिदिएको भए केही हदसम्म यस्तो आशा गर्न सकिन्थ्यो । तर, राज्यले हिजोदेखि त्यस्तो भूमिका निर्वाह गर्न सकेन ।

अघि नै भनियो, दोहोरी गीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ । ‘व्यापारिक वस्तु’लाई जसरी सजिलो गरी बेच्न सकिन्छ, त्यसरी नै बेच्नु सम्बन्धित व्यवसायी वा उद्योगीको धर्म हुन्छ । दुनियाँको पुँजीवादी चरित्र नै यही हो । पुँजीवादी चरित्रको आदेशअनुसार नै दोहोरी गीत पनि ‘व्यापारिक वस्तु’ जस्तै गरी बेचिन थालेको छ । यससँगै यसको मौलिकता, विनयशीलता शिष्टता र मर्यादा लोप हुँदै गएको सबैले अनुभूत गर्न थालेका छन् ।

अब दोहोरी गीत लोकसांस्कृतिक निधि नभई साँचो अर्थमा ‘पप कल्चर’ हुन पुगेको छ । ‘पप कल्चर’मा चिजबिज कसरी व्यापारिक वस्तु बन्छन् भन्नेबारे जर्मनीका दार्शनिकद्वय थियोडोर एडोर्नो (सन् १९०३-१९६९) र म्याक्स होर्खाइमर (सन् १८९५-१९७३) ले राम्रो व्याख्या गरेका छन् ।

सन् १९४७ मा प्रकाशित कृति ‘द कल्चर इन्डष्ट्री : इन्लाइटनमेन्ट एज मास डिसेप्सन’मा ती दार्शनिकद्वयले ‘पप कल्चर’मा संस्कृति कसरी कारखानाका उत्पादन सरह बेखबिखन हुन्छन् भन्नेबारे मीठो व्याख्यान दिएका छन् । अहिले दोहोरी गीत पनि कारखानाका उत्पादन जस्तै बनेको छ ।

यतिबेला ‘यु ट्युब’मा ‘दोहोरी ब्याटल’ र भनाबैरीपूर्ण दोहोरीगीतको लोकप्रियताको ग्राफ उकालो लागिरहेको छ । यसले ‘व्यापारिक वस्तु’ बनिसकेको दोहोरी गीत ‘पप कल्चर’को एउटा हिस्सा हो भन्ने तथ्यलाई प्रत्यक्ष वा परोक्ष रूपमा पुष्टि गरेको छ ।

विगतमा स्थानीयस्तरमा सुखदुःखको भावना साटासाट गर्ने माध्यमको रूपमा रहेको दोहोरी गीतको दायरा व्यापक फराकिलो भएको छ । दोहोरी गीत स्थानीयस्तरबाट माथि उठेर राष्ट्रियस्तरमा स्तरोन्नति भएको छ । यो खुसीको कुरा हो । तर, दोहोरी गीतको घेरा जति फराकिलो हुँदै छ, त्यति नै यसको मौलिकता र शिष्टतामाथि प्रश्न उठेको छ ।

अहिले हाम्रो सांस्कृतिक अधपतनको चरणबाट गुज्रिरहेको देखिन्छ । यस्तो भयानक घडीमा दोहोरी गीतको मौलिकपन र मिजास पूर्ववत् अवस्थामा फर्किन्छ भनेर आशा गर्ने ठाउँ छैन । राज्य नै देशको मौलिकको संस्कृतिको संरक्षक बनिदिएको भए केही हदसम्म यस्तो आशा गर्न सकिन्थ्यो । तर, राज्यले हिजोदेखि त्यस्तो भूमिका निर्वाह गर्न सकेन ।

दुर्भाग्यवश, दोहोरी गीत व्यापारीको हातमा पुगिसकेको छ । अब दोहोरी गीत मौलिक संस्कृति नभई बिकाउ वस्तु बन्न पुगेकाले यसमा पाइला–पाइलामा व्यापारिक चरित्र प्रतिबिम्बित भइरहेका छन् । यसबाट दोहोरी गीत प्रत्येक क्षण मौलिकताविहीन बन्दै गएको छ । अहिलेको बजारु दोहोरी गीतमा कसैले मौलिकता देख्छ भने त्यो मीठो भ्रमबाहेक केही होइन ।

तर पनि कसैले तमाम सांस्कृतिक अधपतन र व्यापारिक चरित्रलाई चिरेर दोहोरी गीतमा मौलिकताको रस र गुण भर्न सक्छ भने त्यो निश्चय नै लोकअभिनन्दनीय कार्य हुन जान्छ । परंपरागत सांस्कृतिक धरोहरसँग जरा गाँसिएको दोहोरी गीत यस्तै लोकअभिनन्दनीय कार्यको प्रतीक्षामा छ ।