भाषा बहस : मातृभाषा संरक्षण र स्वाभिमानको चिन्ता

भाषा बहस : मातृभाषा संरक्षण र स्वाभिमानको चिन्ता

रमेश भट्टराई ‘सहृदयी’  |  दृष्टिकोण  |  मंसिर २०, २०७६

भाषाका कुरामा पनि भूपी शेरचनले भनेझैँ हामी जेटयुगमा होइन, पेट युगमै छौँ । भाषाको संरक्षणका पाटा पनि पेटको समस्यासँग गएर चुनौती बन्दै छन् । समस्या सामाजिक मनोविज्ञान र सिंगो मुलुकको हो ।

हिजोसम्म घाँस, दाउरा, मेलापातमा या त आफ्नो समुदायमा संस्कृतिसँगै स्वतः जोगिएका भाषालाई आज कसरी जोगाउने भन्नुपरिरहेको छ । हो, एकल भाषा नीतिको विरासत थियो नै तर पनि भाषाहरू अर्काको मोहमा आफू त कमसे कम बेचिएका थिएनन् ।

‘मलाई मेरो भाषा जानेर के फाइदा ? मैले जागिर पाउँछु र ?’ एक जना मेरा मित्रले मलाई प्रश्नको झटारो मारे । लाग्यो, आफ्नो भाषा जोगाउनुको अर्थले गाँस, बास र कपासको परिपूर्तिको एउटा चरणमा पुगेर बल्ल पहिचानको स्वाभिमानसम्म उक्लिन सक्नेरहेछ । चेतनाको स्तरमा आर्थिक विपन्नताले बज्र हानिरहन्छ तब मान्छेको अनिवार्य आवश्यकताभित्रको बाध्यतामा राष्ट्रियता र स्वाभिमान पनि खोक्रो हुँदोरहेछ ।

भाषा, पहिचान, भेषभूषा, संस्कृतिप्रतिको अनुराग विभेद र विखण्डनका लागि होइनन्, स्वाभिमान रक्षाका सबल पाटाका लागि हुन् । यसअघिका कमजोर पक्षलाई सुधार्दै नेपालको संविधान, २०७२ ले मातृभाषाको संरक्षण र शिक्षामा भाषिक न्याय तथा अधिकारलाई स्थान दिएको छ । भाषा आयोगद्वारा, भाषाविज्ञान केन्द्रीय विभाग, नेपाली भाषा शिक्षा विभाग, प्रज्ञाप्रतिष्ठानसम्मका संघसंस्था तथा निकायबाट नेपालका भाषा संरक्षणमा मार्ग प्रशस्त गरिएका छन् ।

तर, मातृभाषा संरक्षणका बारेमा आधारभूत जग निर्माण नहुँदा कसरी जोगाउने भन्ने विशाल चुनौती छ । विशेषतः बहुभाषिकताको रक्षार्थ गोरखापत्रले लिपिबद्ध गर्दै आएको योगदान, रेडियो नेपालले बहुभाषिक प्रसारणमा दिएको देन नेपालका मातृभाषा रक्षाका सबैभन्दा बलिया आधार हुन् ।

नेपालमा भारोपेली, भोट–बर्मेली, आग्नेय र द्रविड परिवार तथा एकल भाषा कुसुन्डा परिवारका भाषाको अस्तित्व छ । तर, लोपोन्मुख अवस्थामा घिटीघिटी भएको कुसुन्डा भाषाका वक्ता २८ जना भएको २०६८ को जनगणनाले देखाए पनि हालसम्ममा दुई–तीन जना मात्र बाँकी रहेको बुझिन्छ ।

सन् २००९ मा एथ्नोलगले संसारमा छ हजार ९०९ भाषाहरू रहेको तथ्यलाई पस्केको छ भने माचर र वेन्डे (सन् १९९९)ले प्रत्येक दुई हप्तामा विश्वबाट एउटा भाषाको अस्तित्व लोप हुने तर्क अघि सारेका छन् । अर्थात् भाषासँगै अलिखित साहित्यभित्रको जातीय गौरव, परंपरा, अस्तित्व र सांस्कृतिक गौरव लोप हुने भय पनि बढिरहेको छ । कारण, विश्वव्यापीकृत परिवेशमा मानिस यान्त्रिक भयो । स्वाभिमान संरक्षक सामाजिकतासँग विकर्षित भयो । वास्तवमा भावनाले पेटको भोक मेटिँदैनरहेछ ।

