अतीतसँग साक्षात्कार !

अतीतसँग साक्षात्कार !

हरिविनोद अधिकारी  |  साहित्य  |  मंसिर २०, २०७६

१. मैले बिहे पनि गरिनँ । एक्लै छु भन्ने भान तर कसैलाई पनि छैन । सबै भन्छन्, 'यसले बिहे त गरेकै होला तर भन्दैन ।'

साँच्चै बिहे त गरेको छैन, जस्तो कि अरूले बाजा बजाएर र घरमा देखाएर राख्छन् पत्नीको रूपमा । एक दिन बाबाले भन्नुभएको थियो, 'ए जेठा, तैँले बिहे पनि नगर्ने भइस्  अनि मेरो जेठो छोरोको अपुताली पो पार्ने भइस् ।'

मैले सम्झेँ, 'बाबाले किन यसो भन्नुभएको होला ? भाइ बहिनीहरूका सन्तान त छँदै छन् ।' तर, त्यो वाक्यले भने मलाई धेरै दिनसम्म पछ्याइरह्यो ।

२. मेरो काठमाडौंमा आउँदाको अवस्था कस्तो थियो भने अहिले त्यो सम्झँदा कसरी ती दिन चले होलान् भन्ने कल्पना गर्छु । सुत्ने कोठामा नै जोडिएका दुईवटा बाथरुम । अहिले नुहाउन पनि तातो पानी, चिसो पानी, अरूको बैठकभन्दा मेरो बाथरुम अझ सुग्घर र सफा छ । सुतूँसुतूँ जस्तो छ । तपाईंहरू सामान्य मानिसहरूले कहिल्यै नदेखेको सुविधा छ, जुन मेरो कल्पनामा पनि थिएन ।

सोलारको बत्ती छ घरभरि अर्थात् मेरो घरमा कहिल्यै बत्ती निभ्दैन । एउटा निभ्यो भने अर्को स्वतः बल्छ । तर, म एक्लो छु घरमा । खाना खाने पनि म एक्लो छु । पकाउने छन् । सबै सुविधा छ । भनेँ नि, सबै सुविधा छन्  । तर, विवाहित पत्नीको कमी बाबाले देख्नुहुन्छ । मेरो अर्बौंको सम्पति छ । साँँच्चै भनौँ भने अहिले कति मूल्य बराबरीको सम्पत्ति छ भन्ने मलाई खासै थाहा छैन ।

सम्पति छ, समाजमा आदर छ , पद छ सांसद नै भनौँ त । मन्त्री हुने  लालसा त छ तर सम्पति घोषणा गर्दा कसरी गर्ने भन्ने मेरो चिन्तालाई सायद बुझेर होला, मन्त्री हुने चाँजो मिलेको छैन । मेरो चलाख्याइँ बढी हुँदा विपक्षीतर्फ पो परेछु ।

३. मेराे अतीत सबैलाई थाहा छ तर मेरो अघिल्तिर सबै नै प्रशंसा गर्छन् र भन्छन्- 'तपाईं त कर्मवीर हो ।' मलाई नै थाहा छ- म कति कर्मवीर , कति धर्मवीर र कति मौकावीर हुँ । मलाई मैले ढाँट्न नसक्ने भएकाले होला, म आफैँले आफ्नो जब मूल्यांकन गर्न थाल्छु र आफ्ना अतीततिर घुम्न थाल्छु, आफैँप्रति डाहा लाग्छ, घृणा लाग्छ र लाग्छ यो जीवन किन सहज नबनाएर क्लिष्ट बनाएँ ? झनझन् भासमा जाकिएको जस्तो लाग्छ ।

४. न म मेरो अतीत बदल्न सक्छु, न म वर्तमानमा आफूलाई जस्ताको तस्तै देखाउन सक्छु । बाहिरको आवरणलाई न फाल्न सक्छु, न त यही आवरण बोकेर बाँच्न नै सक्छु । म आफैँ जन्जालमा जेलिएको छु । रातभर निद्रा पनि लाग्दैन र मात्र यही जन्जालको जन्जिरभित्र नै जकडिएको पाउँछु । सबैलाई मेरो असली चरित्र थाहा छ र पनि मलाई महान् देखाउँछन् । म पनि त्यही कृत्रिम महानतालाई पछ्याएर पछिपछि लाग्न बाध्य छु ।

५. या त यो सबै बिर्सन म साँच्चै विस्मृतिमा लाग्नुपर्छ, या मैले यो सबै छाडेर पहिलेकै आनन्द जीवनमा फर्कनुपर्छ । दुवै कुरा संभव छैन । सबै कुरा भएर पनि छैन भन्नुपरेको छ र सबै छैन भन्दाभन्दै पनि छ भन्ने कुराको साक्षी म आफैँ आफ्नै लागि बस्नुपरेको छ ।

६‍. सत्य कति कठोर हुन्छ तर कति लुकाउन सक्नुपर्छ भन्ने कुराको जिउँदो साक्षी भएर म सबै कुरामा व्यस्त भएर हिँडेको छु । अतीतका यी डोबहरू कति निर्मम छन् तर मायालु बनेर अँगाल्नुपरेको कथा मेरै हो ।

७. मेरो कथा सुन्नुभयो, पढ्नुभयो र सत्यसँग साक्षात्कार गर्न नसक्ने म जस्तो लाछीको आडम्बरको नयाँ साक्षी बन्नुभयो । धन्यवाद ।