जङ्गली हात्तीले दुः ख दिन थाले पछि , गाँउनै  त्रासमा

जङ्गली हात्तीले दुः ख दिन थाले पछि , गाँउनै  त्रासमा

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २०, २०७६

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती साँझ पर्दा नपर्दै गाउँ पसेर घर भत्काउने, लगाएका अन्नबाली खाइदिने गर्न थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन्  ।
 
वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र  घर भत्काउन, भित्र्याइएको धान समेत खाइदिने गरेको जानकारी दिनुभयो । 


यसैगरी वडा नं १५ का स्थानीय कृष्ण दाहालले दैनिक साँझ पर्नासाथ आउने हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘दिनभर नजिकै रहेको चिया बगानमा बस्ने र साँझ पर्नेबित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या भएको छ ,’
 
डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका विद्यालय र सार्वजनिकस्थलमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक सन्देश लेखिएका पोस्टर टाँस्ने र  जङ्गल नजिकै बासिन्दालाई टर्चलाइट बाँड्नेलगायतका काम गरेको जनाएको छ । 

कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार झापाका विभिन्न जङ्गलमा रहेका १३ रैथाने हात्तीले गाउँमा पसेर स्थानीयवासीलाई दुःख दिन थालेको बताउनुभयो । उहाँले केही दिनयता दैनिकजसो हात्तीले घर भत्काएको जानकारी कार्यालयमा आइरहेको जानकारी दिनुभयो ।