चाहेर पनि आजको विश्वव्यापीकृत संसार साँघुरिएको प्रतिस्पर्धामा मातृभाषा सिक्नुपर्ने कुरा गफ, कानुन र चर्चामा गएर थुरिएको अनुभूत हुन्छ । अर्कातिर हामीलाई अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले जान्नै पर्ने बाध्यता छ । यहाँ त साझा सम्पर्कको नेपाली भाषा नै अंग्रेजी मिश्रणको व्यापकतामा लहसिएर कुरूप बनिरहेको छ । संचार माध्यम, विज्ञापन, सामाजिक संजालमा नेपाली भाषा संरक्षणको विषय नै चुनौती बन्दै छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नातो गाँस्ने सम्प्रेष्य आधार ४४.६३ प्रतिशत वक्ताले बोल्ने गरेको नेपाली भाषालाई यसरी नै संकटमा हालिरहँदा अन्य नेपालमा १२२ बढी भाषालाई जोगाउन हाम्रो देश, नेपाली जनता र व्यावहारिकताका पाटा सबल छन् त ? भाषालाई जबर्जस्ती जोगाऊँ भन्ने विषय होइन तर नेपालका मातृभाषा जोगाउने विषय अब ‘मर्ने बेलामा हरियो काँक्रो’ भनेजस्तै नबन्ला भन्न सकिन्न ।

नेपाली नागरिक भएर नेपालमा नेपाली विषय पढेँ तर मेरो प्रमाणपत्रमा नेपाली भाषाको एउटा पनि वर्ण छैन । हाम्रो मनोविज्ञानभित्र भाषाको मर्म कमाइ खाने र विदेसिने चक्कर मात्र बनेको छ । अभिभावकले भन्नुहुन्छ, ‘अंग्रेजी पढे विदेशमा काम पाइन्छ । नेपाली नजाने पनि कमसे कम मेरो छोरोलाई अंग्रेजीमा राम्ररी बोल्न र लेख्न सिकाइदिनुहोस् ।’

आजभोलि चर्चित संचार माध्यममा समेत नेपाली शब्दलाई भाडामा समेत लिन नसकेर अंग्रेजीका शब्दलाई जबर्जस्ती घुसाउँदै बडप्पनको ढोङ गरिएका छरपस्टै भेटिन्छन् । नेपालले वर्तमान सन्दर्भमा हेर्दा शिक्षामा बहुभाषिक नीति अँगालेको भए पनि मूलतः अंग्रेजी र नेपाली भाषा नै चर्चामा छन् ।

अध्ययनहरूले मातृभाषी मानिसको मस्तिष्क बढी सबल रहेको तथ्यलाई पस्किरहँदा हामीले हाम्रा पुर्खाले दिएको अमूल्य निधिलाई फ्याँक्दै छौँ । एउटा भाषाको निर्माण गर्नु अनि भाषासँग जोडिएको संस्कृति, धर्म, परंपरा, चालचलन, शिल्प कलात्मकता, आचरण, व्यावहारिकता, औषधि विज्ञान र विज्ञानको सम्मिलन जस्ता पक्षलाई हामीले बोध गर्न जान्दैनौँ । आफ्नो भाषा र संस्कृति जोगाउनुलाई आफ्नो कर्तव्यबोध गर्दैनौँ भने नेपालका यी अमूल्य निधिले छिट्टै हामीबाट सदाका लागि हात हल्लाउनेछन् ।

एउटा भाषा जन्माएर त्यसलाई स्तरीय बनाउन त्यसको लिपि, वर्ण, व्याकरण, शब्दभण्डार, स्वीकरण, साहित्य, वाङ्मय विकास तथा प्रसारणको अवसर र विस्तारसम्मका जटिल प्रक्रिया पूरा भइसकेको हुनुपर्छ तर भाषा मर्नलाई बोल्न छाडे सक्किहाल्यो । एउटा भाषाको वर्ण र लिपि तयार पारेर त्यसलाई जीवन्त बनाउने महान् र वैज्ञानिक कार्यमा राज्यले चिन्ता प्रकट गर्नुपर्छ ।

यथार्थ तीतै हुन्छ तर विदेशका पीडा मात्र होइन, आफ्ना संस्कृति, परंपरा, आफन्त, नेपाली मौलिकतालाई छाडेर अर्कैको संसारमा रम्ने प्रवृत्तिमा लिप्त मानसिकतामा मातृभाषाको दोहन भइरहेको छ । अतः मातृभाषाप्रतिको हीनता र संकीर्णतालाई मेट्न समाज, स्थानीय सरकार र राज्यले प्रोत्साहन गर्न नसके यी सबै विषय इतिहास बन्दै जाने भय नबढ्ला भन्न सकिन्न ।

नेपालको संविधानको धारा २८७ बमोजिम २०७३ भदौ २३ मा नेपाल सरकारले संवैधानिक कार्यादेशअनुसार भाषा आयोगको गठन गरेको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा २०७४ मा पाँच वर्षे रणनीतिक मार्गचित्रलाई पस्केको छ । नेपालका सबै भाषाको व्यवस्थित अध्ययन, संरक्षण र संवद्र्धनका लागि भाषा आयोग जति चिन्ता बोकिरहन्छ, ठीक विपरीत आजको समाजमा पलायनवाद हावी छ ।

एक, दुईवटा भाषा सिक्न खोज्दा यहाँ १२३ भाषा नै छायामा पर्न थालेको त होइन ? सोचनीय लाग्दैन ! लोपोन्मुख भाषाको संरक्षण, संवद्र्धन र विकासका पाटामा भाषा आयोग चिन्तित छ । सराहनीय पक्ष, आयोगले भर्खरै लोपोन्मुख भाषाको संरक्षण, संवद्र्धन र विकास गर्ने उद्देश्यसहितको कक्षा संचालन गर्न लागेको समाचार छ । यद्यपि, समाज मनोविज्ञान र सरकारको नीतिगत सहयोगका कोणका पक्षमा आयोग एक्लो होइन र ? के नेपालले आफ्नो देशका कार्यलाई आफ्नै देशको माध्यम भाषामा सम्म पनि सम्पन्न गर्न सक्दैन ?

आयोगले सरकारी कामकाजको भाषाका सम्बन्धमा प्रतिवेदनको परिच्छेद ६ मा आयोगले गरेको सिफारिसको विषय साँच्चै पेचिलो छ– सरकारी कार्यालयमा अभिलेख राख्दा, शैक्षिक वा अन्य प्रमाणपत्र तयार गर्दा, पत्राचार गर्दा, पत्रमा कार्यालयको नाम र विवरण उल्लेख गर्दा वा छाप प्रयोग गर्दा कार्यालयहरूको नामकरण गर्दा, औपचारिक समारोहमा सम्बोधन गर्दा, यातायातका साधन वा सार्वजनिक सरोकारका विषयमा भाषाको प्रयोग गर्दा, सार्वजनिक सूचना वा विज्ञापन गर्दा, संचार माध्यममा, मुलुकभित्र वा बाहिर सम्बोधनमा नेपाली भाषाको प्रयोगलाई अनिवार्य गर्नुपर्ने संविधानसम्मत नीतिको तर्जुमालगायतका पक्ष त्यहाँ मार्मिक छन् ।

२०५८ सालको जनगणनामा ९२ वटा भनिएका भाषाहरूका भाषिकासमेतको अस्तित्वलाई ख्याल गर्दै २०६८ सालको जनगणनाले नेपालमा १२३ भाषाको विवरण पेस गरेको छ । लुइस (सन् २००८) नामक विद्वानले नेपालमा भाषाहरूको चर्चा गर्दै जनजातिका भाषा १२४ तथा आगन्तुक भाषाका रूपमा अंग्रेजी, खडिया र उर्दू गरी तीनवटा भाषालाई समेत गरेर १२७ भाषाको अस्तित्वलाई उल्लेख गरेका पाइन्छ । विगतका विवरणलाई हेर्दा पनि वि.सं. २००९÷११ ले ४४ वटा, २०१८ ले ३६, २०२८ ले १७, २०३८ ले १८, २०४८ ले ३१, २०५८ ले ९२ र २०६८ ले १२३ सहित अज्ञात वक्ता संख्यालाई पेस गरेको छ ।

२०६८ सालको विवरणले प्रस्तुत गरेको भाषाको असमान वितरणलाई हेर्दा यहाँका १३ वटा भाषामा मात्र एक प्रतिशतभन्दा बढी वक्ता संख्या छन् भने ११० वटा भाषाका वक्ता सोभन्दा कम छन् । नेपाली भाषा केन्द्रीय विभागका प्रा.डा. दानराज रेग्मीले प्रस्तुत गर्नुभएको तथ्यांकका अनुसार नेपालमा ५३ प्रतिशत भाषा सुरक्षित, ५१ प्रतिशत संकटापन्न, ११ वटा अपशरणशील, ६ वटा मृतप्रायःको स्थितिमा छन् भने एउटा सुषुप्त र एउटा भाषा लोपोन्मुख अवस्थामा पुगेको छ ।

मातृभाषामा २४ वटा बढी पाठ्यक्रम तयार भएका छन् तर यसको विकासमा बौद्धिक वर्गको ध्यान जान थाले पनि सामाजिक मनोविज्ञानले तगारो हालेकै छ ।

आजको युगमा घमण्ड, इज्जत, बडप्पनको मनोदशाले झापड हानिरहँदा समाजमा शिक्षाभित्रको वर्गीयता र खोक्रो आडम्बर जन्मिरहँदोरहेछ । अंग्रेजी भाषा हरेक विषयवस्तुको गहन अध्ययन, शोध अध्ययन, प्राज्ञिक बौद्धिक विकास, अन्तर्राष्ट्रिय सहसम्बन्ध, भौतिक वैज्ञानिक विकास मात्रै होइन, विश्वव्यापीकृत बन्ने कुरासम्ममा उपयोगी र आवश्यक छ । यद्यपि, आफू मेटिएर अन्य प्रभावमा अन्धो बन्नु बुद्धिमानी हो या आपूm बाँचेर अरूलाई चिन्नु महान् हो ?

हामीले आजका पुस्तालाई आत्मनिर्भर होइन, परनिर्भरता र पलायनतिरका सपना बुन्न मात्र सिकायौँ । तर, हामीले मातृभूमिमा संघर्ष गर्ने, नेपाल आमाको माटाको ऋण घटाउने सपना तुन्न सक्ने आधारलाई नदेख्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विषय नै विलय बन्दोरहेछ ।

प्रायः पढालेखाहरू देशमा होइन, ग्रिन कार्ड लिएर सधैँका लागि परिवारसहित विदेशतिरै भासिने ध्याउन्नमा हुन्छन् । उता, श्रम गर्न जाने खाडी देशका नेपालीले देशका निम्ति योगदान दिइरहन्छन् तर जसका छोराछोरी या आफन्त विदेशमा छन्, रातोदिन संस्कृति, समाज, आफन्त नभनेर डलर कमाउने ध्याउन्न हुन्छ । ती आफन्त र अभिभावकले आफू स्वदेशमै रहेर नाक फुलाउँछन् ।

बिरामी पर्दा पानी तताएर दिने मान्छे नहुनेले स्वदेशको गलगिज्ज गाली गरिरहन्छन् । अमेरिका, अस्ट्रेलियाका परिवारको आडम्बरमा सामान्य वर्गलाई निम्जो मान्छन् । उतै संसार बसाउने सोचमा लहसिएर स्वाभिमान कुल्चिने संस्कारलाई पक्षपोषण गर्न समाजमा मातृभाषाको संरक्षण, स्वाभिमानका कुरा परजीवीतन्त्रको जालोमा फसिरहन्छन् ।

यथार्थ तीतै हुन्छ तर विदेशका पीडा मात्र होइन, आफ्ना संस्कृति, परंपरा, आफन्त, नेपाली मौलिकतालाई छाडेर अर्कैको संसारमा रम्ने प्रवृत्तिमा लिप्त मानसिकतामा मातृभाषाको दोहन भइरहेको छ । अतः मातृभाषाप्रतिको हीनता र संकीर्णतालाई मेट्न समाज, स्थानीय सरकार र राज्यले प्रोत्साहन गर्न नसके यी सबै विषय इतिहास बन्दै जाने भय नबढ्ला भन्न सकिन्न ।